पाथीभरा केबुलकारको विषयलाई लिएर ग्लोबल आईएमई बैंकमाथि प्रहार हुनु गलत : राष्ट्र बैंक

काठमाडौ २४ माघ २०८१ । नेपाल राष्ट्र बैंकले पाथीभरा केबुलकारको विषयलाई लिएर ग्लोबल आईएमई बैंकमाथि प्रहार हुनु गलत भएको जनाएको छ । बिहीबार सामाजिक सञ्जालमार्फत नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेलले व्यक्तिगत विषयमा राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त बैंकलाई जोड्नु गलत भएको बताएका हुन् ।


‘पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’ वर्गको वाणिज्य बैंक, ग्लोबल आईएमई बैंकमाथि गरिएको प्रहार गलत हो, कसैको उक्साहटमा त्यस्ता उच्छृङ्खल गतिविधिमा संलग्न नहुँदा राम्रो’, उनले लेखेका छन् । अहिले पाथीभरा केबुलकारको विरोधमा रहेको समूहले सामाजिक सञ्जालमार्फत ग्लोबल आईएमई बैंकको खाता बन्द गर्ने, पैसा झिक्न भन्दै अभियान चलाइरहेका छन् । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालको लगानी भएको भन्ने आधारमा बैंकमाथि नै सामाजिक सञ्जालमार्फत अभियान चलाइएको सन्दर्भमा राष्ट्र बैंकबाट यस्तो प्रतिक्रिया आएको हो ।


यसैबीच केबलकार निर्माणविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका सबै जना रिहा भएका छन् । माघ १२ मा पाथीभरा क्षेत्रको बलुडाँडा र त्यसपछि झापाको दमक तथा सुनसरीमा भएको प्रदर्शनमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो ।
अभद्र व्यवहार सम्बन्धी कसुरमा थुनामा रहेकाहरूलाई जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार रिहा गरिएको हो । ताप्लेजुङबाट ३, झापा दमकबाट ८ जना र धरानबाट ६ जना रिहा भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया