पर्यटकीयस्थल पुनहिलमा शौचालय निर्माण शुरु

म्याग्दी ५ कार्तिक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल पुनहिलमा सार्वजनिक शौचालय निर्माण शुरु भएको छ ।

समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि पुग्ने पर्यटकको सुविधाका लागि स्थानीय होटल व्यवसायीको पहलमा तीन वटा सार्वजनिक शौचालय निर्माण कार्य शुरु भएको हो ।

पर्यटक याममा दैनिक ५०० देखि ७०० जना पर्यटक पुग्ने पुनहिलमा व्यवस्थित शौचालय नहुँदा समस्या भएको थियो । पुनहिलको सरसफाइ र पर्यटकको सहजताका लागि १७ लाखको लागतमा शौचालय निर्माण कार्य शुरु भएको घोडेपानी होटल व्यवस्थापन उपसमितिका उपाध्यक्ष सुशील पुनले बताए।

घोडेपानीदेखि पुनहिल जाने पदमार्गको प्रवेशद्वार, नेपाल टेलिकमको टावर रहेको डाँडा र पुनहिल परिसरमा सार्वजनिक शौचालय निर्माण गर्न लागिएको हो । विशिष्ट व्यक्तिसमेत आउने भएकाले उनीहरुलाई लक्षित गरेर आधुनिक शैलीको शौचालय बनाइने घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजाले बताए ।

आगामी चैत महिनाअघि नै सार्वजनिक शौचालय निर्माण गरिसक्ने लक्ष्य छ । उच्च स्थानमा अवस्थित सो ठाउँमा पानीको सुविधा नभएकाले शौचालयमा प्रयोग गर्न आकाशे पानी संकलन गर्ने व्यवस्था मिलाउन लागिएको छ ।

धौलागिरि, गुर्जा, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायत १६ वटा हिमाल एकै स्थानबाट अवलोकन गर्न सकिने पुनहिल अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) अन्तरगत प्रमुख पर्यटकीय गन्तव्य हो ।

घोडेपानीमा बास बसेका पर्यटक एकाबिहानै दृष्य अवलोकनका लागि पुनहिल जाने गर्छन् । असोज–कात्तिक–मंसिर, फागुन–चैत र वैशाख महिनामा यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया