पश्चिमी भेगमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध
काठमाडौं–१६ श्रावण
काठमाडौंदेखि पश्चिमी क्षेत्रमा अधिक वर्षा हुनसक्ने भन्दै त्यसक्षेत्रमा अझै केही दिन सतर्कता अपनाउन मौसमविद्ले सबैसँग आग्रह गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा। ऋषिराम शर्माका अनुसार मनसुनको न्यून चापीय रेखा अझै नेपाली वायुमण्डलमा सक्रिय भइरहेकाले नेपालका पश्चिमी भेगमा भारी वर्षा हुनसक्ने प्रवल सम्भावना अझै रहेको छ ।
जसले गर्दा त्यसक्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या अझै आउनसक्ने देखिएकाले सबैले सतर्कता अपनाउन जरूरी छ ।
गत एक हप्तायता देशभर वर्षाको वितरण एकनाश भए पनि शनिबार रातिदेखि आउँदो सोमबारसम्म बढी सक्रिय हुने विद्यमान मनसुनको स्थानीय प्रणालीले कुनै क्षेत्रमा मात्र बढी पानी पर्ने खण्डवृष्टि हुने सम्भावना रहेको छ ।
एकै स्थानमा अधिक वर्षा हुँदा त्यो स्थानमा बाढी, पहिरो तथा डुबान हुनसक्ने भएकाले स्थानीय बासिन्दाले सचेत र सतर्क रहन विभागले आग्रह गरेको छ ।
गत शुक्रबार रातिदेखि देशभरमा भारी वर्षा हुँदा करिब ८० जनाले ज्यान गुमाएका छन् भने २४ भन्दा बढी व्यक्ति बाढी र पहिरोमा परी बेपत्ता भएका छन् ।
करोडौँ मूल्य बराबरको भौतिक संरचना, अन्य सम्पत्तिको नोक्सानी भएको छ । बिहीबार साँझबाट नेपालको मध्यभागमा मौसम केही सफा भए पनि शुक्रबार रातिदेखि शनिबार बिहानसम्म नेपालको पूर्वी र पश्चिमी भागमा वर्षा भएको विभागले जनाएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया