प्रधानमन्त्रीले भने– कांग्रेस– माओवादी विदेशी शक्तिको हतियार

काठमाडौं ३१ असार

प्रधानमन्त्री केपी ओलीले कांग्रेस र माओवादी केन्द्र विदेशी शक्तिको ‘गोटी’ बनेको आरोप लगाएका छन् । एमाले संसदीय दलको बिहीबारको बैठकमा एक घन्टा १० मिनेट लामो सम्बोधन गर्दै ओलीले दुई पार्टी विदेशी शक्तिको गोटी बनेको आरोप लगाएका हुन् ।

दुवै पार्टी विदेशी गोटीमा मुलुकमा अस्थिरता मच्चाउँदै संविधान कार्यान्वयन असहज बनाउने षड्यन्त्रमा सामेल भएको उनको अरोप छ ।

बैठकले संसद्मा दर्ता भएको अविश्वासको प्रस्ताव एकढिक्काका साथ सामना गर्दै अघि बढ्ने निर्णय गरेको सचेतक गोकुल घर्तीले जानकारी दिए । ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै प्रस्तावमा ०७४ माघसम्म नेतृत्व परिवर्तन नहुने गरी गठबन्धन बनेको खुलासा गरे ।

‘गठबन्धन मात्रै होइन, नेतृत्व पनि परिवर्तन नगर्ने उनकै प्रस्तावअनुसार त्यतिवेला (गत असोजमा) माओवादीलाई उपराष्ट्रपति, सभामुखदेखि एमालेले पाँच मन्त्रालय राखेर महत्वपूर्ण आठ मन्त्रालय दिएका थियौँ,’ ओलीले भने, ‘तर, माओवादी त बर्केनो गाईको बाच्छोजस्तो रहेछ, दूध नआए पनि जुनसुकै वेला छ्वास्स, छ्वास्स हानिरहने ।’ उनले नेतृत्व परिवर्तनका लागि माओवादीले पटक–पटक बार्गेनिङ गरेको स्मरण गर्दै तीनबुँदे भद्र सहमति पनि नभएको स्पष्ट पारे । ‘बार्गेनिङ नछाडेपछि समय र परिस्थिति आएपछि विचार गर्न सकिन्छ भन्ने कुरा मात्रै भएको थियो, त्यस्तो कुनै भद्र सहमति थिएन,’ उनको भनाइ थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया