‘नेवाः साँस्कृतिक चाडपर्व’ भित्र संस्कृतिविद् प्रा.डा. चुन्दा वज्राचार्य
– स्वयम्भू शाक्य
इतिहास तथा संस्कृतिविद् प्रा.डा. चुन्दा वज्राचार्यद्वारा लिखित “नेवाः तजिलजि नेवाः नखःचखः” नामक नेपालभाषाबाट प्रकाशित ऐतिहासिक अनुसन्धानात्मक पुस्तकलाई चाडपर्वको एक दस्तावेजको रूपमा लिन सकिन्छ । नेवारहरूको कला, संस्कृति, परम्परा र सभ्यतालाई मुख्य केन्द्रिकृत गरी लेखिएको प्रस्तुत पुस्तकलाई एक अतुलनीय योगदानको रूपमा कदर गर्दै समाजसेवी देवेन्द्र बहादुर मल्लले सम्पूर्ण नेपालीहरूले अध्ययन गर्न सकोस् भन्ने हेतुले नेपालीभाषामा अनुवाद गरी “नेवाः साँस्कृतिक चाडपर्व” नामक पुस्तक जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा प्रकाशित गरिएको छ ।
जीवनयापन गर्ने पद्धतिको रूपमा रहेको साँस्कृतिक चाडपर्वहरूको सम्बन्ध मानवीय पद्धतिसंग मात्र सम्बन्धित नभई प्रकृति र वैज्ञानिक पद्धतिसंग पनि घनिष्ट सम्बन्ध रहेको देखिन्छ । नेवार समुदायले मनाउँदै आइरहेको विभिन्न चाडपर्वहरूको आफ्नै मूल्य र मान्यता छ । ती चाडपर्वहरू के कसरी प्रचलनमा आए भन्ने सम्बन्धमा विदुषी प्रा.डा. चुन्दा वज्राचार्यले प्रस्तुत पुस्तकमा सरलिकृत तरीकाबाट उल्लेख गर्दै कुन चाडपर्वमा के कस्ता परिकारहरू खाने र परिकारहरू खानुको सामाजिक औचित्य र वैज्ञानिक कारणहरू समेत उल्लेख गर्नु भएको छ ।
भनिन्छ, चाडपर्वहरू नै संस्कृतिको प्राण हो । असत्य माथि सत्यको विजय र अनैतिकतामाथि नैतिकताको जीत नै संस्कृतिको मूल तत्व हो । तसर्थ चाडपर्वहरूले देशमा सुख, शान्ति र समृद्धिको अपेक्षा गरेको हुन्छ । मुलुकमा रोगब्याधि लगायत खराब तत्वहरूको प्रवेश नहोस् र मुलुकको अक्षुष्णताको रक्षा होस् भनि कामना गरिन्छ । चाडपर्वहरू आर्थिक, सामाजिक, धार्मिक र राजनीतिक सबलताको प्रमाणको रूपमा लिन सकिन्छ । मूलतः पुस्तकभित्र नेवारहरूको मौलिक सभ्यताको रूपमा रहेको विभिन्न कला, संस्कृति, जात्रा र पर्वहरूका बारेमा विस्तृत रूपमा उल्लेख गरिएतापनि प्रस्तुत अभिलेखमा सार संक्षिप्त रूपमा सबै चाडपर्वहरूको प्रस्तुतिकरण गर्ने सानो प्रयास गरिएको छ ।
भाषा तथा संस्कृतिविद् प्रा.डा. चुन्दा वज्राचार्यका अनुसार खाइसंल्हू (तीले संक्रान्ति) नेवार जातिले वैशाख १ गते नयाँ वर्षमा मनाउने चाड हो । गर्मी याममा पेट भित्रको हानिकारक कीटाणु नष्ट गर्न वा पेट सफा राखि स्वास्थ्यमा आउन सक्ने गडबडीलाई रोक्न तीतो क्वाटी खाने गरिन्छ । विहान चोखो भई देव–देवताहरूलाई तीतो क्वाटी अर्पण गरे पश्चात् परिवारका सबै सदस्यहरू एकै ठाउँमा बसी क्वाटी खाने चलन रहेको छ । भनिन्छ, अक्षय तृतीयाको दिनलाई त्रेतायुग शुरु भएको मानिन्छ । यो दिन बौद्धमार्गीहरूले दीपंकर बुद्धको पूजा गरी पञ्चदान दिने र बटुवाहरूलाई सख्खरको सर्वत, सत्तु र भिजाइएको सानो केराउ खुवाउने चलन छ । काठमाडौंमा परम्परागत ३२ टोलका ज्यापुहरूले गाईलाई गहुँ उसिनेर खुवाउने गरिन्छ । यही दिन महादेव र पार्वतीको विवाह भएको दिन भएकोले विवाह गर्न साइत जुराइरहनु पर्दैन भन्ने मान्यता रहिआएको छ । ललितपुरमा रातो मछिन्द्रनाथ (बुंगद्यः)को रथयात्रा पनि यही दिनदेखि आरम्भ हुन्छ । यो जात्रा उपत्यकाको सबै भन्दा लामो जात्रा मानिन्छ । कृषकहरूले कृषि कार्यको लागि आवश्यक तयारी पनि यही दिनदेखि गर्ने भएकोले कृषकहरूले फसल राम्रो होस् भनि काठमाडौंको काष्ठमण्डपको अगाडीको भुतिसलमा भू–भाग चढाएर घर–घरमा भूत भित्र्याउने चलन छ । घरमा भूत प्रवेश ग¥यो भने जतिसुकै कठीन काम पनि सजिलै गर्न सकिन्छ भन्ने जनविश्वास रहेको कुरा शिक्षा तथा संस्कृतिविद् प्रा.डा.चुन्दा वज्राचायले पुस्तकमा उल्लेख गर्नु भएको छ ।
वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतम बुद्धको जन्म भएको दिन हो । उहाँले बोधिज्ञान प्राप्त गर्नु भएको र निर्वाण गर्नु भएको दिन पनि यही हो । त्यसैले यो दिन बुद्धलाई सम्झेर पूजा गरिन्छ भने आमाको मुख हेर्ने दिनमा आमालाई सम्मान गर्ने, सम्झिने र भाव प्रकट गर्ने दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । पास्नी गरिसकेका बालकहरूले समेत आमाको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै आमाको खुट्टाढोकी मुख हेर्ने चलन छ । जसको आमा स्वर्गारोहण भैसकेको छ, उनीहरूले विहान चोखो भई आमाको सुमतिको कामना गर्दै सिदादान, जलदान र श्राद्ध गरिन्छ । आमाको स्वर्गारोहण भएको तिथि थाहा नहुने वा थाहा भए पनि वर्षेनी श्राद्ध गर्न नसक्ने मानिसहरूले मातातीर्थमा दिवंगत आमालाई सम्झि खानेकुरा अर्पण गर्नाले आमा आपैm आई हात थापेर ग्रहण गर्दछन् भन्ने विश्वास गरिन्छ ।
कृषि कार्यका लागि शक्ति संचय गर्ने उद्देश्यले नेवार समुदायले सिथि नखः मनाउने गर्छन । यो दिनलाई कुमार षष्ठी पनि भनिन्छ । यो चाड सकिने बित्तिकै खेतीपातीको काम शुरु हुने भएकोले घरको सफा सुग्घर गर्नेदेखि टोल टोलमा इनार, चोक र पानीको मूल समेत सफा गरिन्छ । यदि कसैको देवाली मनाउने चलन छैन वा पूजा गर्न सकिएन वा देवाली दिन थाहा भएन भने यसै दिनलाई देवाली पूजा गर्ने चलन छ । कुनै कार्य गर्नु अघि गणेशको पूजा गरिन्छ । हिन्दूमार्गीहरूले पिखालखुलाई कुमारको रूपमा मान्दछन् भने बौद्धमार्गीहरूले घरको रक्षागर्ने कुमारलाई क्षेत्रपालको रूपमा पूजा गर्दछन् । सिथि नखःसम्म धातुगीत र भोलिपल्टदेखि रोपाईं गीत गाउन शुरू हुन्छ । यस चाडमा पीठोबाट बनाइने चतांमरीलाई पृथ्वी र त्यस माथि सजाइने थरीथरीका बारा (वः)लाई आकाश र त्यसमाथि राखिने विभिन्न परिकारलाई जीवजन्तुहरूको प्रतिकको रूपमा लिने गरिन्छ भनि संस्कृतिविद् प्रा.डा. चुन्दा वज्राचार्यको भनाई छ ।
जेष्ठ शुक्ल दशमीका दिन नेवार समुदायले दशहरा मनाउँदा देव–देवीहरूलाई पूजा गरी हरियो तरकारी खाने चलन छ भने जेष्ठ शुक्ल पूर्णिमाका दिनलाई ज्यापुन्हि भनिन्छ । यो दिनलाई वर्ष भरिकै सबैभन्दा लामो दिनको रूपमा लिने गरिन्छ । यदि कसैले यो दिन काम गर्दा पूरा गर्न सकेन भने उसले जीवनमा कहिल्यै सुख पाउँदैन भन्ने चलन छ । यो दिन पनौतीमा पनि मेला लाग्ने गर्दछ । समाजमा मनाइने चाडपर्वमध्ये दिसिपूजा पनि एक हो । वर्षको २ पटक मनाउने यो चाड पहिलो आषाढ कृष्ण दशमीका दिन गर्मीयाममा र पौष कृष्ण दशमीका दिन जाडो याममा पूजा गरिन्छ । यी दुई दिन कुलदेवता र अन्य देवताहरू समेत आफ्नो स्थान छोड्दैनन् भन्ने भनाई छ ।
नेवार समाजमा गुरुपूजागर्ने आफ्नै खालको मौलिक परम्परा छ । गुरु नभई ज्ञान पूरा हुँदैन भनि गुरुको स्थान सबैभन्दा उच्च राखिएको छ । कुनै पनि ठूलो पूजा गर्दा गुरुजुद्वारा सम्पन्न गराउने चलन छ । अंशवण्डा गर्न, चुलो छुट्याउन, छुट्टिएर बस्न, देउटा सार्न वा परम्परानुसार गरिदै आएका रीतिस्थितिमा कुनै परिवर्तन गर्नुपरे गुरुको वचन लिई शिरोपर गर्ने चलन रहेकोले गुरु र चेलाबीच विवाह गर्नु हुँदैन भन्ने धारणा रहिआएको देखिन्छ ।
स्वयम्भू पुराण अनुसार पहिला नेपाल खाल्डो पानीले भरिएकोले विपस्वी बुद्ध आई कमल रोप्नु भएको थियो । त्यहि रोपिएको कमलमा पूmल फुलेर त्यसमाथि धर्मधातु ज्योतिरूप स्वयम्भू उत्पत्ति भएपछि उक्त ज्योतिरूपको दर्शन गर्न महाचीनबाट महामञ्जुश्री र उनका दुई पत्नीहरू बरदा र मोक्षदा यहाँ आउनु भयो । महामञ्जुश्रीले चोभारको पहाडलाई छेदन गरी जमेको पानी बाहिर निकालेपछि यहाँ मञ्जुपतन नामको शहर बसालेका थिए । महायान धर्मगुरु शान्ति कराचार्यले स्वयम्भू महाचैत्य निर्माण गर्नुभन्दा अघिदेखि नै यहाँ चैत्य सेवा गर्ने परम्पार रहेको बौद्ध विद्वानहरूको भनाई छ । उहिलेको त्यही चैत्य सेवालाई नै अहिले गुंला धर्म भनिएको हो । गुंला पर्वमा एक महिनासम्म गुंला बाजा बजाई नामसंगीति पाठ गर्दै चैत्य दर्शन गर्ने गर्दछन् । गुंलालाई पहिला गुनी महिना पनि भनिन्छ । श्रृङ्गभेरी अवदानमा उल्लेख गरिएनुसार शशीपत्तनका राजा सिंहकेतुलाई असाध्यै शिकार खेल्ने सोख थियो तर उनकी महारानीलाई हत्या हिंसा पटकै मन पर्दैन थियो । राजा सिंहकेतुको मृत्यु पश्चात् अर्को जन्ममा उनी एक ब्राह्मणको घरमा राँगोे भएर जन्मन पुगे । रानी तिनै ब्राह्मणकी छोरीको रूपमा जन्म लिए । राँगोे र रूपवती छोरी असाध्यै मिल्दथ्ये । एकदिन जंगलको भीरबाट लडेर राँगोे म¥यो । रूपवती अत्यन्तैं विलाप गरेर रोइरहेकीले बोधिसत्व प्रकट भई मरेको उक्त राँगोे अरुकोही नभई उनकै पूर्वजन्मका पति हुन् भनि आज्ञा गर्नु भयो । तिनलाई उद्धार गर्ने हो भने उनको सबै हाडखोर बटुलेर त्यसमाथि एउटा चैत्य बनाऊ र एउटा सिङ्गले बाजा फुकेर अर्को सिङ्गले एकाइस दिनसम्म जल चढायो भने पापबाट मुक्त हुनेछन् भनि आज्ञा गर्नु भयो । रुपवतीले बोधिसत्वद्वारा आज्ञा भए बमोजिम )कार्य गरी पूर्वजन्मका पतिलाई मुक्त गरिन् । यसैकारण गुंला महिना भरि स्वर्गवास भएका मानिसहरूको मुक्तिका लागि सिङ्गलाई पूजा गरेर सिङ्ग फुकेर स्वयम्भू महाचैत्य परिक्रमा गरी मनाउने परम्परा अहिलेसम्म चलिरहेको छ । भाषा वंशाबली अनुसार गुंलाधर्म मान्ने चलन राजा विक्रमदेवले चलाएका हुन् । यसरी गुंलाधर्म मान्दा देशमा महामारी रोगब्याधी तथा दुःख कष्टबाट मुक्ति हुन्छ भन्ने कथन हालसम्म पनि प्रचलनमा रहेको छ भनि संस्कृति तथा शिक्षाविद् प्रा.डा. चुन्दा वज्राचार्यले आफ्नो पुस्तकमा उल्लेख गर्नु भएको छ ।
नेवार समुदायले खेतीपातीको काम सक्ने वित्तिकै मनाउने पहिलो चाड गथांमुगः (घण्टाकर्ण) हो । यसलाई काय्मचा नखः (छोरा पर्व) पनि भनिन्छ । गथांमुगःलाई तीन वटा शक्तिहरू सत्व, रज र तममाथि तीन खुट्टा राखी उभ्याइने त्रिपद संवर भैरव पनि भनिन्छ । त्यसैले क्षेत्रपालमा ठड्याउने गथांमुगललाई भैरव र छ्वासमा ठड्याउने गथांमुगःलाई अजिमा मानिन्छ । त्यतिबेला एक जना मानिस थिए, जो देवताको नाम सुन्न चाहँदैनथ्यो । देवताको नाम सुन्नुपर्ला भनेर उनी कानमा ठूला ठूला घण्टाहरू झुण्ड्याएर हिँड्ने गर्थे । उनी गरीबहरूप्रति भने अत्यन्त सहानुभूति राख्ने गर्दथ्ये । एकदिन त्यो व्यक्तिको मृत्यु भएछ । मृत्युपछि टोलमा पैसा उठाएर उनको सत्गति गरिएछ । त्यसैले गथांमुगःमा पैसा उठाउने चलन चलेको हो भनिन्छ । त्यस्तै अर्को कथनानुसार उहिले एक जना मानिस थिए जो सुनचाँदी भन्दा फलामको गहनामा विश्वास राख्थे । उनी ठूला विद्वान भए पनि जातमा भने साना थिए । एक जना धनी व्यक्तिकी छोरीसंग उनको प्रेम रहेछ । यो कुरा थाहा पाएर ती धनी व्यक्रिले वेइज्जती होला भन्ने डरले तिनलाई जिउँदै जलाई दिएछन् । पछि टोलबासीहरूले बास्तविकता थाहा पाएर सम्मानपूर्वक उनको अन्त्यष्टि गरेछन् । त्यस्तै उपत्यकामा गथांमुगल भन्ने राक्षसले सा¥है दुःख दिने गरेको रहेछ । एक दिन त्यसलाई मार्न एउटा तान्त्रिकले भ्यागुतोको रूप धारण गरी राक्षसलाई जिस्क्याएकोले लखेट्न थाले भ्यागुतो पानी जमेको दलदलमा लुक्न पुगे । राक्षस पनि दलदलमा पसे । भ्यागुतो दलदलबाट निस्के तर राक्षस भने त्यही मरेपछि टोलमा जगात उठाएर उक्त राक्षसको अन्त्येष्टि गरे ।
नेवार समाजमा नागपञ्चमीको विशेष स्थान छ । त्यसैले ललितपुरको भोटो जात्रा र भक्तपुरको बिस्केट जात्रा पनि नाग नागिनीकै जात्रा हो । स्वयम्भूको शान्तिपुरभित्र नागको रगतले लेखिएको पुस्तक सुरक्षित रहेको र उक्त पुस्तक पानी नपरी हाहाकार मचेको बेला पुस्तक बाहिर ल्याई घाममा सुकाए पानी पर्छ भन्ने जन विश्वास छ । राजा प्रताप मल्लको शासन कालमा पनि देशमा वर्षा नभएर ठूलै हाहाकार मच्चिएको बेला राजगुरुहरूसंग सल्लाह गरी आपैंm कान्तिपुरभित्र पसी उक्त पुस्तक बाहिर ल्याई घाममा सुकाउदा पानी परेको कुरा वंशावलीमा उल्लेख छ । नागपञ्चमी किन र कसरी शुरू भयो भन्ने सम्बन्धमा संस्कृतिविद् प्रा.डा. चुन्दा वज्राचार्यका अनुसार खेतमा काम गरिरहेका एउटा किसानले खेत खन्दै गर्दा नागका दुई वटा बच्चालाई पनि काट्न पुगेछ । मरेका ती बच्चाहरूको आँखामा किसानको आकृति रहेकोले नागिनी उक्त किसानको घरमा गई ऊ लगायत उनकी श्रीमती र दुई छोराहरूलाई पनि डसेर मारिदिएछ । पछि छोरीलाई पनि मार्ने बिचारले नागिनी पुनः घरमा पुग्दा किसानकी छोरीले सद्भावपूर्वक वटुकोमा दूध राखी नागिनीलाई पिउन अनुरोध गरे । नागिनीले दूध पिएर उनको व्यवहारबाट खुशी भई मार्नुका सट्टा उल्टै बरदान माग भने । छोरीले पनि मेरा आमा–बाबु दाजु–भाईलाई जीवित फर्काइ दिनुस् भनेर बरदान स्वरूप मरेकाहरू सबै जीवित भए । यसरी नागलाई दूध पिलाएर श्रद्धा देखाएको दिन श्रावण शुक्ल पञ्चमी हो । त्यसैले यो दिनलाई नै नागपञ्चमी भन्न थालियो भनि नेवाः सांस्कृतिक चाडपर्व पुस्तकमा उल्लेख गर्नु भएको छ ।
श्रावण शुक्ल अष्टमीका दिन पाटनबासीहरूले पञ्चदान मनाउने गर्दछन् भने काठमाडौंबासीहरूले भाद्र त्रयोदशीका दिन मनाउने गरिन्छ । भक्तपुरमा हरेक माघ १ गते घ्यःचाकु संल्हूका दिन यो पर्वमा विभिन्न खाद्य सामग्री र अन्नदान गरी मनाउने गरिन्छ । भाद्र कृष्ण त्रयोदशीलाई सत्य, त्रेता, द्वापर र कलियुग एकै दिन परेको दिनका रूपमा लिइन्छ । उक्त दिन दान धर्म गरे ठूलो पुण्य प्राप्त हुने भएकोले दान धर्म गरी स्वयम्भू भगवान्को दर्शन गर्ने चलन छ । गुंपुन्हि (जनै पूर्णिमा) यो दिन नौ किसिमको गेडागुडीको क्वाटी पकाएर खाने चलन छ । रोपाई सकी धान काट्ने बेला भई नसकेको फुर्सदपूर्वक रमाइलोसंग धार्मिक तथा व्यङ्गात्मक तबरले मनाउने मनोरञ्जनात्मक चाड हो । यो चाडमा नौ जोर लुगा लगाउने, नौ चोटी घर बाहिर जाने, नौ ठाउँमा बुद्ध दर्शन गर्ने र नो पटक खाने पनि चलन छ । नेवार जातिमा आफ्नो जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै प्राणी वा बस्तुलाई पनि तिनको सदासयतालाई सम्झी पूजा गर्ने गर्दछन् । गुंपुन्हिका दिन भ्यागुतो र कागका बच्चाहरूको जंकु (पास्नी) गर्ने चलन छ । भखरै रोपाई सकिएको अवस्थामा भ्यागुताहरूको आवाजले किरा फट्यांग्राहरू भाग्ने र खाएर बालीको सुरक्षा गरी दिने भएकोले यस दिन भ्यागुतोलाई भात खुवाउने चलन छ । त्यस्तै यो याममा कागले भखरै कोरलेका स–साना बच्चाहरूलाई आहाराको खोजिमा आमाले उडाउँदै ल्याउने भएकोले यस दिन पास्नीको भाग भनि एक भाग भात छुट्याएर बाहिर राखिदिने र त्यसपछि मात्र घर परिवारले खाने चलन छ ।
सापारु (गाईजात्रा)का दिन नयमराजले स्वर्गको ढोका खोल्ने भएकोले गाई घुमाउन पठायो भने मृतकको आत्मा स्वर्गमा पुगिन्छ भन्ने जनविश्वास रहेको छ । मतःया (दीपयात्रा) र नेकू (श्रृंगभेरी) जात्रा पनि आफ्नो परिवारमा दिवंगत भएका सदस्यहरू स्वर्गमा वास मिलोस् भनि कामना गरी पाटनका नेवार समुदायले यो पर्व मनाउने गर्दछन् । बुवाको मुख हेर्ने औँसीलाई कुशे औँसी वा गोकर्ण औँसी पनि भनिन्छ । यो दिन कुश घरमा ल्याए शुभ हुन्छ भन्ने मान्यता छ । बुवा दिवंगत भईसकेका छोरा–छोरीहरूले औँसीको दिन चोखाई बुवाको स्मरणमा सिदादान वा श्राद्ध गर्छन् भने बुवा जीवित हुनेहरूले उही दिन वा अघिल्लो दिन पनि नुहाउँनु हुँदैन भन्ने मान्यता छ । बुवालाई मनपर्ने खानेकुराका साथै सगुन दिएर दीर्घायु तथा सुख शान्तिको कामना गरी मुख हेर्ने चलन छ । औँसीको दिन गोकर्ण तीर्थमा बुवाको मुहार देखिन्छ भन्ने कुरामा हिमवत खण्डको एउटा कथामासमेत उल्लेख गरिएको छ । कुनैबेला एउटा देहव्यापारी महिलाको बच्चा जन्मियो तर उक्त बच्चा कसको हो भन्ने कुरा स्वयम् उसलाई पनि थाहा भएन् । बच्चाको नाम दन्तुर राखियो । दन्तुर ठूलो भएपछि पुलह (पुलश्च) ऋषिकहाँ गई आफ्नो गुनासो पोखेछन् । गोकर्णेश्वर महादेवलाई भक्तिपूर्वक पूजा गरे बावुको बारे थाहा हुन्छ भनि ऋषिले भनेपछि दन्तुरले त्यहीनुसार पूजा–आजा गरी हरेक दिन आफ्ना पिताका नाममा गोकर्ण तीर्थमा खानेकुरा चढाउने गरियो । एक दिन यसरी नै खानेकुरा राख्न जाँदा कुण्डमा थुप्रै मृतक मानिसहरूको अनुहार देखियो । सबैले म नै तिम्रो बावु हुँ भनि दावी गर्न थाले । यसरी धेरै अनुहारको बीच आफ्नो बुवाको अनुहार चिन्न नसकेर दन्तुर अलमलिएको कुरा ध्यानमा बसिरहेका विश्रवा ऋषिले थाहा पाए । ती ऋषिले ब्रह्माजीलाई आराधना गरी दन्तुरका पिता पत्तालगाई दिनु प¥यो भनि बिन्ति गरेपछि ब्रह्माले दन्तुरका पिता यिनै हुन् भनि चिनाइदिए । ब्रम्हाले चिनाई दिएको पितालाई नै दन्तुरले कुश, तील, जल राखी पिण्डदान ग¥यो भनि संस्कृतिविद्को भनाई छ ।
ढुंगाको मुर्तिलाई देवता मानी पूजा गर्नु भन्दा पहिले नेवार समुदायले प्रकृतिलाई नै देवता मानी पूजा गर्थे । मानव जीवनसंग सम्बन्ध रहेका आकाश, पृथ्वी, चन्द्र, सूर्य रुख, जंगल र पहाडलाई समेत नेवार जातिले पूजा गर्ने चलन छ । चथाः (पिशाच चौथी)लाई चौथी पनि भनिन्छ । चौथी शब्द नै पछि गएर चथाः भएको हो । चौथीलाई गणेशको जन्म दिन पनि भनिन्छ । एक पटक विष्णु भगवान्को देव सभामा चन्द्रमाले गणेशलाई नानाथरी भनेर जिस्क्याइ रहेका थिए । गणेश रिसाई तेरो अनुहार हेर्ने जति सबै चोर कहलाउन् भनि श्राप दिए । उक्त श्रापले स्वर्गका देवताहरूले पनि आपूm चोर भइने डरले चन्द्रमाको मुख हेर्न छोडे । यो कुरा महादेव र अन्य देव–देवताहरूले थाहा पाई गणेशलाई निवेदन गरे । गणेशले पछि श्राप घटाई चौथीको एक दिन मात्र श्राप लाग्ने छ भनि अन्य दिनका लागि क्षमा गरिदिए । त्यसैले चौथीका दिन चन्द्रमालाई हे¥यो भने चोरको दोष लाग्छ भनेर चन्द्रमा नहर्नेहरू पनि छन् ।
इन्द्रजात्रा एक महत्वपूर्ण जात्रा हो । स्वर्गमा बस्ने इन्द्रदेखि मनुष्य, राक्षस र जनावरसम्मको जात्रा हो इन्द्रजात्रा । वर्षदिन भरिमा स्वर्गे हुनेहरू स्वर्गमा वास होस् उनीहरूको आत्माले शान्ति पाओस् भनि बत्ती बालेर परिक्रमा गर्ने चलन छ । देशको रक्षा गर्ने कुमारी, गणेश र भैरवलाई रथमा विराजमान गराई यात्रा गराउने ठाउँ ठाउँमा भैरवको प्रतिमा अङ्कित माटोको घैलामा जाँड् रक्सीको धारा निकाली समय्बजी खाने जात्रा हो । इन्द्रजात्राको शुरूवात गुणकामदेवको पालामा भएको भनाई छ । त्यसबेला स्वर्गका राजा इन्द्र नै किन नहोस् नराम्रो काम गर्नेलाइ सजाय गरिन्छ भन्ने मान्यता रहिआएको देखिन्छ ।
राजा त्रैलोक्य मल्ल शास्त्रोक्त विधिपूर्वक महिलाहरूले हेर्न नमिल्ने जन्तरको शक्तिले तयार गरिएको हिराको पासा श्री तलेजु भवानीसंग खेल्ने गर्दथ्ये र त्यही बेला राजकाजमा आइपरेका समस्याहरू बारे छलफल गर्ने गर्दथ्ये । एकदिन राजाकी एउटी छोरीले उक्त हिराको जन्तर खोलेर हेरिदिएकीले तलेजु भवानी पासा खेल्न आउनु भएन र राजालाई सल्लाह दिने काम पनि बन्द भयो । यस कुराले राजा चिन्तित भएकोले एक रात तलेजु भवानीले राजालाई सपनामा आई आफ्नो राज्यभित्रका कुनै शाक्य जातकी कन्यालाई कुमारी स्थापना गर्नु र कुमारीको आत्मामा तलेजु भवानीले आपूm वास गर्नेछु भन्नु भएछ । त्यसै गरी स्थापना गरेकोले कुमारीलाई तलेजु भवानीको प्रतिकको रूपमा मान्दै आएको छ । तलेजु भवानीको शक्तिको उपासना गर्ने र कुराकानी गर्ने जस्ता कार्यहरू कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले समेत गर्दथे । राजा जयप्रकाश मल्ललाई सपनामा अब तिम्रो राजा हुने समय समाप्त भयो । यसलाई लम्ब्याउन चाहन्छौ भने कुमारीलाई स्थायी बसोवासका निम्ति एउटा घर बनाई देऊ भनि आज्ञा भएकोले उक्त आज्ञानुसार ने.सं. ८७६ फागुन महिनामा जग हालेर ६ महिनाभित्र कुमारी घर तयार गरी भाद्र शुक्ल चतुर्थीका दिन कुमारीलाई विराजमान गराएकोले १२ वर्ष राज्यकाल लम्ब्याई दिएको जनधारणा रहेको पाइन्छ । यसरी राजा जयप्रकाश मल्लले कुमारी घर बनाई इन्द्रजात्राको बेला श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ तान्ने जात्राको आरम्भ पनि गरे ।
दशैं (मोहनि) सबैले भव्यतापूर्वक मनाउने चाड हो । यस दिनदेखि मालश्री धुनमा गीत गाउन शुरू हुन्छ भने तिहार अर्को ठूलो चाड हो । काग, कुकुर, लक्ष्मी, म्हपुजा र भाइटिका भनि पाँच थरिको पूजा गरिने भएकोले संस्कृत भाषामा यसलाई यमपञ्चक भनिन्छ । पहिला तिहार लक्ष्मी पूजादेखि भाईटिकासम्म तीन दिनसम्म मात्र मनाइने भएकोले यसलाई स्वन्ति भनिएको हो । विक्रमादित्य राजाबाट भएको न्यायमा कसैले शंका गर्दैनथे । विष्णु भगवान्का दुई पत्नीहरू लक्ष्मी र सरस्वतीका बीच आपूm ठूलो भनि घमण्ड भएकोले एक दिन विष्णुले लक्ष्मी र सरस्वती दुबैलाई पृथ्वी लोकमा न्याय हेर्न जानु भनि राजा विक्रमादित्य कहाँ पठाई दिए । विक्रमादित्यले पनि आफ्नो विवेकले सरस्वतीलाई भन्दा ठूलो भनि निर्णय गरि दिए । ठूली भनिएकी सरस्वती स्वर्गतिर लागिन् । तर लक्ष्मी भने पृथ्वी मै बसेर आफ्नो बिरोधमा निर्णय गर्ने विक्रमादित्यलाई अनेक गरी राज्यबाट विमुख गराई गरीब र महारोगी समेत बनाइ दिए । यो सबै जाल लक्ष्मीले नै गरेकी हुन् भन्ने कुरा विक्रमादित्यलाई थाहा भयो । विक्रमादित्य बसिरहेको जंगलमा भएका सबै पशु–पन्छीहरूलाई लक्ष्मीले अपाङ्ग बनाई दिइन् । त्यस ठाउँका राजासंग अपाङ्ग नभएको कुनै एउटा जनावर पठाउन लक्ष्मीले भने तर राजाले पठाउन सकेनन् । पछि विक्रमादित्यले मेहनत गरी सबै पशुपन्छीहरूलाई अपाङ्गबाट मुक्त गरिदिए । राजा खुशी भएर विक्रमादित्यलाई के माग्नु छ माग्नुस् भनि हुकुम भए । विक्रमादित्यले मागे बमोजिम राजाले भोलिपल्ट बेलुकीदेखि कसैले पनि आफ्नो घरमा बत्ती बाल्न नपाइने तर विक्रमादित्यले मात्र बत्ती बाल्न पाउने भए । यो दिन भनेको कार्तिक कृष्ण औँसीको रात रहेछ । त्यस रात कसैको घरमा बत्ती बलेन तर विक्रमादित्य बसेको घरमा मात्र बत्ती बलिरह्यो । लक्ष्मी पनि आपूm वास बस्न उज्यालो घर खोज्दै हिड्दा विक्रादित्य कहाँ मात्र बत्ती बलेकोले त्यही वास बसिन् । पछि विक्रमादित्यमाथि गरेको सबै कुकृत्यबाट मुक्त गरि उनको तारिफ गर्दै स्वर्गतिर लागिन् । यसै बेलादेखि औँसीको रातमा लक्ष्मीपूजा गर्दा बत्ती बाल्ने गरिएको हो भनि संस्कृतिविद् प्रा.डा. चुन्दा वज्राचार्यले आफ्नो धारणा व्यक्त गरेकी छिन् ।
बौद्धमार्गी नेवारहरूका निमित्त सकिमिला पुन्ही ठूलो महत्वको दिन हो । स्वयम्भू महाचैत्य यसै दिन प्रतिस्थापित भएको भनाई छ । सकिमिला शब्द सकि (पिँडालु) र मिला (पूर्णिमा) मिलेर बनेको हो । पिँडालु कर्कलोको जरा हो । मिला भनेको चन्द्रमा हो । यो दिन भगवान् बुद्धका चेला सारिपुत्रको निर्वाण भएको दिन मानिन्छ । बालाचतुर्दशीका दिन पशुपति, गुह्येश्वरी, श्लेषमान्तक वन र मृगस्थली आदि ठाउँहरूमा गई परलोक भैसकेकाहरूको नाममा उनीहरूले गरेको पापबाट मुक्ति दिलाउने भनेर देवस्थलमा सतविज छर्ने गर्दछन् । यो दिन एक गेडा सतविज मात्र छरे पनि एक टुक्रा सुन दान गरे जति पुण्य हुन्छ भन्ने धारणा रहेको पाइन्छ । उक्त दिन ख्वाँय् गणेश (कान नसुन्ने गणेश) को पूजा गरी गणेशको कानमा मृत्तकलाई सुनाई दिनु भनि ठूलो स्वरले भन्ने गरिन्थ्यो । धार्मिक परम्परानुसार ख्वाँय् गणेशले मनुष्यलोकको खबर तुरुन्तै स्वर्गमा पु¥याइ दिन्छ भन्ने विश्वास छ ।
उहिल्यै बालानन्द नाम गरेका एकजना मान्छे पशुपतिको मसानघातमा मुर्दा पोल्ने काम गर्थे । मुर्दा पोल्दा गुठीयारहरू एकै ठाउँमा बसी खाजा खाने चलन थियो । यसरी खाइरहँदा पोल्दै गरेको मुर्दाको गिद्दी उसको खाजामा प¥यो र थाहा नभई खाँदा सा¥है स्वादिलो लाग्यो । पछि राती एक्लै मान्छे पोली मुर्दाको गिद्दी र पछि मासु पनि खान थाले । यसरी मुर्दाको मासु खान थालेपछि उसको टाउकोमा चाँदीको सिंग उम्रेर आयो । पछि घरमा नबसी श्लेषमान्तक वनमा बस्न थाले । कसैको लास ल्याएको देख्यो कि खोसेर जंगलमा लगी खान थाले । यसरी बालानन्द्र मान्छेबाट राक्षस बने । जुन कुरा प्रजाले राजालाई बिन्ति चढाउँदा राजाले बालानन्दका मीत वृषसिंहलाई बोलाएर बालानन्दलाई मारे इनाम दिने घोषणा गरे । उनले महादेवको आराधना गरी राक्षस मार्ने शक्ति प्राप्त गरे पश्चात् मिठो खानेकुरा र रक्सी लिई १२ जना जंगलमा पसे र राक्षसलाई खुवाई रक्सीले लागेपछि गहिरो इनारमा खसालेर मारे । राजालाई टाउको चढाउनु अघि महादेव कहाँ गई बालासुरको चाँदीको सिंग भएको टाउको चढाई मीत हत्याको पाप नलागोस् भनि वरदान मागे र वरदान प्राप्त गरे । उक्त दिन जसले महादेवको दर्शन गरी श्लेषमान्तक वनमा सतबीऊ छर्न जान्छ उसको सात पुस्तासम्म मोक्ष प्राप्त हुन्छ भन्ने वरदान दिए । यही बेलादेखि पशुपति क्षेत्रभित्रको देव–देवताको दर्शन गरी सत्बिज छर्ने परम्परा चल्यो भनि संस्कृतविद् प्रा.डा. चुन्दा वज्राचार्यले ऐतिहासिक कुराहरू उजागर गर्नु भएकी छिन् ।
नेवार समुदायमा यःमरि पुन्हीका दिन यःमरि खाने गर्दछन् । यो पूर्णिमालाई मार्ग पूर्णिमा, धान्य पूर्णिमा, गैँडु पूर्णिमा आदि नामबाट पनि प्रचलित छ । यसबेला खेतबाट धानबाली भित्र्याइसकेको हुन्छ । पांचाल (पनौति) देशको कुनै एउटा गाउँमा सुचन्द्र नामको एउटा मानिस बस्दथ्यो । उनी अति नै दयालु सुनेर कुवेर गरीबको भेषमा उनको घरमा गए । उनीहरूले सत्कार गरी मिठो मिठो खाना खुवाएकोले कुवेर अति खुशी भएर सुचन्द्रकी जहानलाई ज्ञानगुणका शिक्षा दिइ अन्तरध्यान भएछन् । पछि स्वास्नीले लोग्नेलाई सबै कुरा सुनाए पछि कुवेरले भने बमोजिम सख्खर तीलको झोल यःमरि भित्र राखी पीठोको कुवेर बनाई बिमिरो र यःमरि अन्नको भकारी भित्र राखेर चार दिनसम्म पूजा गरेर त्यसै राखिछोडे । पछि यःमरि आपूm पनि खाए अरुलाई पनि बाँडिदिए । जति दान गरे पनि उत्ति नै हुने र भकारीबाट जति धान निकाले पनि जतिको त्यति नै भइरह्यो । त्यसबेलादेखि यःमरि बनाउने र भकारीमा पूजागर्ने परम्परा चलेको भन्ने संस्कृतविद् प्रा.डा. चुन्दा वज्राचार्यले आफ्नो धारणा व्यक्त गरेकी छिन् ।
श्रीपञ्चमीको दिनलाई विद्या सिकाउने दिनको रूपमा महामञ्जुश्री (सरस्वती)लाई पूजा गरिन्छ । महाचीनबाट महामञ्जुश्री र आफ्ना शक्तिहरू वरदा र मोक्षदा दुबैलाई साथ लिई स्वयम्भूको महारश्मिको दर्शन गर्न आउनु भएको थियो । उनै महामञ्जुश्रीले नेपाल खाल्डोमा जम्मा भएको पानीलाई चोभारको पहाड काटी बाहिर पठाई यहाँ मानिस बस्न योग्य बनाई दिएको दिन पनि यही दिन हो भन्ने गरिन्छ । कसै–कसैले श्रीपञ्चमीलाई सरस्वतीको जन्मदिन पनि भन्ने गरिन्छ । महामञ्जुश्रीका शिष्यहरूमध्ये सर्वज्ञमित्र नामको एक जना शिष्य थिए । ती शिष्य नेपालमा आएर ज्ञानगुणको प्रचार गर्ने ठाउँमा मञ्जुश्री पनि वृद्धाको भेषमा बस्न आए । सर्वज्ञमित्रले आफ्नो काममा नै व्यस्त भएको भान गरिरहे । ज्ञानगुणका कुरा सकेपछि गुरुलाई सम्बोधन गरेर चरणमा ढोग गर्दा सर्वज्ञमित्रका दुबै आँखा गुरुको खुट्टामुनि झ¥यो । त्यसरी आँखा झरेको हुनाले नै पैतलामुनि आँखा भएको मण्डपलाई नै सरस्वती मानी आएका हुन् भनि संस्कृतिविद्को भनाई छ ।
पाहाँच¥हे भब्यताका साथ मनाउने एक चाड हो । यो चाड विशेष गरेर आठजना अजिमाहरू र उनीहरूका छोरा–छोरीहरूलाई बोलाई खुवाउने चलन थियो । यस दिन फोहोर ठाउँ वा माटोमुनि लुकेको महादेवको पूजा गरिन्छ । टोल–टोलमा देव–देवताहरूको पूजा गरी चढाएको भात बेलविवाह वा चुडाकर्म नगरेका केटाकेटीहरूलाई खुवाएमा रोग लाग्दैन भन्ने भनाई छ । त्यसैले छोरी भए ५ महिनामा र छोरा भए ६ महिनामा भात खुवाउने (अन्नप्राशन) चलन भएतापनि यस्ता केटाकेटीहरूलाई मह्रःजा खुवाएमा घरमा अन्नप्राशन गर्नु पर्दैन भन्ने विश्वास गरिन्छ । नेवारी समाजमा जातिय व्यवस्था भए पनि इहि (वेल विवाह) वा व्रतबन्ध गरी नसकेका केटा–केटीहरूका निमित्त जातिय छुवाछुट लागू हुँदैन । यो मह्रःजा पाहाँच¥हेको दिन खुवाउने गरिन्छ भने कतै कतै दशैंको टिकाको दिन पनि खुवाउने चलन छ । त्यस्तै इन्द्रचोकमा आकाश भैरव अगाडि पाहाँच¥हेमा यःसिं उभ्याउने गरिन्छ । त्यसअगाडि पीठमा पूजा गरी साक्षत देवी कुमारीदेखि अन्य बालबालिकाहरूलाई पनि मह्रःजा खुवाउने चलन छ । यसबेला कुमारीसंगै कुमारीको सेतो घोडा एक दिन मात्र सार्वजनिक हुने भएकोले सजाएर ल्याउने चलन छ । यो घोडालाई कसैले पनि चढ्नु हुँदैन भनि इतिहास तथा संस्कृतिविद् प्रा.डा. चुन्दा वज्राचार्यले नेवाः संस्कृतिभित्रका मूल्य र मान्यताहरूलाई प्रकाश पारेकी छिन् ।
अन्तमा भाषा, साहित्य, संस्कृति र इतिहासका क्षेत्रमा आफ्नो सम्पूर्ण जीवन नै अर्पण गरी भावी पुस्तालाई प्रेरित र प्रोत्साहित गर्ने कर्तव्यनिष्ठ अन्वेषक तथा राष्ट्रप्रेमि सामाजिक अभियन्ता प्रा.डा. चुन्दा वज्राचार्य एक मुर्धन्य प्रतिभानिधि व्यक्ति हुन् । विषयगत विविधता र विधागत सचेतनाका धनि अथक साधक प्रा.डा. चुन्दा वज्राचार्यको लेख्ने शैली सरल र बोधगाम्य छ । उहाँको कालजयी कृर्तिले तत्कालिन यथार्थतालाई मात्र चित्रण नगरी पछिल्ला पुस्तालाई पनि अनुकरणीय हुने भएकोले उहाँको योगदानलाई मुक्तकण्ठले प्रशंसा गर्न सकिन्छ ।
नारी जागृति र शिक्षाका पक्षधर अग्रज स्रष्टा प्रा.डा. चुन्दा वज्राचार्य नेपालभाषाका एक मौलिकताका प्रेमी थिए । नेपालभाषालाई सक्षम र सवल बनाउन उहाँले अति विशिष्ट भूमिका निभाउदै आउनु भएको छ । इमान्दारी तथा निःस्वार्थ प्रेमीको नाताले उहाँ ज्यादै सरल, शान्त र सहदयी प्रवृत्तिका प्रखर व्यक्तित्व हुनुहुन्छ । भनिन्छ, नेपालको सभ्यता नै नेवाः सभ्यताको परिचयक हो । त्यसैले युगका सचेतक प्रा.डा. चुन्दा वज्राचार्यद्वारा नेपालभाषाबाट लिखित पुस्तकलाई अनुवादित गरी नेवार समुदायले सहर्ष मान्दै आएका थुप्रै चाडपर्वहरूमध्ये चौतिस वटा चाडपर्वहरू उल्लेख गर्नु भएकी छिन् । यस्ता थुप्रै चाडपर्वहरूका धनी नेवार समुदायभित्रका कला र संस्कृतिलाई समयमै संरक्षण र प्रवद्र्धन गरी यसको मूल्य र मान्यतालाई पहिचान दिलाउनु आजको आवश्यकता हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया