पिण्डेश्वर बोलबम धार्मिक तीर्थयात्रा प्रारम्भ

इटहरी,  २ साउन  ।

साउन महिनाको पहिलो सोमबार आज प्राचीन हरिद्वार शिवालयका प्रतीकका रुपमा मानिँदै आएको धरान विजयपुर धार्मिक तीर्थभूमि रुद्राक्षाराण्य तपोभूमि पिण्डेश्वरमा बिहानैदेखि हजारौँ भक्तजनले जल अर्पण गरेर भगवान् शिवको पूजापाठ गरिरहेका छन् ।

रुद्राक्षाराण्य तपोभूमि पिण्डेश्वर शिवालय क्षेत्रमा बिहान ४ बजेदेखि नै बराहक्षेत्र चतराधाम कौशिकी तटबाट स्नान गरी शुद्ध भएर जल उठाई बोलबमको नारा लगाउँदै डाक बम र बोलबम बनेर पहेँलो वस्त्रधारी भक्तजनले खाली खुट्टा पैदल हिँडेर पिण्डेश्वर विशालयमा जल अर्पण गर्ने कार्य भइरहेको छ ।

हरेक साउन महिनाको सोमबारका दिन बराहक्षेत्र तथा धार्मिक तीर्थस्थल चतरा कौशिकी तट सप्तकोशी नदीमा स्नान गरी जल उठाएर ल्याई पिण्डेश्वर शिवालयमा अर्पण गरी भक्तिपूर्वक पूजा–आरधना गर्नाले मनले चिताएको पुग्ने धार्मिक विश्वास रहेकाले भक्तजन पिण्डेश्वर शिवालयमा गई जल अर्पणका लागि भिडभाड लाग्ने गरेको पाइन्छ ।

पिण्डेश्वर शिवालयमा जल अर्पणका लागि पहेँलो वस्त्रधारी भक्तजनलाई जल चढाउने पालोका लागि बोलबम व्यवस्थापन समितिले लामबद्ध बसाएर पूजापाठ र जल अर्पण गर्ने पालो मिलाएकाले सबै भक्तजनले चाँडो पूजापाठको अवसर पाइरहेको भक्तजनले बताएका छन् ।
‘बोलबमको नाराले सुख पाउँछन् साराले’ भन्ने नारा लगाउँदै पिण्डेश्वर शिवालय मन्दिरमा पुग्ने पहँेलो वस्त्रधारी बोलबम तीर्थयात्रीको स्वास्थ्य सेवाका लागि चिकित्सकको टोलीसमेत परिचालन गरेको बोलबम व्यवस्थापन समितिका सचिव जयन्त गौतमले जानकारी दिनुभयो । बिहानदेखि हजारौँ बोलबमको नारा लगाउँदै पिण्डेश्वर शिवालय मन्दिरमा आइपुगेकाले उनीहरुलाई व्यवस्थित तरिकाले मन्दिर प्रवेश अवसर मिलाउन रातिदेखि नै स्वयम्सेवक सक्रिय रहेका र उनीहरुले बोलबम तीर्थयात्रीलाई पानी–सर्वत लगायतका पिउने व्यवस्था गरिरहेको पनि सचिव गौतमले बताउनुभयो ।

यो वर्ष विगत वर्षको तुलनामा धेरै भक्तजन आउने अपेक्षा गरिएको छ । पिण्डेश्वर शिवालयबाहेक अन्य स्थानमा रहेका शिवालयमा पनि बिहानैदेखि हिन्दू नरनारी हातमा जलघडा बोकेर जल अर्पणसँगै बेलपत्र, धतुरोको फूल र दाना, गाईको दूध, मह घिउ आदि वस्तु समेत चढाउनेको घुइँचो लागिरहेको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया