नौ स्काभेटर नियन्त्रणमा

मेलम्ची, २२ भदौ

नदीमा अनाधिकृत रुपमा बालुवालगायत नदीजन्यपदार्थ उत्खनन गर्ने क्रममा इलाका प्रहरी कार्यालय, मेलम्चीले विभिन्न स्थानबाट साउनयता नौ स्काभेटर नियन्त्रणमा लिएको छ ।
नदीजन्य पदार्थ बोक्ने कार्यमा संलग्न १६ ट्रक, सात मिनी ट्रक र छ ट्रयाक्टर गरी ३८ सवारी साधन बरामद गरिएको इलाकाप्रहरी कार्यालय मेलम्चीले जनाएको छ । बरामद गरिएका सवारी साधनलाई सम्बन्धित निकायमा थप कारवाहीका लागि पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख परशुराम मल्लले जानकारी दिनुभयो । यस्तै मानिस लगाई इन्द्रावती नदीबाट बालुवा निकाल्न लगाउने एक जनालाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद थप लिई आवश्यक कारवाहीसमेत भइरहेको प्रहरीले जनाएको छ ।
यही भदौ ५ गते मेलम्ची नगरपालिका–१२ स्थित पाल्चोकी क्रसरको इन्द्रावती नदीमा फेला परेको अनटेष्ट स्काभेटर र हेलम्बु गाउँपालिका–२ स्थित मेलम्चीमा फेला परेको वा ४ ख ५४२नम्बरको मिनीट्रक पनि कारवाही प्रक्रियामा रहेको मेलम्ची प्रहरीले जनाएको छ । सरकारले वर्षायाममा नदीजन्य पदार्थ उत्खनन् गर्न प्रतिबन्ध लगाए पनि विभिन्न स्थानमा चोरीछिपी स्काभेटर प्रयोग गरेर बालुवा निकाल्ने गिरोह सक्रिय हँुदै आएकाछन् । (रासस)

फेसबुकबाट तपाईको प्रतिक्रिया