नेपाल राष्ट्र बैंक आजदेखि ग्लोबल मनि विक २०२५ मनाउँदै
काठमाडौं, चैत ४, २०८१ । नेपाल राष्ट्र बैंकले आज (मार्च १७–२३) अर्थात् चैत ४ गतेदेखि चैत १० गतेसम्म ग्लोबल मनि विक २०२५ मनाउन लागेको छ ।
बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने मुख्य उद्देश्यका साथ राष्ट्र बैंकले ग्लोबल मनि विक– २०२५ मनाउन लागेको हो ।
युवा तथा बालबालिकामा वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने सार्थ उनीहरुमा आर्थिक सहयोग र विकास संगठन (ओइसिडि) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाउने गरिएको छ।
सोही सन्दर्भमा नेपाल राष्ट्र बैंकले पनि चैत ४ गतेदेखि चैत १० गतेसम्म ‘थिङ्क बिफर यु फलो, वाइज मनि टुमरो’ भन्ने मूल नाराका साथ ग्लोबल मनी विकको १३ औं श्रृखला मनाउन लागेको हो।

आज बिहान आयोजित ‘नेशनल इभेन्ट लन्च’ नामक एक कार्यक्रमको उद्घाटन गर्दै गभर्नर महाप्रसाद अधिकारीद्वारा औपचारिक रुपमा ‘ग्लोबल मनी विक २०२५’ को सुरुवात हुने जानकारी दिनुभयो ।
यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका छ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ। हरेक वर्ष झै नेपालमा यस वर्ष पनि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजकको रुपमा आफ्नो भूमिका निर्वाह गर्दै ग्लोबल मनी विक–२०२५ मनाउँदैछ ।
राष्ट्र बैंकका अनुसार यो कार्यक्रममा वित्तीय प्रणालीमा आबद्ध संस्थाहरूको सक्रिय सहभागिता रहने छ। यसको अतिरिक्त विभिन्न गैरसरकारी संस्था र अन्य सरोकारवाला संघसंस्थाहरू पनि यस अभियानमा आबद्ध हुन सक्नेछन् । त्यसैगरी वित्तीय साक्षरतासम्बन्धी अभियानमा संलग्न संघसंस्थाहरुलाई यस अभियानमा सक्रिय सहभागिता जनाउन समेत राष्ट्र बैंकले आह्वान गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया