प्रधानमन्त्रीका विशेषदूत उपप्रधानमन्त्री निधि भारत पुगे

बिजनेसपाटी २ भदौ

प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि बिहिबार भारत गएका छन्। उनी दुई देशबीचको उच्चस्तरीय भ्रमणको तयारी तथा राजनीतिक भेटका लागि भारत गएका हुन्। उनलाई भारतको नयाँदिल्लीमा भारतका लागि नेपालका कार्यबाहक राजदूत कृष्णप्रसाद ढकालले स्वागत गरेका थिए।  भारत जानुअघि त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री निधिले आफ्नो भ्रमण प्रमुख रुपमा नेपाल र भारतबीचको उच्चस्तरीय भ्रमणको विषयमा केन्द्रित रहेने जानकारी दिएका थिए। ‘मेरो भ्रमणमा दुई देशबीचको उच्चस्तरीय भ्रमणको तयारी हुनेछ।

भारतका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिने र मिति तय गर्न आग्रह गर्छु’, उनले भने– ‘भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको निम्तो र हाम्रा प्रधानमन्त्रीको भारत भ्रमणका बेला हुने छलफलका विषयमा प्रारम्भिक छलफल गर्ने उद्देश्य छ।’ दुई देशको सम्बन्धलाई थप सुदृढ तुल्याउन आफ्नो भ्रमण सफल हुने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री निधिले नेपालको राष्ट्रिय हित र सकारात्मक परिवर्तनका पक्षमा भारत सरकार र त्यहाँका जनताको साथ रहने अपेक्षा गरेका थिए।  नेपालको संविधानको कार्यान्वयनका क्रममा रहेका चुनौतीलाई सफलतापूर्वक सम्पन्न गर्न भइरहेको राजनीतिक घटनाक्रमको बारेमा भारतीय पक्षलाई जानकारी गराउने कार्यक्रम पनि उनको छ। उपप्रधानमन्त्री निधिले नयाँ दिल्लीमा भारतीय राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री, गृहमन्त्रीलगायत त्यहाँका राजनीतिक दल र उच्चपदस्थ अधिकारीसँग भेटघाट गर्नेछन्। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया