पहाडमा बाढी पहिरो, तराईमा डुवान

कालिदासबहादुर राउत क्षत्री
बङ्गालको खाडीबाट प्रवेश गरेको मनसुन र अरब सागरबाट आएको जलवायुयुक्त हावाका कारण मनसुन सकृय भएर पहाडमा बाढी पहिरो र तराईमा डुवान जारी छ । मुलुकका अधिकांश स्थानमा अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । देशका ठुला नदीहरुमा पानीको बहाव उच्च भएको छ । महाकालीमा १ लाख ८५ हजार क्युसेक भन्दा माथिपानीको वहाव पुगेको छ । सप्तकोशी नदीमा पनि १ लाख ३० हजार क्युसेक भन्दा माथि वहाव पुगेको छ । सप्तकोशी नदीमा ५६ वटा ढोका छन् र र यी मध्य करिब आधा खोलिएका छन् । सप्तकोशीको एक भोटेकोशीमा २०७३ असार २४ गते राती तिव्वतमा पहिरो गएर कोसी थुनिएर ताल बन्यो, अन्ततः ताल फुटेर भोटे कोशीको सतह २० मिटर उचालिएर भयक्रान्त बनाएको थियो । सामान्यतया भोटेकोसीमा प्रतिसेक्ण्ड १५० क्युसेक (घनमिटर) पानी बहाव छ । वर्षात तथा वाढीका बेला प्रतिसेकण्ड ६३३ क्युसेक भन्दा बढी बग्छ । बाढी आएकोबेला ढुंगा, लेदो, गेगर र काठपात सोहोरेर ल्याउँदा कोसी किनारमा सालन्ना क्षति हुने गरेको छ । खासा मितेरी पुलबाट पाँचसय मिटरको दुरिमा पहिरो गएर कोसी थुनिदा मुखैमा परेको तातोपानीमा व्यापक क्षति भयो । तातोपानीमा भोटेकोसीले ल्याउने विनाशलिला पुनरावृत्त भैरहन्छ ।

हिमताल मुहान रहेको भोटेकोसीलाई तिव्वतको दुःखका रुपमा लिइन्छ । चीन प्रवेशको मुख्य ढोका तातोपानी र तल्लो तटीए क्षेत्रका वासिन्दा लामो समयदेखि वाढी पहिरो जस्ताकै प्राकृतिक प्रकोपसँग संघर्षरत छन् । प्रत्येक एक डेढ दशकमा भोटेकोसीले नदी आसपासका वासिन्दालाई पिरोल्दै रहेको छ । इसिमोडका विज्ञ मूल भन्छन् ः तातोपानीको भूगोल पहिरोग्रस्त छ । सुनकोसी भन्दा माथि सिंगो तिव्वत सम्मकै भूभाग कमलो र जोखिमपूर्ण छ । इसिमोडको प्रतिवेदनअनुसार सन् १९६४ मा सुनकोसी करिडोर र भोटेकोसी उपत्यकामा तिव्वतको ज्याङलाङ ताल फुटेर वाढी पहिरो आएको थियो । त्यतिवेलाको क्षतिको कतै उल्लेख छैन । सन् १९८२ मा दोश्रो पटक पुनः उक्त ज्याङलाङ ताल फुट्दा मितेरी पुल, फुल्पिङ पुल सहित तिव्वतका तीन पक्की पुल वगाएको थियो । सुनकोसी हुँदै दोलालघाट सम्म त्यति वेला व्यापक क्षति भएको थियो, ४० घर धुरीको बाह्रविसेबजार पुरै बगाएको स्थानीय भुक्तभोगी अर्जुन राउत स्मरण गर्छन् । सन् १९९६ मा तातोपानी नजिक दुई साता लामो वर्षात पश्चात सात कि.मि. माथिबाट १४० मिटर फराकिलो पहिरो झर्दा ५४ जना मरेका थिए र ४० वटा घर एवं लार्चापुल वगाएको थियो । यस्तै भीमकाय पहिरो जुरेमा २०७१ साउत १७ गते गएको थियो । इसिमोडको प्रतिवेदननुसार सन् १९८२ मा बलेफी नजिक झण्डै तीन कि.मि. डाडो वग्दा सुनकोसी थुनिएर (मिसिएर वगेको) नदीले ९७ जनाको ज्यान लिएको थियो र १५ घर बगेको थियो । सुनकोसी र व्रह्मायणी (बलेफी) पनि बाढी पहिरोको उच्च चपेटामा पर्दै आएको छ । सन् १९८७ मा पनि सुनकोसी थुन्ने गरी अर्को पहिरो गएको थियो । २२९ घर र ९८ को ज्यान बगाउनुको साथै सुनकोसी जलविद्युत केन्द्र पुर्ण रुपेण क्षतिग्रस्त भएको थियो । यसैगरी वलेफी करिडोरको पाङताङकमा पचासको दशकमा (२०४० पछि) व्रह्मायणी नदीको वाढीले कात्तिके बजार बगाउँदा ठुलो मानवीय क्षति भएको थियो । भोटेकोसी जस्तै व्रह्मायणी उपत्यका र सुनकोसी पहिरोगस्त क्षेत्र हो । २०७१ को जुरे पहिरोले पाँच गाउ वगाउँदै ११ घण्टा सुनकोसी थुनिदा १४५ जनाको ज्यान गएको थियो । भोटेकोसी उपत्यकाको तिव्वतमा हिमताल जोखिमपूर्ण अवस्थामा रहेकोले तल्लो तटीय क्षेत्र नेपालमा जतिसुकै वेला प्राकृतिक प्रकोप निम्तिन सक्ने विज्ञहरुले वताएका छन् । इसिमोडका अनुसार तिव्वती भोटेकोसी जलाधार क्षेत्रमा ७४ हिमताल रहेकोमा १० वटा जोखिमपूर्ण रहेको छन् । यी मध्य ६ वटा चाहिँ कुनै पनि बेला विष्फोट हुनेछन् । तदनुरुप तातोपानीमा फिजीकली बस्ती बसाउन नमिल्ने भएर त्यतातर्फको चिनियाँ वस्ति अन्य प्रान्तहरुमा स्थानान्तरण गरीसकेको छ । यसैपालीको भोटेकोसी बाढी पीडितलाई हेलिकप्टरद्वारा उद्धार गर्नु परेको थियो ।
ताप्लेजुंगको सावादिन गाविसमा पर्ने मित्लुङ भन्ने भिरबाट पहिरो खसेर तमोर नदी (कोसी) थुनिएर तल्लो तटीय क्षेत्रका मित्लुङबजार, दोभान बजार र हान्द्रुङ बजार लगायतका वस्ति उच्च जोखिममा परेका थिए । अविरल वर्षा सँगै सिन्धुलीको कमलाखोंच क्षेत्रमा कमला, मरिणखोला, चँदाहा खोला लगायतका खोलामा आउने वाढीले गतवर्षको झै यस वर्ष पनि उर्वर जमिन कटान गर्न थालेपछि कृषक चिन्तामा पर्न थालेका छन् । कमलानदीको कटानबाट दुधौली गाविसको नर्कटे र जीतपुरको गरी दुई सयभन्दा बढी कृषक असुरक्षित छन् । कमला नदीको कटानबाट वर्षेनी हत्पते, रानीवास, निपाने, हर्षाही, टाडी, सिथौली गाविस र कमलामाई नगरपालिका १० देखि १८ वडा सम्मका कृषक चिन्ताग्रस्त छन् । चीनसँगको सिमानामा रसुवागढीमा भीषण वर्षासँगै केरुङतर्फ जाने मालवाहक कन्टेनरहरु उच्च जोखिममा परेका थिए । बैतडी जिल्लाको पाटन पञ्चेश्वर, दुदिलखान गाँजरी, विप्याकटाल–ढुंगाड, ढोल्चामडा–हाट, गोकुलेश्वर–१ वागावगर बाढी पहिरोले प्रभावित भएका छन् । मदन भण्डारी राजमार्गमा पर्ने हेटौडा , कुलेखानी सडक पनि प्रभावित बन्यो । हुम्ला जिल्लाको सदरमुकाम देखि दक्षिणी भेगमा पर्ने कालिका र मैला गाविसमा एक्कासी परेको अविरल वर्षाले उव्जा र घर, चौपाया माथि क्षति पुगेको छ । वाग्लुङ जिल्लाको लेवाङ खोला जुगाखोला, विडलीखोला गुमाखोला, जुग्जा खोलामा आएको बाढीले जनधनमा क्षति पुरयाएको छ । प्युठान जिल्लाको उत्तरी गाविस रजवारामा पहिरोमा परी एकै परिवारका ५ जनाको मृत्यु भएको छ । यसैगरी पुजा ३ मा पनि ३ जनाको मृत्यु भएको छ । प्युठानकै बेरौला गाविसमा पर्ने झिमरुक नदीको वीचमा परेर कामदारहरु फसेर उद्धार गर्नुपरयो । गोरखा जिल्लाको उत्तरी भेग करौजा गाविसमा बाटो खोल्न पुगेका स्थानीयलाई पहिरोले पुरे पछि उद्धार गरी हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो । पहिरोले गोरखामा ११ जनाको मृत्यु भैसकेको छ । दार्चुलामा बाढी पहिरोले २९ घरमा पूर्णक्षति पुगेको छ र २५ घर जोखिममा परेका छन् । वाढी पहिरोमा परी ५७ पशुचौपाया मरेका छन् । दार्चुलामा भारतसँग सीमा जोडिएको जौलजीवि प्रहरी चौकी र लाली चौकी पहिरोका कारण उच्च जोखिममा परेका छन । धादिङको रि गाविसमा पर्ने चेप्राङ वस्ति चारैतिरको पहिरोको जोखिममा परेर सेनाको विपद तथा उद्धार टोलीले सकुशल उद्धार गरेको छ । पर्वत, स्याङजा र गुल्मीको सीमानामा पर्ने विश्वकै ठुलो सालिग्राम सिला अवस्थित पर्वतका सेतीवेणिका वासिन्दा त्रस्त बनेका छन् । कालिगण्डकी ए जलविद्युत् आयोजनाको बाधका कारण बाढी आउँदा डुवानमा पर्ने त्राशमा छन् । विगत ६ वर्ष अघि २०६६ असोजमा कालीगण्डकी र सेतीखोलो उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित भएका थिए, त्यही पुनरावृत्त हुने त्राशमा सधै हुन्छन् । जाजरकोटको लहँ गाविस–४ स्थित एक प्रावि भवन वाढीले बगाउनुको साथै स्थानीय वासिन्दाको घर खेत बगाइदिएको छ ।

बझाङ जिल्लाको सदरमुकाम चैनपुर नजिकै बाहुली खोलामा भिषण बाढी आएर सदरमुकामको अधिकांश भाग जोखिममा परेको छ । बाहुली खोलामा तीस वर्ष पछि भिषण वाढी आएको स्थानीय जनता बताउँछन् । सदरमुकाम नजिकैको पुलबाट ३२ वटा गाविसका जनता आवतजावत गर्थे । पुल आसपासमा रहेका टहराहरु बगाएकोछ । नजिकैको सिमखेत वजारका एक सयभन्दा बढी घर जोखिममा परेका छन् । केही सरकारी कार्यालयहरु पनि जोखिममा परेका छन् । रुपन्देही जिल्लाका केही भाग र उदयपुर त्रियुगा नगरपालिकाको विभिन्न ठाउँमा एवं मकवानपुरको दाउन्नेमा अविरल वर्षातले प्रभावित तुल्याएको छ । लगातारको वर्षातले झरही खोलामा आएको बाढीले नवलपरासीको सदरमुकाम परासीबजार डुवानमा परेको छ । परासीबजारको मुख्य क्षेत्र बुद्धचोकमा चारफीट भन्दा बढी पानी परेको छ । झरही खोलाले आफ्नो नियमित वहाव छाडेर रामग्राम २ सहवाटिकरबाट पसेको बाढीले समस्या बढाएको छ । कतिपय वासिन्दा छतछतमा छन् । नवलपरासीका सुनवल र वर्दघाट क्षेत्रका गाउ समेत डुवानमा परेका छन् । कास्कीको भदौरे तामागी ५ ठुलाखेतमा रहेको खहरे खोलाले पुलको पिलर नै बगाउँदा तामागी, चापाकोट र कास्कीकोटका वासिन्दा समस्यामा परेका छन् । कन्चनपुरको वेलडाडी नगरपालिका क्षेत्रभएर बग्ने चौधर खोलाले नगरपालिकाको इमलियादेखि झिलमिला क्षेत्रमा जग्गा कटानी तिव्ररुपमा भएको छ । म्याग्दिको ओखरबोट धान्द्रुङका बासिन्दा पहिरो र कटानको जोखिममा परेको छ । मुगु जिल्लाको माग्री–१ चिमाथको जंगलमा पहिरो जाँदा भेडाबाख्रा चराएर फर्कदै गरेका माग्री चिमातका २०० बढी भेडाबाख्रा र गोठालो पहिरोमा परी वेपत्ता भएका छन् । मुगुको पापुखोला, चिमातखोला , च्याप्ने खोला लगायतबाट पीडित भएका छन् । महोत्तरीमा लगातारको वर्षातले जलेश्वर कारागारमा कैदीको वेहाल भएको छ । कैदी थुनुवा कक्षका खाना पकाउने र बस्ने सुत्ने ठाउँमा नगरका ढलबाट बगेर आएको फोहोर जम्मा हुँदा कैदीहरु संकटग्रस्त भएका छन् । जलेश्वर जेल वि.सं. १९१३ मा बनेको हो ।

व्यवस्थपिका संसदमा केही दिन अघि तत्कालिन गृहमन्त्रीले २०७३ वैशाख १ देखि यसबेला सम्म मुलुकभर २१२ भन्दा बढी प्राकृतिक प्रकोपका घटनाबाट १४७ को मृत्यु, १६ वेपत्ता, ५७ घाइते भएको जनाएका थिए । ११४ वटा चट्याङबाट ६२ जनाको मृत्यु, ४० जना घाइते, ३ वटा घरमा पूर्ण क्षति र ७ वटा घरमा आँशिक क्षति भएको छ । बाढीपहिरोले दोलखाको विभिन्न भेगमा हाहाकार मच्चिएको छ । पोखराको गर्भबाट बग्ने सेती नदीको उद्गस्थल रहेको अन्नपूर्ण, माछापुच्छ्रे लगायत हिमाल तथा त्यसको काखमा अवस्थित हिमतालका कारण कास्कीका सिक्लेस गाविस सहित पोखरा र दमौली सम्मको क्षेत्र कुनै पनि वेला ध्वस्त हुन सक्ने चेतावनी भूगोलविदहरुको छ । कास्की पार्चे गाविसको सिरानमा रहेको गोप्चे (वहपुचे) हिमतालको काख र मादी नदी माथि रहेको हिमताल समुन्द्री सतहदेखी साढे दुइहजार मिटर उचाइमा अवस्थित सबैभन्दा कम उचाइको हिमताल हो । अन्नपूर्ण दोश्रो र लमजुङ हिमालको फेदमा पर्ने गोप्चे हिमताल १६ वर्ष अगाडि उत्पती भएको हो र आकार र क्युसेक पानी बढीरहेछ, तसर्थ फुट्ने सम्भावना बढेको छ । फुटेमा हिम सुनामी आएर पोखरा उपत्यकाको विभिन्न वस्ती जोखिममा पर्ने सम्भावना छ । यसप्रकार देशभर अवविरल वर्षातका कारण पहाडमा बाढी पहिरो र तराईमा डुवान बढेको छ । भारतको उत्तराखण्ड उत्तरप्रदेश, अरुणाञ्चल प्रदेशमा अविरल वर्षातका कारण प्राकृतिक विपति परेको छ । आपत विपत परेर भारतीय सेनाले उद्धार गरीरहेछ । चीनमा पनि अविरल वर्षाले प्राकृतिक विपत्ति निम्त्याएको छ । चीनको दक्षिणपश्चिमी प्रान्त गुइजोमा पहिरोले वस्ति पुरेको छ । । चीन, भारत, पाकिस्तानमा भारी वर्षा र पहिरो जस्ता दैवी प्रकोपबाट वर्षेनी हजारौँ जनताको ज्यान जाने र अरबौंको भौतिक सम्पत्ति नाश हुने गरेको छ । नेपालमा वर्षातकालमा सधै यस्तै विपत्ति पर्दै आएको छ ।

प्रकासित मिति ९ श्रावण २०७३

फेसबुकबाट तपाईको प्रतिक्रिया