प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको शुभारम्भ

जनकपुरधाम २१ पुस

कृषिमन्त्री रामकृष्ण यादवले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बृहत व्यावसायिक कृषि उत्पादन तथा केन्द्र (सुपर जोन) माछा परियोजना धनुषा जिल्ला कार्य क्षेत्रको आज शहीदनगर यदुकोहामा शुभारम्भ गर्नुभयो ।

स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार भएको कृषि विकासको दशवर्षे विकास रणनीतिअन्तर्गत माछाको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी आत्मनिर्भर कृषि अर्थतन्त्रको आधारशीला निर्माण गर्नु सो परियोजनाको उद्देश्य रहेको छ ।

सो परियोजनाअन्तर्गत धनुषा जिल्लाको जनकपुर उपहानगरपालिका, औरही गाउँपालिका , शहीदनगर नगरपालिका र कमला नगरपालिकाको एक हजार हेक्टरभन्दा अधिक क्षेत्रमा माछा उत्पादन विकास कार्यक्रम सञ्चालन गरिनेछ ।

सो अवसरमा मन्त्री यादवले जनकपुरको माछा नेपालमै प्रसिद्ध रहेको तथ्यलाई मनन गर्दै सरकारले यसलाई सुपर जोनका रूपमा प्रवद्र्धन गर्न यस परियोजना कार्यान्वयन गरेको जानकारी दिनुभयो ।

उहाँले परियोजनाबाट माछाको विशिष्टिकृत क्षेत्र निर्माण भइ सम्मानजनक व्यवसायका रूपमा विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेशसभा सदस्य रामसरोज यादवले जमिनको चक्लाबन्दी र चुरेको संरक्षण गरी परियोजना कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

शहीद नगरपालिका प्रमुख उदय अरगरिया, कमला नगरपाालिकाका प्रमुख रामउदगार गोइत र औरही गाउँपालिकाका प्रमुख ब्रम्हदेव यादवले परियोजनाले रोजगारीका अवसर र माछा उत्पादनमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा टेवा पुग्ने धारणा राख्नुभयो ।

कृषि विकास मन्त्रालयका सचिव डा सुरोज पोखरेलले परियोजनाबाट उत्पादन क्षेत्रमा सकारात्मक उपलब्धि हासिल हुने बताउनुभयो ।

परियोजना निर्देशक डा नरहरि घिमिरे र धनुषा सुपर जोन प्रमुख राजेन्द्र यादवले जमिनको चक्लाबन्दी, विशिष्टिकृत व्यवसायीकरण, उन्नत प्रविधि र गुणस्तरीय पूर्वाधार विकास र उपलब्धिमा आधारित सहजीकरण अवधारणाअन्तर्गत कृषि विज्ञ गाउँ तहसम्म पुगी सेवाप्रवाह गर्ने भएकाले जिल्लाको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । (रासस)

फेसबुकबाट तपाईको प्रतिक्रिया