नेपाल भाषा साहित्य पर्व सम्पन्न

ललितपुर १ अशोज

नेपाल भाषा साहित्य पर्व आज यहाँ सम्पन्न भयो । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले उक्त पर्वको आज यहाँको केशव नारायण चोकमा उद्घाटन गरे ।

आफ्नो उद्घाटन भाषणमा शताब्दी पुरुष जोशीले नेपालका विविध सांस्कृतिक सम्पदाका देख्न सकिने स्वरुपको मात्र हैन त्यससँग जोडिएका अदृश्य परम्पराको संरक्षणमा पनि ध्यान पुग्नुपर्ने बताए ।

उद्घाटन सत्रमा अधिकारकर्मी तथा भाषासेवी मल्ल के सुन्दरद्वारा लिखित ‘द पोस्टर’ उपन्यास र कवि वसन्त चौधरीद्वारा लिखित ‘वसन्त’ कविता संग्रहको लोकार्पण गरिएको थियो । संस्कृतिविद् जोशी, नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त र नेपालभाषा एकेडेमीका कुलपति चित्तरञ्जन नेपालीले ती पुस्तकको लोकार्पण गरेका थिए ।

द पोस्टर राजनीतिमा समर्पित एक महिला पात्रको कथा हो र यसमा चुनावताका गरिएका वाचा भुल्ने गैरजिम्मेवार र विसंगतिपूर्ण राजनीतिक प्रवृत्तिलाई उदाङ्गो पार्ने प्रयाश गरिएको छ । वसन्त लेखकको ६० वर्ष प्रवेशका अवसरमा नेपालभाषाबाट अनूदित ६० वटा कविताको संग्रह हो ।

साहित्य पर्वमा भूषण प्रसाद श्रेष्ठ, सुलोचना मानन्धर, धु्रव मधिकर्मी र राजेन मानन्धरको सहभागितामा ‘भोलिको नेपाल भाषा साहित्य’ विषयमा पहिलो अन्तक्र्रिया कार्यक्रम भयो । कवि सुरेश किरण मानन्धर यसको सहजकर्ता हुनुहून्थ्यो । ‘नेपाल भाषामा कलम चलाउने नेवाः साहित्यकारहरु’ विषयमा गरिएको दोस्रो अन्तक्र्रियामा स्नेह साय्मी, जलेश्वरीदेवी श्रेष्ठ र श्रीओम श्रेष्ठ ‘रोदन’ सहभागी थिए । यसको सहजकर्ता नवीन चित्रकार थिए ।

प्रा। प्रेमशान्ति तुलाधरले ‘नेपाल भाषा साहित्यको परिचय’ विषयमा एक कार्यपत्र प्रस्तुत गर्दै ललितपुरको उकुबहालमा पाइएको सन् १११५ गोष्ठीपत्र नेपाल भाषाको पहिलो लिखित पत्र भएको र राजा महेन्द्र मल्ल यस भाषाका पहिलो ज्ञात कवि भएको चर्चा गरे ।

सो अवसरमा जनकवि दुर्गालाल श्रेष्ठ, राजभाइ जकःमि, हृदयप्रसाद मिश्र, सुरेन्द्र तुलाधरलगायतका स्रष्टाहरुबाट आ–आफ्नो रचना वाचन गर्ने काम पनि भयो । साहित्यक पर्वको समाप्तिमा कुटुम्ब सांगीतिक समूहले सांगीतिक प्रस्तुति दिएर मनोरञ्जन प्रदान गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया