पर्वतका गृहिणी महिलाले लिए निःशुल्क कम्प्युटर शिक्षा

पर्वत ११ कार्तिक
पर्वतको फलेवासस्थित खानीगाउँमा रहेको मेती सामुदायिक पुस्तकालयले विवाहित गृहिणी महिलालाई निःशुल्क कम्प्युटर शिक्षा दिन सुरु गरेको छ। ग्रामीण क्षेत्रका महिलालाई आधुनिक शिक्षा र प्रविधिसँग परिचित गराई सीप र प्रविधियुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले पुस्तकालयमै निःशुल्क कम्प्युटर शिक्षा दिलाउन थालेको हो। कम्प्युटरसम्बन्धी ज्ञान केही थाहा नहुँदा महिला पछाडि परेकाले पुस्तकालयले गृहिणी महिलालाई लक्षित गरी उक्त कार्यक्रम ल्याएको पुस्तकालय व्यवस्थापन समितिले जनाएको छ।
गृहिणी महिला आधुनिक प्रविधिबाट निकै पछाडि परेको भन्दै राज्यको विभिन्न निकायमा महिला सहभागिता बढाउन कम्प्युटर शिक्षा अनिवार्य भएकाले निःशुल्क कम्प्युटर शिक्षा सिकाउने निर्णय गरेको पुस्तकालयका संरक्षक भोलानाथ शर्माले बताए। विभिन्न ठाउँमा सामुदायिक सिकाइ केन्द्र अलपत्र परेको अवस्थामा पुस्तकालयले गरेको उक्त कार्यले महिलाको सिकाइ उपलब्धिमा समेत वृद्धि हुने देखिएको छ। गृहिणी महिलालाई बिहान ११ देखि ३ बजेसम्मको समय मिलाएको लाइब्रेरियन इन्द्र सापकोटाले जानकारी दिए। कम्प्युटर सिक्नका लागि फलेवास आसपासका ५० भन्दा बढी महिला सहभागी हुने गरेका छन्। पुस्तकालयले ६० वर्षभन्दा माथिका नेपाली ज्येष्ठ नागरिक, अशक्त असहाय, सीमान्तकृत नागरिक, दलित, जनजातिलगायतलाई जन्मदर्ता, बसाइँसराइ, प्रमाणपत्र, जग्गाधनी पुर्जा, भौचर, पेन्सनपट्टाको फोटोकपी, इमेल, इन्टरनेट, स्क्यानिङलगायतको सेवासमेत निःशुल्क उपलब्ध गराउने भएको छ। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया