नेपाल टलिकमले सदर चिडियाखानाका जनावर तथा पन्छीहरुको आहाराको प्रायोजन गर्ने
काठमाडौ ११ बैशाख २०७९।
नेपाल टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखाना जावलाखेलमा रहेका जनावर तथा पन्छीहरुको लागि १ वर्षसम्म आहाराको प्रायोजन गरेको छ ।
यस सम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र सदर चिडियाखाना, जावलाखेलको तर्फबाट निर्देशक रचना शाहले हस्ताक्षर गर्नुभयो । सो अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारी र दुवै संस्थाका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत पहाडीले नेपाल टेलिकम र सदर चिडियाखानाबीच आगामी दिनमा समेत आपसी हित अभिवृद्धि हुने गरी विभिन्न कार्यक्रम गर्न सकिने र यो एउटा सुरुवात भएको बताउनु भयो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीले धेरै पर्यटकहरुको उपस्थिति हुने सदर चिडियाखानामा नेपाल टेलिकमसँगको सम्झौताले दुवै पक्षलाई फाइदा पुग्ने र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट प्राप्त यो सहयोगलाई राष्ट्रिय प्रकृति संरक्षण कोषले सदुपयोग गर्ने विश्वास दिलाउनु भयो ।
सम्झौता अनुसार नेपाल टेलिकमले चिडियाखानामा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छीहरुको लागि १ वर्ष सम्म आहाराको व्यवस्थाका लागि रकम उपलब्ध गराउने छ । नेपाल टेलिकमले समय समयमा विभिन्न वर्ग तथा क्षेत्रलाई लक्षित गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया