पानी जहाज प्रारम्भिक चरणमै : कुरा धेरै काम शुन्य !

काठमाडौं २९ पौष

तीन वर्षअघि प्रधानमन्त्री हुँदा र गत वर्ष पुनः प्रधानमन्त्री बनेपछि केपी शर्मा ओलीले नेपालमै पानीजहाज सञ्चालन गर्ने भन्दै महत्वाकांक्षी योजना अघि सारे । गत असार १५ मा संसद् बैठकमा उनले पुस १५ वा १६ गतेसम्म पानीजहाज चल्ने ठोकुवा गर्दै टिकट काट्न तयार रहन पनि आह्वान गरे । पानीजहाजप्रति व्यंग्य गर्नेहरूलाई जवाफस्वरुप उनले यसो भनेका थिए ।

सार्वोभौम जनताका प्रतिनिधिहरूको साझा थलो संसद्मा बोलेको प्रधानमन्त्रीको मन्तव्य सम्झँदै गत साता सार्वजनिक रूपमै मजाकका रूपमा उडाइयो । प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले बिनाअध्ययन र बिनातयारी सस्तो लोकप्रियताका लागि बोल्दा अहिले आफैं व्यंग्यको शिकार हुनुपरिरहेको छ ।

प्राविधिक रूपमा नेपालमा पानीजहाज सञ्चालन असम्भव छैन तर पानीजहाजबारे स्वयं प्रधानमन्त्रीको पहलकदमीको अभाव र यसका लागि सार्थक प्रयास नहुँदा अझै पानीजहाजको काम प्रारम्भिक चरणमा छ । सरकारी अधिकारीहरूको भनाइमा अझै पनि पानीजहाज चलाउनका लागि प्रारम्भिक काम अघि बढेका छैनन् । नेपाल पानीजहाज ऐन २०२७ मा यसका लागि नेपालमा पानीजहाज कार्यालय स्थापना गर्ने उल्लेख छ तर हालसम्म आधारभूत रूपमा आवश्यक कार्यालय स्थापना हुन सकेको छैन ।

नेपाल र भारतबीच जल यातायात सञ्चालनका लागि दुई देशको व्यापार तथा पारवहान सन्धिमा संशोधन आवश्यक छ । पानीजहाजमा सामान र मानिस ओहोरदोहोरका लागि पोर्ट र रुटहरूको छनोट गरी उपयोगका लागि यो आवश्यक छ । हालसम्म यसमा कुनै संशोधन भएको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भारतबाट नारायणी, कोसी र गण्डकीमा जोड्ने गरी जलमार्गको सम्भावना प्राविधिक रूपमा रहेपनि यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छैन ।
कारोबारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया