पोखरा विश्वविद्यालय भन्छ– हाम्रो र अमेरिकाको इन्जिनियरिङ पाठ्यक्रम उस्ताउस्तै

काठमाडौं ३० साउन २०८०।पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले काठमाडौंमा इन्जिनियरिङ अध्ययनका अवसर सम्बन्धी विशेष कार्यक्रम आयोजना गरेको छ ।पोखरा विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययनका अवसरबारे आयोजना गरिएको सोमबारको कार्यक्रम कक्षा १२ को अध्ययन सकेर बसेका विद्यार्थीको लागि लक्षित थियो ।कक्षा १२ को अध्ययन सकेर इन्जिनियरिङ विषय पढ्ने तयारी गरेर बसेका विद्यार्थीलाई उक्त विषयबारे थप जानकारी दिन कार्यक्रम आयोजना गरिएको पोखरा विश्वविद्यालयले जनाएको छ ।कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रममा हालैमात्र अमेरिकाको हावार्ड विश्वविद्यालयबाट अर्वन प्लानिङमा स्नातकोत्तर गरेर आएकी मिस नेपाल २०१८ तथा आर्किटेक्ट श्रृङ्खला खतिवडाको समेत उपस्थिति थियो ।

उनले आफ्नो अनुभवका साथै विश्वभर ईन्जिनियरिङ अध्ययनको अवस्था, यसबाट प्राप्त हुने अवसर र यस क्षेत्रका चुनौतीको बारेमा बताइन् । स्नातकोत्तर गरेलगत्तै नेपाल फर्किएकी खतिवडाले भविष्यका इन्जिनियर बन्न चाहनेहरुलाई नेपालमै प्रचुर सम्भावना रहेको उल्लेख गरिन् ।
साथै देशका लागि केही गर्न चाहने र देशमा उत्पन्न विभिन्न समस्याहरु समाधान गर्न चाहनेहरुका लागि इन्जिनियरिङ विषय उत्कृष्ट रहेको नेपाल ईन्जिनियरिङ कलेजका प्रिन्सिपल डा. हरिकृष्ण श्रेष्ठले बताए । उनले ईन्जिनियरिङमा नेपाल र अमेरिकाको पाठ्यक्रम उस्तैउस्तै रहेको समेत बताए ।


नेपाली विश्वविद्यालयहरुले प्रयोगात्मक विषयमा कम जोड दिने र बजारले मागेको सिप दिन नसेको हुँदा बजारमा काम पाउने गाह्रो भइरहेको अवस्थालाई मध्यनजर गर्दै पोखरा विश्वविद्यालयले पाठ्यक्रमलाई परिस्कृत गर्नुका सार्थै इन्टर्नसिपलाई समेत अनिवार्य गरेको छ । पहिलोपटक पोखरा विश्वविद्यालयले इन्जिनियरिङका सबै विषयका लागि तीन महिने इन्टर्नसिपको व्यवस्था गरेको हो ।‘हालैमात्र सबै इन्जिनियरिङ कार्यक्रमहरुको पाठ्यक्रमलाई रिभिजन गरेका छौँँ । सैद्धान्तिक विषयका साथ साथै प्रयोगात्मक विषयलाई पनि जोड दिएका छौं ’ विज्ञान तथा प्रविधि संकायका डिन राजेश कुमार ठगुराठीले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया