पल शाह प्रकरणमा दीपकराज गिरीले आफूलाई पनि देखे दोषी
काठमाण्डौ २० फागुन २०७८ ।
पल शाह प्रकरणमा दीपकराज गिरीले आफूलाई पनि दोषी देखेका छन् । सो घट्नालाई लिएर उनले सामाजिक सञ्जाल फेसबुकमा लामै विचार राखेका छन् । नाबालिग गायिका बलात्कार अभियोगमा अभिनेता पल शाह अहिले हिरासतमा छन्। घटनाले देश तरंगित छ। कलाकार दीपकराज गिरीले शुक्रबार सामाजिक सञ्जालमा लेखेको स्टाटस यस्तो छ ।
यस्ताे छ स्टाटस:
आज म लेख्दैछु …..
‘छक्का पञ्जा र समीक्षा’
पछिल्लो घटनाक्रमले समाज नै तरंगित बनेको छ। केस अदालतमा पुगिसकेकोले मैले यसको बारेमा बोल्नु हुँदैन…..म यहाँ केवल समीक्षा जसले छक्का पञ्जाबाट यो रंगीन दुनियाँमा कदम राखिन्। त्यो बारेमा केही सेयर गर्न चाहन्छु…..जब हामी छक्का पञ्जा ३ को सुटिङ गर्न ला चौक पोखरामा पुग्यौं, हामीलाई स्कुले विद्यार्थीको अभिनय गर्ने कलाकार चाहियो, त्यो बेला त्यहाँ हेडमास्टरले सहयोग गर्नुभो, ८–१० जना विद्यार्थीहरू छनोट भए, त्यसमध्ये एक थिइन्– समीक्षा…..गोरी, राम्री, लजालु स्वभाव भएकी…..दिएको संवाद राम्रोसँग बोल्ने गर्थिन्, बेलाबेलामा उनले गुनगुनाएको कर्णप्रिय स्वरले हामी सबैलाई तान्थ्यो।
छायाकार मित्र पुरुषोत्तम प्रधानले मोबाइलमा रेकर्ड गरेर त्यो आवाज लिएर आए, त्यही रेकर्ड गरिएको आवाज नै समीक्षालाई देशको राजधानी काठमान्डुमा स्थापित हुने मार्ग बन्न पुग्यो।
सुटिङका क्रममा मैले उनको धेरैपल्ट तारिफ गर्दा हेडमास्टर तथा अन्य सरहरू पनि, यो नानी सारै मीठो गाउँछे, हामीलाई यिनीप्रति धेरै विश्वास छ।
एकदिन राम्रो गायिका बन्नेछिन् र समग्र गाउँको र स्कुलको नाम चम्काउनेछिन् भनेर तारिफ गर्नुहुन्थ्यो….भयो पनि त्यस्तै। छोटो समयमा नै उनले लोभलाग्दो प्रगति गरिन् पनि। त्यसपछि उनीसँग मेरो भेट कहिल्यै भएन। टेलिभिजन र टिकटकहरू देख्थें, खुसी लाग्थ्यो…..बरु बेलाबेला हेडमास्टरले फोन गरेर ‘हाम्रो चेलीले साँच्चै राम्रो गरेकी छे दीपकजी! तपाईंहरू सुटिङमा आएको त उसको लागि भाग्यको ढोका खोल्न रहेछ’ यति सुनिरहँदा म पनि घमण्डले धेरैपल्ट गचक्क परेको छु…..तर त्यो मेरो घमण्ड धेरै दिन टिकेन, आजको दिन देख्नुपर्यो, सामाजिक सञ्जालमा उनीमाथि बर्सिएको गाली सुन्नुपर्यो, अब म दुविधामा परेँ, के गरौं?
कक्षा ६ मा पढिरहेकी एक बालिकालाई माइकमा गीत गाउन कसले सिकायो? हामीले।
मिडियासामु बोल्न, कार्यक्रममा कति पारिश्रमिक माग्ने, कोसँग कसरी प्रस्तुत हुने यो सबै कसले सिकायो? मेरै क्षेत्रले सिकाएको हो, हामीले नै सिकाएको हो। यसमा प्रशस्तै गौरव छ।
एउटा सामान्य बालिकालाई प्रोफेसनल कलाकारजस्तै बनाएर रातारात चर्चित बनाउने हामी सबैलाइ एकमुस्ट बधाई र धन्यवाद छ।
तर मिडियामा आएझैं ब्वाईफ्रेन्डहरू राख्ने , सम्बन्ध बनाउने, षड्यन्त्र नै गर्ने, नाबालिक भएर पनि यस्तो गर्ने, त्यस्तो गर्ने, योचाहिँ उनले गाउँबाटै सिकेर आएकी थिइन् कि कसो?
यसको जिम्माचाहिँ हामीले लिने कि नलिने?
यो बालिकालाई हामीले यहाँ पुर्यायौं भनेर गर्वचाहिँ गर्ने, तर उक्त बालिकाले सिकेको नराम्रो बानीको ठेक्काचाहिँ लिने कि नलिने?
आज आरोप लागेको उनको ब्वाइफ्रेन्डहरू भनेको स्कुल पढ्दादेखिका हुन् कि यही क्षेत्रमा आएपछि बनेका हुन्?
छोरोले फस्ट आउँदा मेरो छोरो,
छोरोले अरूका छोरा भकुरेर आउँदाचाहिँ ‘ए तेरो छोरोले हेर के गर्यो?’
उनी आज जे बनिन्, त्यसमा हाम्रो सहयोग थियो भने उनले आज जे भोगिरहेकी छिन्, त्यसमा पनि हाम्रो क्षेत्र, हाम्रै संगत, हाम्रै वातावरणको दोष छ कि छैन?
मलाई यहाँ यो दोषी र यो निर्दोषी भनेर फैसला गर्नु छैन। त्यो काम मेरो हुँदै होइन।
मेरो चाहना समीक्षालाइ सराप्न बन्द गरौं भन्ने मात्रै हो…..म समीक्षाको प्रगतिमा गर्व गर्छु भने उनले भोगिरहेको आजको नियतिमाआफूलाई पनि दोषी देखिरहेको छु।
यति भनिरहँदा मैले पनि गाली खानुपर्नेछ। अब गाली त बानिजस्तै भइसक्यो…..
जय नेपाल!!!
फेसबुकबाट तपाईको प्रतिक्रिया