पहिरो जाँदा पूर्वी इलाममा नौ घरपरिवार पूर्णरूपमा विस्थापित

काठमाडौँ २५ साउन
इलाम-एकसाता अघि परेको वर्षाका कारण पहिरो जाँदा पूर्वी इलामको इरौटार र जिर्मले गाविसका नौ परिवार पूर्णरूपमा विस्थापित भएका छन्। जिर्मले–५ को ठूलो खोलाको पहिरोले छ परिवार विस्थापित भएका छन्। विस्थापित हुनेमा अमृतमान राई, भीमकुमारी राई, अमृता राई, भुपेन राई, देवी सापकोटा र विक्रम राईको परिवार रहेका छन्।
पहिरोको बीचबाट मूल फुटेर पानी बगिरहेको स्थानीय गोविन्द पौडेलले जानकारी दिए। पहिरोबाट अमरबहादुर राई, भक्तलाल राई, रमेश राई, उमेश राई, कुलबहादुर राई, टेकबहादुर खड्का, सञ्जीव राईका घर जोखिममा परेका छन्। इरौटार–३ मा गएको पहिरोले भीमबहादुर मगर, बलबहादुर मगर र यामबहादुर मगरका परिवार विस्थापित भएका छन्। इरौटारको पहिरोबाट पनि लेदो निस्किरहेको छ।
पहिरो गएको आसपास र माथिल्लो क्षेत्र पनि चिरा परेकाले पहिरो पुनः जाने सम्भावना रहेको बताइएको छ। पहिरोबाट धनराज मगर, ठालुमान बस्नेत, टेकबहादुर मगर, टङ्क बस्नेत, दिलबहादुर राई र भुवन बस्नेतका घर जोखिममा परेका हुन्। विस्थापित परिवार आफन्तकामा शरण लिएर बसेका छन्। पहिरोग्रस्त क्षेत्रमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसहितको टोलीले स्थलगत अनुगमन गरेर पहिरो आसपासमा नबस्न आह्वान समेत गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया