नेपाल-भारत प्रबुद्ध समूहको बैठक, सुल्झिएला त बल्झिएका समस्या?

काठमाडौँ २० असार

नेपाल–भारत सम्बन्धको समग्र पक्षको अध्ययन र पुनरावलोकनका लागि सुझाव दिन गठित दुवै मुलुकका विज्ञ सम्मिलित प्रबुद्ध समूहको पहिलो बैठक राजधानीमा सुरु भएको छ।

दुई दिनसम्म चल्ने उक्त बैठकको उद्घाटनसत्रमा आज उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले दुवै देशका जनताबीच पौराणिक कालदेखि सम्बन्ध रहेको उल्लेख गर्दै समूहको बैठकले दुवै मुलुकबीचको सम्बन्धलाई अझ बढी बलियो र दिगो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।

दुवै मुलुकबीचको सम्बन्धमाथि पुनरवलोकन र समीक्षा गरी सुझाव दिन प्रबुद्ध व्यक्ति सम्मिलित समिति गठन गर्न सफल भएकामा खुसी व्यक्त गर्दै उनले समितिले सम्बन्धका विविध पक्षको बृहत् अध्ययन गरी परिवर्तित सन्दर्भमा रचनात्मक सुझाव दिने बताए।

दुवै मुलुकको विकास र समृद्धिका लागि सम्बन्धलाई अझ बलियो बनाउने मौका आएको उनले बताए र भने – “नेपाल संविधानसभामार्फत नयाँ लोकतान्त्रिक संविधान जारी गरी समृद्धिको दिशामा अघि बढेको छ।”

कार्यक्रममा भारतको प्रबुद्ध समूहका संयोजक एवम् उत्तराञ्चल प्रदेशका पूर्वमुख्यमन्त्री भगतसिंह कोसियारीले समूहको छलफलमा दुवै मुलुकबीचको सम्बन्धको समीक्षा गरिने र त्यसबाट आगामी दिन सम्बन्ध थप मजबुत बनाउन मद्दत पुग्ने धारणा राखे।

दुवै देशबीचको सम्बन्ध सदियौँदेखि जोडिएको र दुवै देशका जनताबीच रगतको सम्बन्ध रहेको उल्लेख गर्दै उनले समूहले सम्बन्धलाई अझ मजबुत बनाउन कार्य गर्ने विश्वास व्यक्त गरे।

नेपाललाई आफूहरुले असल छिमेकीका रुपमा लिएको र नेपालमा भारतले सधैँ राजनीतिक स्थिरता र प्रगति हेर्न चाहेको पूर्वमुख्यमन्त्री कोसियारीले बताए।

कार्यक्रममा नेपालको प्रबुद्ध समूहका संयोजक एवम् पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापाले समूहको बैठकमा दुवै मुलुकबीच अहिलेसम्म भएका सन्धि सम्झौताका बारेमा संयुक्त रुपमा छलफल गरिने बताउँदै छलफलले सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन मद्दत गर्ने विचार व्यक्त गरे।

समितिलाई दुवै मुलुकका सरकारले महत्वपूर्ण जिम्मेवारी दिएको उल्लेख गर्दै उनले दुवै पक्षको समन्वयमा एजेन्डा तय गरेर छलफल र समीक्षा गरिने बताए। समूहमा नेपालका तर्फबाट डा थापाको संयोजकत्वमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्व कानुन मन्त्री नीलाम्बर आचार्य र सांसद डा राजन भट्टराई छन्।

त्यस्तै भारतका तर्फबाट पूर्वमुख्यमन्त्री कोसियारीको संयोजकत्वमा जयन्त प्रसाद, महेन्द्र पी लामा र बिएस उप्रेती छन्।

बैठकमा दुवै मुलुकबीच अहिले भइरहेको सन्धि सम्झौतालाई कसरी पुनरवलोकन गर्ने र अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा समग्र रुपमा छलफल हुनेछ। पहिलो बैठक भएकाले छलफलको विधि कस्तो बनाउने र कसरी अघि बढ्ने भन्ने सम्बन्धमा बैठक केन्द्रित हुने बताइएको छ। दुई वर्ष कार्यकाल रहने समूहको संयुक्त बैठक प्रत्येक तीन/तीन महिनामा बस्नेछ। दुवै मुलुकले पहिलो पटक गठन गरेको उक्त समूहले सम्बन्ध सुधारका लागि महत्वपूर्ण र फराकिलो क्षेत्राधिकार पाएको छ। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया