पदाधिकारीसामु गले डा.भट्टराई

काठमाडौँ २१ माघ २०८०,।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकीकरण हुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यशैलीबाट असन्तुष्ट रहेका नेसपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पार्टी नेताहरुको दबाबका कारण एकीकरण गर्न सहमत भएका हुन् ।

नेसपाभित्र पार्टी एकीकरण गर्ने पक्षधर नेताहरु बहुमतमा रहेका छन् । सुरुमा पार्टी एकीकरण नगर्ने अडानमा रहेका डा.भट्टराईलाई ती नेताहरुले एकीकरणका लागि दबाब दिदै आएका थिए । ‘बाबुरामजी नमाने पार्टी विभाजन गरेरै एकीकरण गर्नेसम्मको कुरा आएपछि उहाँ (बाबुराम) पनि एकीकरणका लागि सहमत हुनुभयो,’ नेसपाका एक पदाधिकारीले भने ।

माओवादी केन्द्रले विभिन्न समयमा माओवादीबाट विभाजन भएर गठन भएका दलहरुसँग एकीकरण गरेर अगाडि बढनुपर्ने रणनीति लिएको छ । प्रचण्डले यस’boutमा सार्वजनिक रुपमै माओवादी घटकहरु एकीकरण गर्नुपर्ने बताउँदै आएका छन् । माओवादी केन्द्रले सोही अनुसार पार्टी एकीकणका लागि समिति समेत गठन गरेर वार्ता, छलफल गर्दै आएको छ ।

माओवादीसँग तत्काल पार्टी एकता गरेर जाने पक्षमा नेसपा अध्यक्ष महिन्द्रराय यादव सहअध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेशप्रसाद यादवलगायत नेताहरू रहेका छन् । यी नेताहरुकै दबाबका कारण नेसपा अध्यक्ष डा. भट्टराई पार्टी एकताका लागि सहमत भएपछि शनिबारको केन्द्रीय समितिको बैठक सुरु भएको थियो ।

गत वर्ष निर्वाचनअघि नै माओवादी केन्द्र र नेसपाबीच पार्टी एकीकरण गर्ने सहमति भएको थियो । तर भट्टराईलाई थाहै नदिई माओवादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चा गठन गरेपछि उनी असन्तुष्ट रहँदै आएका छन् । जबकी समाजवादी मोर्चाको अवधारणा र मोर्चावन्दी गर्नुपर्ने विषय उठाउने नै भट्टराई हुन् ।

यस्तै असोजको अन्तिम साता नेसपाका अध्यक्ष यादवलाई माओवादीले गरेको पत्राचारबाट भट्टराई प्रचण्डसँग थप सशंकित देखिएका थिए । यसै विषयको हल खोज्न नेसपाले शुक्रबार केन्द्रीय कार्यकारिणी समितिको बैठक र शनिबार केन्दीय समिति बैठक बोलाएको हो । तर भट्टराई एकीकरणको विपक्षमा उभिएपछि विवाद भएको थियो ।

शनिबार केन्द्रीय समिति बैठक सुरु हुनुअघि दुई अध्यक्ष भट्टराई, यादव सहित ५ जना पदाधिकारीबीच बसेको बैठकमा आगामी जेठसम्म नेसपाको महाधिवेशन रोक्ने सहमति भएको छ । त्यसअघि माओवादी केन्द्रसँग एकता प्रक्रियालाई अघि बढाउने निर्णय भएको छ । केन्द्रीय समिति बैठकअघि अध्यक्षद्वय भट्टराई र यादव, सह–अध्यक्ष श्रेष्ठ, महासचिव यादव सहित केही केन्द्रीय कार्यकारिणी सदस्यहरूबीच बैठक बसेर सो सहमति भएको हो । त्यसपछि केन्द्रीय समितिको बैठक सुरु भएको हो ।

बैठकले हाल निर्माण भइरहेको प्रस्तावित मस्यौदा विधानलाई केन्द्रीय समिति बैठकले पारित गर्ने, पार्टीभित्र देखा परेको विवादलाई हल गरेर लैजाने सहमति भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा पार्टी एकताको विषयमा चर्को विवाद उत्पन्न भएपछि बैठक स्थगित भएको थियो ।

नेसपाभित्र माओवादी केन्द्रसँग एकताको महाधिवेशन गर्ने कि पार्टीको महाधिवेशन गर्ने भन्ने विषयमा मतभेद देखिएको थियो । माओवादीसँग पार्टी एकता गर्न नहुने पक्षमा रहेका अध्यक्ष भट्टराई समूह रहेका छन् भने एकता गर्नुपर्ने पक्षमा यादव समूह रहेको छ । विवादकै बीचमा गत मंसिरमा बसेको केन्द्रीय समितिको बैठकले भट्टराईकै नेतृत्वमा एकता समिति गठन भएको थियो । सो समितिमा यादव, श्रेष्ठ सहित उपाध्यक्ष दुर्गा सोव र महासचिव यादव रहेका छन्् ।

गत वर्ष माओवादीको चुनाव चिन्हबाट यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित छन् । श्रेष्ठ बागमती प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । यादव प्रचण्ड नेतृत्वको संघीय सरकारमा खानेपानी मन्त्री छन् । उता श्रेष्ठ बागमती प्रदेशका आन्तरिक मामिला मन्त्री छन् । यादव र श्रेष्ठ मन्त्री भएको र अरु नेता पनि माओवादीबाटै आएकाले पार्टी एकीकरणका लागि दबाब दिदै आएका थिए ।

उता १–३ फागुनमा काठमाडौंमा विधान सम्मेलन गरिरहेको माओवादी केन्द्रले त्यसपछि एकताको महाधिवेशन गर्ने तयारी गरेको छ । गत २८ पुसमा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले प्रचण्डको नेतृत्वमा एकता संयोजन समिति समेत गठन गरिसकेको छ । सो समितिमा उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, उपमहासचिवत्रय शक्ति बस्नेत, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल रहेका छन् ।

माओवादीबाट विभाजन भई गठित भट्टराई नेतृत्वको नेसपा, प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा), नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपालगायतका दलसंग पार्टी एकीकरणका लागि माओवादी अध्यक्ष प्रचण्डको तयारी छ । तर पछिल्लो समय साह र विप्लवसंग पार्टी एकताको वातावरण बिगँ्रदै गएको बताइएको छ ।

गत २५ भदौमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले चारबुँदे आन्तरिक परिपत्र जारी गर्दै पार्टीको नाम फेर्ने गरी निर्णय गर्ने उल्लेख गरेको थियो । त्यतिबेला अध्यक्ष प्रचण्ड र महासचिव गुरुङद्वारा हस्ताक्षरित परिपत्रमा ‘माओवादी केन्द्र’को नाम’bout आवश्यक निर्णय लिन सकिने उल्लेख थियो । पार्टीको नामबाट ‘माओवादी केन्द्र’ हटाएर नेकपा समाजवादी नाम राख्नमा माओवादी केन्द्रभित्र आन्तरिक छलफल समेत अन्तिम टुंगोमा पुगेको छ । माओवादी केन्द्रले पार्टीको नामबाट माओवादी केन्द्र हटाउन तयार छ ।आजको राजधानी दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया