नेपाल आउने पर्यटकमा भारत र चीनकै वर्चश्व

काठमाडौँ २१ जेस्ठ ।

मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट गत आर्थिक वर्ष करिब  ४२ अर्ब रुपैयाँ आम्दानी भएको छ । सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७३\७४ अनुसार आव २०७२\७३ मा पर्यटन क्षेत्रबाट ४१ अर्ब ७६ करोड ५० लाख रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भएको छ ।
यो आर्जन विदेशी मुद्राको अनुपातमा ५५.८ प्रतिशत, कुल वस्तु निर्यात तथा सेवाबाट प्राप्त विदेशी मुद्रा आर्जनको अनुपातमा १९.६ प्रतिशत र कुल गार्हस्थ्य उत्पादनको अनुपातमा १.९ प्रतिशत हो ।

चालु आर्थिक वर्षको प्रथम आठ महिनामा पर्यटन क्षेत्रबाट ३६ अर्ब १९ करोड ९० लाख रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भएको छ ।

यो आर्जन विदेशी मुद्राको अनुपातमा ६६.८ प्रतिशत र कुल वस्तु निर्यात एवम् सेवाबाट प्राप्त विदेशी मुद्रा आर्जनको अनुपातमा २३.३ प्रतिशत रहेको छ ।

सन् २०१६ मा करिब ४० प्रतिशतले पर्यटक आगमन वृद्धि भएको छ । उक्त अवधिमा सात लाख ५३ हजार दुई पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१५ मा पाँच लाख ३८ हजार ९७० पर्यटक आएका थिए ।

कुल पर्यटक आगमनको सङ्ख्यालाई देशगत रुपमा विश्लेषण गर्दा सन् २०१६ मा सबैभन्दा बढी पर्यटक आउने पाँच मुलुकमध्ये भारत (१५.७) प्रतिशतले अगाडि छ । अन्य देशहरु क्रमशः चीन (१३.८), श्रीलङ्का (७.६), अमेरिका (७) र बेलायत (६.१) रहेका छन् । यी देशबाट आएका पर्यटकले कुल पर्यटकको ५० प्रतिशतभन्दा बढी अंश ओगटेको पाइन्छ ।

सन् २०१५ मा बढी पर्यटक आउने मुलुकमा क्रमशः भारत (१४), चीन (१२), अमेरिका (१०), श्रीलङ्का (८) र थाइल्यान्ड (६) प्रतिशत रहेको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया