फिलिपिन्समा क्यासिनोमा आक्रमण,३७ को मृत्यु

एजेन्सी,

मनिला २०,जेष्ठ

फिलिपिन्सको राजधानी मनिलास्थित एउटा होटलको क्यासिनोमा बन्दुकधारीले गरेको आक्रमण र आगजनीमा परी ३७ को मृत्यु भएको छ । घटनामा अन्य दर्जनौं घाइते भएका छन् । रिजोटर्स वल्र्ड नामक क्यासिनोमा बिहीबार मध्यराति एक बन्दुकधारीले गरेको आक्रमणमा परी उनीहरूको मृत्यु भएको हो । आगजनी र गोलीसमेत प्रहारपछि आक्रमणकारी स्वयंले आमहत्या गरेका थिए ।

सिन्हवाका अनुसार आगजनीको पाँच घण्टापछि आक्रमणकारी स्वयंले आत्मदाह गरेका र उनले आगजनीको क्रममा एम–४ राइफल र पेस्तोलसमेत प्रयोग गरेको प्रहरी अधिकारी रोनाल्ड डेला रोसाले बताएका छन् । फिलिपिन्सको सुरक्षा अधिकारीहरूले यो घटना आतंककारीहरूले गराएको नभई ‘सन्काहा’ व्यक्तिले गराएको बताएका छन् । क्यासिनोको दोस्रो तलाको भित्री भागमा केही शवहरू भेटिएका थिए । अन्य शवहरू होटलको आराम कक्षमा भेटिएका दक्षिणी जिल्लाका प्रहरी प्रमुख टोमस अपोलिनारिओले बताए । बीबीसीमा अनुसार प्रहरी र अग्नि नियन्त्रक अधिकारीहरूले अधिकांश पीडितहरू निसास्सिएर मरेको बताएका छन् । आक्रमणकारीले राइफलबाट गोली प्रहार गर्दै जुवा खेल्ने टेबलहरू जलाई दिएका थिए । हमलापछि केही ग्राहक माथि तलाबाट हाम फालेका थिए भने केही भागेका थिए । हाल क्यासिनो प्रहरीको कडा निगरानीमा छ ।आइएसद्वारा जिम्मेवारी एएफपीका अनुसार इश्लामिक स्टेट (आइएस) जिहाद्धी समूहले मनिलामा अवस्थित एक क्यासिनोमा ३७ जनाको ज्यान जाने गरी भएको आक्रमणको जिम्मेवारी लिएको छ । उक्त समूहद्वारा सञ्चालित अमाक न्यूज एजेन्सीले आइएस समूहका एक लडाकूको प्रत्यक्ष संलग्नतामा फिलिपिन्सको उक्त होटेलमा आक्रमण भएको जनाएको छ ।

बन्दुकधारीको आक्रमण र आगजनीपछि फिलिपिन्सको रिसोर्ट वल्र्ड क्यासिनोबाट उद्धार गरिएका ग्राहक र कर्मचारीहरू सडकमा । तस्बिर : रोयटर्स

फेसबुकबाट तपाईको प्रतिक्रिया