प्रदर्शनको तयारीमा चलचित्र ‘छक्का पञ्जा’
अनिल ढकाल
चितवन २१ भदौ
वैदेशिक रोजगारीको विषयलाई मुख्य रुपमा प्रस्तुत गरिएको चलचित्र ‘छक्का पञ्जा’ प्रदर्शनको तयारीमा रहेको छ। भदौ २४ गतेदेखि देशव्यापी रुपमा प्रदर्शन हुने चलचित्र ‘छक्का पञ्जा’को प्रचारप्रसारका लागि निर्देशक दीपाश्री निरौला र कलाकार तथा निर्माता जितु नेपाल सोमबार चितवन आइपुगेका छन्। चितवनमा पत्रकार सम्मेलन गरी निर्देशक निरौला र कलाकार तथा निर्माता नेपालले आफ्नो चलचित्र कस्तो भएको छ मुल्यांकन गरेर सुझाव दिन आग्रह गरेका छन्। उनीहरूले आफूले चलचित्र राम्रो भएको भन्नुभन्दा पनि दर्शकले चलचित्रको मुल्यांकन गर्नुपर्ने बताए। उनीहरूले आफूहरूले वैदेशिक रोजगारीको विषयलाई प्रमुख रुपमा उठाएको र चलचित्र पूर्ण रुपमा अर्ग्यानिक रहेको दावी पनि गरेका छन्।
चितवनको ग्रेट एफ एमले नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक निरौलाले आफ्नो २५ वर्षको कलाकारिताको अनुभव लगानी गरेर चलचित्र बनाएको भन्दै यसको मुल्याङ्कन दर्शकले गर्ने बताइन्। “ब्यक्ति होईन कथा हिरो भएको फिल्म हो”, उनले भनिन्, “कथा र चरित्रलाई बगाउन खोजेको छु, दर्शक निराश हुदैनन्।” नेपाली दर्शकको चाहना अनुसारको चलचित्र भएको उनको भनाइ छ। फिल्म प्रचारका लागि उनीहरु पूर्वपश्चिमका विभिन्न स्थानमा पुगिसकेका छन्। आफ्नो टिमले विश्वास गरेर दिएको जिम्मेवारी पुरा गरेको भन्दै त्यसको मुल्याङ्न भने दर्शकले गर्ने बताइन। नेपालका ६० जना हास्य कलाकारलाई चलचित्रमा समेटिएको उनले जानकारी दिइन्। सबैलाई मिलाउँदा आफू भने पर्दामा नदेखिएको उनको भनाइ छ। चलचित्रका निर्माता तथा कलाकार जितु नेपालले निर्माण टोलीले नभई दर्शकले चलचित्र राम्रो भन्नुपर्ने प्रतिकृया दिए। ‘के बनाउँदा हिट हुन्छ भन्ने कसैलाई थाहा हुँदैन’, नेपालले भने, ‘आफैले होईन दर्शक राम्रो भन्नुपर्छ।’ छक्का पञ्जाले पहिलो प्राथमिकता मनोरञ्जनलाई दिएको र हाँसोसँगै भावुकता र सन्देश पनि आउने नेपालले दावी गरे। चलचित्रमा आफुहरुले कडा मेहेनत गरेको भन्दै हेरेर सुझाव दिन समेत आग्रह गरेका छन्। करिब ९० लाखको लगानीमा ४५ दिनमा चलचित्र तयार भएको हो। नेपालमा प्रदर्शन भएपछि विदेशमा पनि प्रदर्शन हुने बताइएको छ। रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया