पानीमा रुझेरै दर्शक र कलाकारले मनाए तीज

चितवन ९ भाद्र 

उकालीमा जाँदा जाँदै दाहिने प¥यो बर
मायाँ कता प¥यो घर
बस चिनाजानी गर
किन हुन्छौँ पर पर
मरिलानु के छ र।।।

चकलेटी नायक सलोन बस्नेतले मञ्चमा चढेर चलचित्र ‘ए मेरो हजुर २’ को उक्त चर्चित गीत गाउनेवित्तीकै तीजका दर्शकले उनलाई मच्ची मच्ची साथ दिए ।

चलचित्रका निर्देशक झरना थापासहित अन्य कलाकारहरु नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक सलिनमान बनियाँ, निर्माता सुनिल थापाले नाचेर साथ दिए । कलाकार एक्कासि मञ्चमा झुल्ँिकदा दर्शकलाई फिल्म हल पुगे झैँ भयो ।

पानीमा रुझेरै दर्शक र कलाकारले चितवनको खैरहनीमा तीज मनाएका थिए । बिहीबार यसरी उनीहरुलाई जमघट गराएको थियो स्थानीय ग्रेट एफएमको तीज उत्सवले ।

स्केच बनाउने आइडिया तेरो, गलत
पोखरा आउने आइडिया तेरो, गलत
बाटोमा लिफ्ट नदेऊ भनेको थिएँ, दियौ गलत

नवनायक सलिनमानले यसरी फिल्मको संवाद प्रस्तुत गर्दा दर्शकले तालीले साथ दिए भने हुटिङले थप रौनक दियो ।

नायिका सामाज्ञीसँग सलिनमानले अर्को रमाइलो संवाद यसरी भने ।

आर यू फलोइङ मी,
जे तिमी सोच्छौ
मलाई कसैले फलो गरेको मन पर्दैन
तर मलाई मनपर्छ, जब तिमीजस्तो गर्जियस लेडिज अगाडि आउँछौ ।

यही भदौ १६ देखि उक्त चलचित्र प्रदर्शनमा आउन लागेकाले पनि कलाकारले प्रचार गर्ने महत्वपूर्ण अवसर पाएका थिए ।

मन दिन्छु मुटु दिन्छु।
फेरि पनि सास दिन्छु ।।।

यो गीत गाएर पनि उनीहरुले दर्शकलाई नचाए । अन्य रमाइला संवादले दर्शकलाई चलचित्र हेरेकै आभास दिए ।

निर्देशक झरना थापाले भन्नुभयो, “यो रातो टीका, रातो सारी, हरियो चुरा र छड्के तिलहरी दिदी बैनीसँग सधैँ रहिरहोस् ।”

‘ए मेरो हजुर’का कलाकार छुट्न नपाउँदै फेरि चलचित्र ‘छक्कापञ्जा २’ को अर्को टोली तीज उत्सवको मञ्चमा उक्लियो । अभिनेता तथा निर्माता दीपकराज गिरी र नायिका प्रियंका कार्की तीजको रमझममा सामेल हुँदा दर्शक दीर्घा थप चलायमान भयो ।

स्वयंसेवकलाई दर्शक व्यवस्थापन गर्नै हम्मे हम्मे प¥यो । दसैँ केन्द्रित गरी असोज ११ गतेदेखि प्रदर्शनको तयारीमा रहेको ‘छक्कापञ्जा २’ को टोलीले तीजको उत्सवमा दर्शकमाझ प्रचार गर्न भ्याए । यसरी तीज उत्सवमा कलाकार आइपुग्दा तीज उत्सव थप आकर्षक बनेको रेडियोका अध्यक्ष बालकृष्ण अर्याल बताउनुहुन्छ । दर्शकहरुले कलाकारसँग सेल्फी खिचे । कलाकारले पनि सामूहिक र एक्लाएक्लै दर्शकसँग सेल्फी लिए । झमझम पानी परेपनि छाता ओढेरै दर्शक र कलाकारले तीज मनाए ।

यसपालिको तीज उत्सव कलाकारमय हुँदा दर्शकले थप मनोरञ्जन लिन सफल भएको एफएमका कार्यक्रम संयोजक अनिल कुँवर बताउनुहुन्छ । तीज उत्सवमा रमाउने, नाच्ने र गाउनेको छुट्टै माहोल नै थियो । कलाकारसँगै स्थानीय गायक–गायिकाका बेजोड प्रस्तुतिमा दर्शक मजैले झुमेका थिए ।

“यसपालि पनि ‘छक्कापञ्जा–२’ लिएर आएका छौँ,” नायिका प्रियंका कार्कीले दर्शकसँग भन्नुभो । उहाँले दर्शकलाई हेर्न आग्रह गर्दा उनीहरुले हेर्ने बाचा गरे ।

उनीहरु आइपुग्दा पानी पर्न थाल्यो । दीपकराज गिरी र प्रियंका कार्की मञ्चमै छाता ओढेर कार्यक्रममा सहभागी हुनुभएको थियो ।

कार्यक्रममा कलाकार दीपकराज गिरीले भन्नुभयो, “व्रत बस्नेलाई पनि शुभकामना,” “तीन थाल खाएर बस्नेलाई पनि शुभकामना १” फिल्महल पुगेझैँ भएका कलाकारसँगै तीज मनाउन पाउँदा ज्यादै रमाइलो भएको स्थानीयवासी बबिता शर्माले बताउनुभयो ।

सो क्रममा एफएमले नागरिक दैनिककी पत्रकार चाँदनी हमाललाई नगद रु पाँच हजारसहित कदरपत्रले सम्मान ग¥यो । स्थानीय पत्रकारितालाई राष्ट्रियस्तरसम्म पु¥याउन योगदान दिएको एफएमले पाँचौँ तीज उत्सव संस्करणमा हमाललाई बिहीबार सम्मानसहित पुरस्कृत गरेको जनाएको छ ।

पत्रकार हमालले यसअघि उमासिंह पत्रकारिता पुरस्कार, राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार, राष्ट्रिय कृषि पत्रकारिता पुरस्कार, सूचनाको हक प्रयोग गरेर खोजमूलक समाचार लेखेबापत पत्रकार महासङ्घबाट उत्कृष्ट पत्रकारिता पुरस्कारलगायत एक दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान पाइसक्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया