पच्चीस वर्षपछि खुल्यो ट्र्याक

इलाम, ११ पुस

इलामको माई जोगमाई गाउँपालिका–२ को ढाडेखोला हुँदै नेपाल–भारत सीमावर्ती बजार मानेभञ्ज्याङ जोड्ने सडकको ट्रयाक खोलिएको छ । २५ वर्ष अघिबाट निर्माण थालिएको ढाडेखोला नजिक रहेको गणेश भीरको आठ किलोमिटर चट्टान फोरिएसँगै अँधेरी गाउँ र सरसिङे गाउँ मोटर चल्ने सडक सञ्जालमा जोडिएको हो । उक्त सडकले घारेगाउँ, सरसिङे, अधेरी हुँदै सूर्योदय नगरपालिकाको मानेडाँडा र माने भञ्ज्याङ जोड्ने छ ।

करिब चार महिनादेखि गाउँपालिकाको एक्साभेटर र हजारौँको संख्यामा स्थानीय जनताको श्रममा उक्त सडक निर्माण गरिएको गाउँपालिका अध्यक्ष जीतबहादुर राईले जानकारी दिए । अध्यक्ष राईका अनुसार गाउँपालिकाले उक्त सडक निर्माणका लागि एक करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेको छ ।

निर्माण भएको सडक उद्घाटन गर्दै अध्यक्ष राईले विकट मानिएको सडकको ट्रयाक खोलिएपछि उक्त क्षेत्रका स्थानीयलाई आवतजावतमा सहज भएको बताए । उनले भने, ‘सबैतिर सडकको ट्र्याक खोल्ने काम सकिएपछि अर्को आर्थिक वर्षबाट ग्राभेल र पिचको काम हुनेछ ।’

उक्त क्षेत्रमा रहेको गणेश भीर प्राविधिक रुपले अत्यन्तै जोखिमपूर्ण थियो । उक्त भीर फुटाएर ट्र्याक खोल्नैपर्ने चुनौतीपूर्ण काम भएकाले अब मानेभञ्ज्याङसम्म सडक लैजान समस्या नपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रप्रकाश बस्नेतले बताए ।

ट्र्याक खोलिएसँगै स्थानीयको सक्रिय सहभागितामा गुम्बाडाँडा–घारेगाउँ–सरसिङे–ढाडेखोल–अँधेरी गाउँसम्म गाउँपालिकाको मापदण्ड अनुसारको आठ किलोमिटर मोटरेबल सडक सञ्चालनमा आएको छ ।

२५ वर्ष अघिबाट निर्माण सुरु भएको उक्त सडकको स्तरोन्नति र चट्टान फुटाएर सडक निर्माण गर्ने काम सम्पन्न भएपछि स्थानीय उपभोक्ता समितिले उक्त सडक गाउँपालिकालाई जिम्मा लगाएको छ ।

उक्त सडकको २०५४ सालमा ट्रयाक खोल्ने काम थालिए पनि आर्थिक अभाव जस्ता समस्याले गति लिन सकेको थिएन । छवटा वडा रहेको गाउँपालिकामा गत वर्षदेखि नै बाह्रै महिना यातायात सञ्चालन हुने गरी ‘बाह्रमासे सडक’ निर्माणको काम समेत भइरहेको छ । गोरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया