पुष्पलाल र मदन भण्डारीको सत्संगतमा पत्रकारिता गरेको मैले बनारसमा कयौँ रात भोकै बिताएँ
चक्रपाणी नेपाल–वरिष्ठ पत्रकार
१) पत्रकारितामा यहाँ कसरी प्रवेश गर्नुभयो । पुराना अतितहरु हामीलाई शेयर गर्नुहुन्छ की ?
बि.स.२०२८ सालमा राजनीतिशास्त्रमा मैले बीए पास गरे । ०२८ बाटै नेपालमा नयाँ राजनीतिक आन्दोलन थालनी भयो झापाबाट । त्यसले हामी युवा विधार्थीहरुलाई प्रभाव नपार्ने कुरा थिएन । त्यसैको प्रभावमा परेर त्यतिबेला झापा मोरङ झरेँ म । मोरङ झरिसकेपछी ०२९ सालमा तात्कालिन मालेका नेता मदन भण्डारीसँग मेरो भेट भयो । मैले पनि त्यस्तो मान्छे खोजेको थिँए, उहाँले पनि म जस्तै मान्छे खोज्नु भएको रहेछ । अनि उहाँसँग सहकार्य गरेर पहिला त राजनीति सुरु गरेँ । जुनबेला झापा आन्दोलन चलिरहेको थियो । त्यसपछी ०३० को दशकबाट उहाँले पार्टी राजनीति सँगसँगै तपाइ अलिकति लेख्न–पढ्न सक्ने, कलम बसेको मान्छे हुनुहुँदो रहेछ पत्रकारितामा लाग्नुपर्छ भनेर मलाई भन्नुभयो । त्यही अनुसार म विराटनगरमा ‘दैनिक कोशेली’ भन्ने पत्रिका थियो कुमार बहादुर श्रेष्ठको । त्यसबाट मेरो पत्रकारिता यात्रा सुरु भयो । त्यसैगरी ‘जनबार्ता’ भन्ने अर्को दैनिक पत्रिका थियो त्यहाँ । मैलै ती दुई पत्रिकाहरुबाट पत्रकारिता यात्रा थालेँ ।
२) त्यो बेलाको पत्रकारिताको अवस्था कस्तो थियो त ? कसरी निस्कन्थे पत्रिकाहरु ?
त्यो बेलाको पत्रकारिता ज्याली पत्रकारिता भन्छु म । अहिले तपाईहरुको पुस्तालाई त ज्याली पत्रकारिताको विषयमा थाहा पनि छैन । अनुभव पनि छैन । एउटा एउटा अक्षर जम्मा गरेर, कम्पोज गरेर त्यसलाई लिफोबाट ज्यालीमा कसेर लगेर मेसिनमा हाल्नुपथ्र्यो र पत्रिका निस्कन्थ्यो । त्यो बेला दायाँ–बाँया अलिकति पनि छिस्स् गल्ती भयो भने प्रशासनको कोप्भाजनमा पर्नुपथ्र्यो । त्यस्ता कयौं बयान, कयौं हिरासत भोग्दै आयौं हामी । हुदैहुदै गरेर त्यो झापा आन्दोलनपछी राजनीतिक कोअर्डिनेशन कमिटी गठन भयो । त्यो कमिटिसँग पनि म संग्लन रहँदै–रहँदै झापा, मोरङ, सुनसरी, सप्तरी, तेरथुम, धनकुटा लगायत जिल्लाहरुमा भुमिगत संगठन निर्माणमा लागियो । मेरो चाँही के भने हाइस्कुल पढ्दाखेरी नै तपाइले नाम सुन्नु भएकै होला बासु शाक्य भन्ने हुनुहुन्थ्यो । जो अहिले स्वर्गबास भइसक्नु भयो । उहाँसँग मेरो हाइस्कुलदेखि नै सम्बन्ध भएको हुनाले मेरो बामपन्थी विचारधाराको गुरु पनि उहाँ नै हो । त्यसरी मैले पेपर पोलटिक्स र पिपुल पोलिटिक्स सँगसँगै गरेँ ०४६ अघिसम्म । त्यो बीचमा कतिपय कुरामा अञ्चल निस्काशन हुनुपर्थो ।
मेरो सक्रिय पत्रकारिताबीच एकपट कुनैवेला रुसमा चर्नबील दुर्घटना भएको थियो । एउटा आँणबिक भट्टी दुर्घटना भएको थियो । त्यसको नजिकै एउटा पाउडर दुधको कारखाना थियो । अनि त्यो विकिरण त्यो पाउडर दुधमा पनि गएर असर गरेको थियो । नेपालमा त्यसवेला मरिचमान श्रेष्ठ प्रधानमन्त्री थिए । कुनै एकजनाले (मैले नाम बिर्सिएँ ) त्यो पाउडर दुध सस्तो पाउने भएर उनीबाट सिफारिस गरेर ल्यायो हाम्रो डिडिसिमा । त्यो मैले चाल पाएर बेलाको प्रकाश साप्ताहिकमा लेखँे । ‘प्रकाश साप्ताहिक’ जागृति प्रसाद भेटवालको सम्पादनमा निस्कन्थ्यो । त्यो खबर बाहिर आइसक्नासाथ सारा हल्ला भयो । मान्छेले बहिस्कार गरे त्यो दुधको । कालो चिया खान थाले । त्यसको दुइ तीन दिन पछाडी म भृकुटीमण्डपमा हिँड्दै गर्दा मलाई पुलिसले झ्याप्प समातेर धादिङमा लगेर ३१ दिनसम्म हिरासतमा राख्यो । चरम यातना दियो । धादिङबेसी नजिकै रहेको थपड खोलोमा राती १० बजेपछी पुलिसले कालो कम्बल त्यो खोलोमा चोबेर ल्याएर त्यसैमा मलाई घोप्टो पारेर सुताएर गर्दनदेखि तलसम्म बुटले मालिस गथ्र्थो । त्यसरी ३१ दिनसम्म हिरासतमा बसिसकेपछी अन्तिममा म बागमती अञ्चल निस्काशनको पत्रमा सही गरेर मलाई मलेखु छोडे । त्यसपछी म जनकपुर गएँ । जनकपुरमा लेखनाथ जीको नयाँ पाइलो भन्ने पत्रिका थियो । उहाँसँग मेरो पहिलादेखि चिनजान थियो । त्यहाँ म तीन बर्ष बसेर काम गरेँ ।
अर्को घटना पनि मलाई याद आयो । त्यही बेला म बनारस पनि आइ जाइ गरिरहने हुँदा पुष्पलालजी, मोदनाथजी, जीवराज आश्रितजी, बलराम उपाध्यायसँग मेरो राम्रो सम्बन्ध भएको हुनाले बनारस आइजाइ गरिरहन्थे । बनारस आउँदा एक रात पट्नामा बस्ने गरिन्थ्यो । पट्नामा पनि ‘जनमत’ भन्ने लेफ्ट पत्रिका थियो । त्यहाँका साथीहरुसँगको राम्रो सम्बन्ध थियो । अनि फेरी के भइदियो भने ‘नागभुषण पटना एक’ भन्ने जो मान्छे भारतीय कम्युनिष्ट पार्टीको खुँङखार नेता हुनुहुन्थ्यो । उहाँ पनि जेलबाट रिहाइ भएर पट्नामा एउटा संगठन खोलेका थिए । त्यहाँको गान्धी मैदनमा ‘नाग भुषण पटना एक’लाई हेर्ने मान्छेहरुको भिड यति लामो थियो । सायद त्यो भन्दा अघाडी त्यहाँ त्यति मान्छे जम्मा भएकै थिएनन् । उहाँबाट पनि म प्रभावित भएर तीन चार दिन म पटनामा बसेँ । त्यसबेला रामराजा सिंहहरु पनि पटनामै हुनुहुन्थ्यो । उहाँको एक जना कोही मान्छेले मलाई ‘ए देखि ए नेपालमा कुछ हुने वाला हे, देख ते रही हे’ भनेर मलाई सुक्ष्म एउटा सुचना दिएको थियो । त्यो सुचनाको आधारमा मैले पत्रिकामा ‘नेपालमा एउटा अनपेक्षित घटना छिट्टै हुँदैछ’ भनेर लेखेँ । त्यो लेखेर पत्रिका बजारमा आएको १३ औं दिन काठमाण्डौको सिंहदरबार लगायत राजदरबार जहाँतहँी बम पड्कियो । त्यसवेला राजाको क्षेत्रिय भ्रमण ठाउँ ठाउँमा हुन्थ्यो । राजाको भ्रमण हेटौडामा थियो वीरेन्द्रको । त्यसबेला त अञ्चलाधिशको जमानाको कुरा । त्यो पत्रकारलाई खोजेर ल्याउनु पर्छ भनियो । अहिले जस्तो होइन त्यो वेला कहाँ कसले के निकालेको सबै थाहा हुन्थ्यो ।
लक्ष्य बहादुर गुरुङ भन्ने अञ्चलाधिश थिए । अनि यसलाई त जहाँबाट भए पनि ल्याएर फाँसी दिनुपर्छ त्यस्तो लेख्ने हो यसले भनेर मलाई खोजिरहेका थिए । म धनुषाका पुराना कम्युनिष्ट नेता पाण्डबराज भन्ने हुनुहुन्थ्यो । उहाँको सहयोगमा मैले धनुषा राजमार्ग उत्तरको चुरे क्षेत्रको ग्रामिण इलाकामा राजनीति पनि गर्ने र त्यतैको समाचार सम्प्रेषण गर्ने भनेर त्यता बसेँ । बम पड्किसकेको १५–२० दिनपछी अञ्चलाधिशले जसरी पनि मलाई ल्याउनु पर्छ भनेर पुलिसलाई भनेछ । यो हुने कुरा भइहाल्यो, म सही छु मेरो समाचार गलत छैन, जान्छु भनेर म गएँ । अञ्चलाधिसले ‘अरे हौ तँ ता गजबको रहेछस् नी पत्रकार’ भनेर त्यस्तो त्यस्तो कुरा कसरी चाल पाइस लु भन त मलाई भनेर भन्यो । अनि हेर्नुस् अञ्चलाधिश जी यो हाम्रो समाचारको सुत्र अदालतमा पनि दिनलाई हामी बाध्य हुन्नम । हाम्रा ऐनले व्यवस्था गरिदिएको छ । मैले लेखेको थिँए । त्यो सत्य सावित भइहाल्यो । अब यस्तै हो अरु कुरा गरौं भनेर भनेपछि ल ठिक छ यस्तै हो । राजसंस्था र देश प्रति घात हुने काम नहो्स,् लेख्न नछाड्नु, मैले चिनेँ तिमिलाई भनेर अञ्चलाधिशले मलाई धाप मोरेर विदा ग¥र्यो । साँच्चै भन्ने हो भने उसले मलाई त्यतिबेला बाटो खर्च पनि दिएको थियोे ५ सय रुपैयाँ ।
३) तपाइको पुष्पलाल र मण्डारीसँगको सतसंगत बारे पनि केही बताइ दिनुस् न ?
मदन भण्डारीसँगको घटनाको विषयमा त एउटा सिरिज नै छ । एउटा मात्रै तपाइलाई म भन्छु । छिन्ताङ काण्ड हामी धेरैलाई थाहा छ । छिन्ताङ काण्डको तश्रो दिन मदन भण्डारी र म धरानबाट धनकुटा हुदै पाख्रिबास आयौं । हामीलाई शंखुवासभाको चैनपुर आउनु पर्ने थियो । पाख्रिबासबाट हामी ओरालो लाग्नु पनि छिन्ताङ जाने गल्लीको बीचैमा पुलिसको ४०–५० जनाको जत्थासँग ठयाक्कै हाम्रो भेट भयो । मदन भण्डारीजी अलिकति हट्टा कट्टा मान्छे । कालोटोपी लगाउनु भएको । अब विताउने भयो भनेर म सोच्दै थिएँ मदन भण्डारीले ‘ओइ केटा हो स्थिीति के ठीक छ हैन त’ भनिसकेपछि सबै पुलिसका जवानहरुले ठीक छ सायब अहिलेसम्म भनेर स्यालुट हान्यो मदन भण्डारीलाई । अनि उनले जनधनको क्षतीलाई अब बढी हुन नदिने है भनेर पुलिसलाई भने र पुलिसले हस् सायब भनेर सलाम ठोकेर देब्रे पट्टी लाग्यो मुगा पट्टी । हामी हतार हतार साँङे झरेर तलबाट जीतपुर निस्केर आयौ । हामी घेरामा परिसकेको मान्छेलाई पनि मदन भण्डारीलाई पुलिसको अफिसर भनेर ठाने पुलिसले । उनको त्यो बडी ल्याङ्गोज र अभिब्यक्तिले गर्दाखेरी । कमाण्डीङ शैलीमा उनले भनेका थिए । यसरी मदन भण्डारीसँग हिँडने क्रममा पुलिसबाट बचिएको त्यो रोचक क्षण थियो ।
पुष्पलालको कुरा गर्दा उहाँ धेरै दुख गरेर बस्नु भयो बनारसमा । पैसा हुदैनथ्यो । उहाँ कसैसँग पैसा नमाग्ने । जे छ आफुसँग त्यही खाने । भएको कुरा सबै मान्छेलाई बाँडेर खाने । भिजाएको काँचो चना आठ आनामा किनेर त्यसमाथी नुन छर्केर त्यही चपाएर गंगाको पानी पिएर कयौं रात सुत्नुभयो उहाँ । त्यसबेला सिपीजी पनि बनारस नै जानु भएको थियो पार्टीमा मत मतान्तर भएकोले । बनारसमा दिनेश पन्थी भन्ने साथी हुनुहुन्थ्यो । उहाँ र म एकै कोठमा बस्थ्यौ । कहिले काँही सिपी जी पनि त्यही गएर बस्थे । बनारसका त्यसबेलाका हाम्रा कम्युनिष्ट पार्टीका साथीहरुको दुखका दीन त्यो मैले सबै देखेको छु । म पनि कयौं दिन त भोकै बसेको छु । तरकारी बजारमा गएर फ्याकेको तरकारी भेला गरेर ल्याएर धोइ पखाली गरेर दाल चामल जे–छ त्यसमा हालेर खाएर पनि कयांै दिन बिताइयो । दैनिक जागरण भन्ने पत्रिकामा मैले त बनारसमा पनि ६ महिना काम गरेको हुँ । त्यसले पनि मलाई राम्रै रेस्पोन्स गर्छ । यी याबत कुराहरु भनिसाध्य छैनन् ।
प्रस्तुती : रिसव गौतम
प्रकाशित मिति २०७५-५-१२
फेसबुकबाट तपाईको प्रतिक्रिया