प्रभावकारी नेतृत्व खोज्दै गौतमबुद्ध विमानस्थल
काठमाडौं– ३० बैशाख
आम नेपालीमा उत्साह र भरोसा बढाउने गरी अगाडि बढेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा समस्या खडा गर्ने र समयमै काम सम्पन्न हुन नदिने सङ्केत देखा परेका छन् । यसले गर्दा राष्ट्रिय गौरवका आयोजना तोकिएको मितिमा सम्पन्न हुन्छन् भन्ने कुरामा सन्देह उत्पन्न भएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि कहिले सामग्रीको आयातमा अवरोध त कहिले बजेट अभावमा ठेकेदारले नै काम छाड्ने अवस्थामा पु¥याइएको छ । अधिकांश राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति प्रभावकारी नभइरहेका बेला आशाको सञ्चार गरेको आयोजनामा किन अवरोध हुन थाल्यो भन्ने आम चासो र जिज्ञासासमेत उत्पन्न भएको छ ।
चालू आवमा सो आयोजनाका लागि रु ५९ करोड विनियोजित थियो र सो रकम खर्च भइसकेको छ । मन्त्रालयले आजै रु ७० करोड रकम आयोजनाका लागि उपलब्ध गराएको जनाएको छ । प्रवक्ता उपाध्याय आयोजनाले माग गरेअनुसारको रकम निकासा भइसकेकाले काममा कुनै समस्या नहुने ठान्छन् ।
राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा पहिले सम्पन्न हुने चरणमा रहेको सो विमानस्थल निर्माणमा देखिएको गति र उत्साहले देशभित्र केही हुँदैछ भन्ने विश्वास आम जनमानसमा पैदा भएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका आयोजना निर्देशक प्रदीप अधिकारीको भनाइमा आयोजनाको प्रभावकारी कार्यान्वयनमा समन्वयको कमीले गर्दा बजेटको अभावमा निर्माण व्यवसायीले काम नै छाड्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको बताउँछन् ।
प्राधिकरणका आयोजना निर्देशक अधिकारी मन्त्रालयले समयमा निर्णय नगर्दा आयोजनामा बजेट अभाव देखिएकोे मान्छन् । यद्यपि मन्त्रालयका उच्च अधिकारी आजै रु ७० करोड आयोजनाका लागि निकासा भएको बताउँछन् । बजेट सकिएकाले तत्काल उपलब्ध गराउन आयोजनाले तीन साता पहिले नै मन्त्रालयसमक्ष माग गरेको थियो ।
मन्त्रालयका उच्चपदस्थ कर्मचारी तत्कालीन मन्त्री रवीन्द्र अधिकारीले आयोजनामा रकम अभाव हुन नदिन आफैं लाग्ने र भुक्तानीमा कुनै समस्या हुन नदिने गरी काम अगाडि बढाउनुभएको स्मरण गर्छन् । पछिल्लो समय आयोजनालाई समन्वय गरिदिने र समस्या फुकाइदिने नेतृत्वको अभाव देखिएको उनीहरुको अनुभव छ ।
केही दिनअघिसम्म विमानस्थलको धावनमार्गमा अन्तिम कालोपत्र भइरहेको थियो । यस्तै ट्याक्सी वे र अन्य भौतिक संरचनाको निर्माण जारी थियो । विद्युतीय उपकरणबाहेक विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत बढी भइसकेको थियो ।दक्षिण एशियाली पर्यटन पूर्वाधार आयोजनाअन्तर्गत निर्माण भइरहेको सो विमानस्थलको ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्ग निर्माण भइरहेको छ । आयोजनाको शुरुवाती लागत रु ६ अर्ब २२ करोड ५१ लाख रहेको छ । रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया