पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल खण्ड विस्तारको कामको गति तीव्र हुँदै


काठमाडौं २१ माघ २०८१ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल खण्ड विस्तारको कामले तीव्रता पाएको छ । अहिले पूर्वीखण्डको विभिन्न १८ स्थानमा कालोपत्र गर्नेगरी काम भइरहेको छ । पूर्वीखण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये पुल र कल्भर्टको भाग करिब तीन किलोमिटर रहेको र अहिले गैँडाकोटबाट दाउन्नेसम्म ४० किलोमिटर एकतर्फी कालोपत्र भएको हो । दुई लेनतर्फ भएको सडकको कालोपत्रको गणना गर्दा भने करिब ६४ किमी सडक कालोपत्र भएको छ । अब करिब २२ किमी सडक कालोपत्र गरेको अवस्थामा नारायणघाटबाट दाउन्नेसम्म एक लेन सडकमा कालोपत्रको काम सकिने छ ।
सडक विस्तारका लागि ग्रेडर, लोडर, एक्साभेटरसहित १८ स्थानमा पाँच सय ५० जना श्रमिकले काम गरिरहेका छन् । यस खण्ड निर्माणको लागि ग्लोबल बोलपत्रमार्फत चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसन लिमिटेड’लाई ठेक्का परेको थियो ।
विसं २०७५ माघ २२ मा सरकार र निर्माण कम्पनीबीच विसं २०७९ साउन २२ भित्र काम सक्नेगरी ठेक्का सम्झौता भएको थियो ।

एक सय १४ किमी सडकलाई गैँडाकोट–दाउन्ने (६५ किलोमिटर) र दाउन्ने–बुटवल (४९ किमी ) गरी दुई खण्डमा विभाजन गरी आह्वान गरिएको बोलपत्रमा दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सनले पाएको थियो । विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलबाट दुवै खण्डको शिलान्यास गरेपछि सडक विस्तारको औपचारिक काम सुरु भएको थियो ।
निर्धारित समयमा एक चौथाइ पनि काम नसकेपछि पहिलो पटक २०८० साउन ८, दोस्रोपटक २०८१ साउन ८ सम्मका लागि म्याद थप गरिएको थियो । निर्माण कम्पनीले कोभिड, निर्माण सामग्रीको अभावलगायत विभिन्न समस्या देखाउँदै तीन पटकसम्म ठेक्का सम्झौताको म्याद थप गराएको छ । आगामी साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी सरकारले तेस्रो पटक म्याद थप गरेको छ ।

म्याद थप गरिएको चार महिना काम नै नगरी समय तिाएको निर्माण कम्पनीलाई सरकारले कारबाही गर्ने गरी पत्राचार गरेपछि डिसेम्बर २०२४ बाट पुनः काममा फर्किएको थियो । दुई लेनमा रहेको सडकलाई चार लेनमा विस्तार गरी दुई–दुई लेनको बीचमा ‘ग्रीनरी’ राखिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया