पहिरो जादा प्यूठानमा थप सात जनाको मृत्यु
काठमाडौँ १२ साउन
प्यूठान- अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण प्यूठानमा बुधबार थप सात जनाको मृत्यु भएको छ। मंगलबार राति फोप्ली– ६ सीमामा– पाँच घर पहिरोले बगाउँदा सात जनाको मृत्यु भएको हो। घटनामा परी नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य हरिबहादुर केसीसहित उनको श्रीमती विन्दु केसीको मृत्यु भएको छ।
त्यस्तै, घटनामा परी नारायण केसीको मृत्यु भएको छ भने उनकी श्रीमती नानुमैया केसीको उद्धार गरिएको छ। घर माथिबाट आएको पहिरोले घर बगाउँदा दोणबहादुर केसी र उनकी श्रीमती पवित्रा केसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा परी जाहेश्वर बुढाथोकी र उनकी श्रीमती पिमा बुढाथोकीको पनि मृत्यु भएको छ।
त्यस्तै, फोप्ली–३ मा मङ्गलबार बेपत्ता भएका खस्की पुन, रक्षानी पुन, सेतुमा पुन, शेरबहादुर पुन, कुमारी पुन र टुकमला पुनसहित १३ जना अझै बेपत्ता रहेका छन्। उनीहरुको नेपाली सेवा, नेपाल प्रहरी तथा स्थानीयवासीको सक्रियतामा खोजीकार्य जारी राखिएको छ।
यसैबीच, जिल्लास्तरबाट उद्धार तथा राहतका लागि प्रभावकारी भूमिका नभएको भन्दै जिल्लास्थित सरोकारवाला तथा राजनीतिक दलले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन्। बुधबार बिहान सम्पन्न भएको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकमा दलले संयुक्त रुपमा प्रभावकारी उद्धार नभएको भन्दै सामूहिक ध्यानाकर्षण गराएको नेपाली काँग्रेस प्यूठानका सचिव देवेन्द्र वर्माले जानकारी दिए।
त्यस्तै जिल्ला दैवी प्रकोप उद्धार समितिले जिल्लामा उद्धार तथा खोजकार्य प्रभावकारी बनाउनका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ।
जिल्लामा महाविपत्तिनै आएको भन्दै समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनकराज पन्थले जिल्लामा उद्धार तथा खोजका लागि नेपाली सेवा, नेपाल प्रहरी लगायतको पहिचालन प्रभावकारी बनाइएको बताए। जिल्लाको उत्तरी क्षेत्रमा यातायात र प्रभावकारी सञ्चारको अभावमा समस्या समेत भएको बताइएको छ। बिहान सम्पन्न भएको समिति बैठकले जिल्लामा हाल दिँदै आएको तीन हजार राहत रकमलाई वृद्धि गरी पाँच हजार वितरण गर्ने समेत निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। त्यस्तै प्यूठानमा हालसम्म मृत्यु हुनेको सङ्ख्या २१ जना पुगेको छ। रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया