नेविसङ्घ महाधिवेशनको बन्दसत्र आज

बिजनेसपाटी २७ श्रावण

पटक-पटक मिति तोकिँदै स्थगन हुँदै आएको नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनको बन्दसत्र बिहीबार बिहानदेखि सञ्चालन हुने भएको छ।  नेविसङ्घको महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशन समितिले बुधबार पत्रकार सम्मेलन गरी महाधिवेशन प्रतिनिधिमा देखिएको विवाद समाधान र बन्दसत्रका बारेमा जानकारी गराएको हो।  नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघमा देखिएको महाधिवेशन प्रतिनिधिको विवाद मिलेपछि महाधिवेशनको प्रक्रिया बिहीबारदेखि सञ्चालन हुने समितिका संयोजक डा. प्रकाशशरण महतले बताए। “समितिले आमरण अनशन बसेका विद्यार्थीको मागसमेत सम्बोधन हुने गरी विवादित ११ जिल्लाको महाधिवेशन प्रतिनिधिको विवाद लामो छलफल गरी टुङ्गो लगाएको छ।”, उनले भने।  समितिले विवादित जिल्लाका कार्यसमिति हाललाई थाती राखेर महाधिवेशनमा भाग लिने प्रतिनिधिको टुङ्गो लगाएको हो। ती जिल्लामा निर्वाचनबाट आउने नयाँ केन्द्रीय समितिले तीन महिनाभित्र अधिवेशन गराउने सहमति भएको नेता महतले जानकारी दिए।

निर्वाचन प्रक्रिया अगाडि बढाउन पार्टीले डेमोक्र्याटिक लयर्स एसोसिएसन (डिएलए) का अध्यक्ष भरतप्रसाद खरेलको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ। एघार जिल्लाको महाधिवेशन प्रतिनिधि विवादका कारण यही साउन २३ गते महाधिवेशनको उद्घाटन भए पनि बन्दसत्र हुन सकेको छैन। आमरण अनशन तोडियो  प्रतिनिधिको विवाद मिलेसँगै विधिवत् महाधिवेशनको माग गर्दै आमरण अनशनमा बसेका विद्यार्थी नेताद्वय गणेश सापकोटा र रत्नहरि ढुङ्गेलले आजै अनशन तोडेका छन्।  अनशनका क्रममा गम्भीर बिरामी भएपछि ओम अस्पताल भर्ना भएका उनीहरुलाई सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाले जुस पिलाएर अनशन तोडाएका हुन्। त्यस्तै, विभिन्न माग राखी पार्टी कार्यालय सानेपामा आमरण अनशन बसेका विद्यार्थी नेता भोलानाथ शर्माले पनि अनशन तोडेका छन्। गम्भीर बिरामी भएपछि काठमाडौँ मोडेल अस्पताल भर्ना भएका उनलाई पार्टीका नेताद्वय धनराज गुरुङ र महेन्द्र शर्माले जुस पिलाएर अनशन तोडाएका थिए।  केन्द्रीय समिति १५१ सदस्यीय हुने  नेविसङ्घको नयाँ केन्द्रीय समिति प्रादेशिक संरचनाअनुसार १५१ सदस्यीय हुने गरी विधानमा सहमति भएको छ जसअनुसार एक अध्यक्ष, सात प्रदेशबाट १/१ जना गरी ७, समावेशी ४ र २ मनोनीत गरी १३ जना उपाध्यक्ष रहने समितिले जानकारी दिएको छ।

त्यस्तै, दुई निर्वाचित महामन्त्री र एक मनोनीत गरी तीन महामन्त्री हुनेछन्। सात प्रदेशबाट एक/एक गरी ७, उपत्यका एक, पिछडिएको क्षेत्र एक, ४ समावेशी र ३ मनोनीत गरी १६ सहमहामन्त्री रहने व्यवस्था गरिएको छ। त्यस्तै, एक निर्वाचित कोषाध्यक्ष र बाँकी सदस्य रहनेछन्।  त्यस्तै, १२औँ महाधिवशेनबाट लागू हुनेगरी सङ्घमा ३२ वर्षको उमेर हद लागू हुने समिति सदस्य गोविन्द भट्टराईले बताए। त्यस्तै, सङ्घमा अब ‘एक व्यक्ति एक पद’को अवधारणा अनिवार्य रूपमा लागू हुनेछ। संघको २ वर्षभित्र अधिवेशन नभए तीन महिनापछि स्वतः केन्द्रीय समिति भङ्ग हुने गरी पार्टीको निर्देशक समितिले विधानको टुङ्गो लगाएको छ।  प्रतिनिधिको विवाद मिलेसँगै सङ्घमा प्रतिनिधिको सङ्ख्या तीन हजार ४६० पुगेको अध्यक्ष रञ्जीत कर्णले बताए। नेविसङ्घको महाधिवेशन झन्डै १० वर्षपछि हुन लागेकाले हरेक पदमा आकाङ्क्षी धेरै देखिएका छन्। पार्टी नेता डा. प्रकाशशरण महतको संयोजकत्वमा गोविन्द भट्टराई, गुरुराज घिमिरे, किशोरसिंह राठौर र प्रदीप पौडेल सदस्य रहेको निर्देशन समिति गठन गरिएको छ। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया