फेरिँदै तीजका गीतः विविधता आएको वा बाटो बिराएको ?
रामबहादुर थापा
बागलुङ ६ भदौ
‘आँगनीमाथि सिंवाली लाग्यो, वरिलै कदमको छायाँले सातै र समुन्द्र मै तरी आएँ, वरिलै बाबाको मायाले’– हरिदेवी कोइराला(२०४५) ‘जामा लाउँदा छोटो भयो, सारी लाउँदा सुहाएन उखरमौलो वैँश छोप्ने चीजै भएन जवानीले पार्यो नि पिरलो तीज आएनि पिरलो, नआएनि पिरलो चोरी खान पल्केको ढाडे बिरालो’ – श्रीदेवी देवकोटा/प्रकाश कटुवाल (२०७२) साडी र चोलो नलगाउन सानु, जवानी छेकिन्छ छोटो–छाटो मिनिस्कट लाउँदा क्या ‘सेक्सी’ देखिन्छ छोरो कारैमा सरर…– प्रवीण थापा/टका पुन (२०७३) यी विपरीत भावका रचनाले तीज गीतमा आएको बदलावलाई ‘पटाक्षेप’ मात्र गर्दैन, तीज गीतको सौन्दर्य ‘ध्वस्त’ हुँदै गएको प्रमाण पनि दिन्छ। ऐतिहासिक पर्व गीतको उपमा पाएको तीज गीत आज रोधीघरको ‘झाम्रे’ जस्तो पनि नभएर अश्लील दोहोरीमा फेरिन पुगेको छ। पछिल्ला समय तीज गीत आफ्नो मूल प्रवृत्तिबाट विमुख हुँदा ढाडे बिरालो, छोटो ‘मिनिस्कट’ जस्ता रचनाले बजारमा प्रवेश पाएका छन्। तीजको मौसमी सङ्गीत बजारमा यस्तै कलाहीन र ‘उट्पट्याङ’ गीतले वर्चश्व जमाउन थालेका छन्। कालो बादलभित्र पनि चाँदीको घेरा हुन्छ भने झैँ, तीजको मर्म र सौन्दर्य पक्डेका गीत नबनेका होइनन्। न्यून सङ्ख्याका त्यस्ता गीतको हस्तक्षेप कम छ। २०७२ सालको तीजमा आएको ‘ढाडे बिरालो’ सर्वाधिक आलोचित मात्रै बनेन, समाजले अस्वीकृत गर्ने अवस्थामा समेत पुग्यो। उस्तै आभास दिने गरी यो वर्ष ‘छोटो मिनिस्कट’ र यस्तै अन्य गीत बजारमा छन्। तीजको मूल मर्मबाट बाहिरिएर तयार पारिएका यस्ता गीतले तीज गीतको मौलिकता र परम्परागत सौन्दर्यलाई कुरुप बनाइदिएका छन्। तीन वर्षअघि २०७० सालमा गायक तेजश रेग्मी र शिलु भट्टराईले त्यस्तै तीज गीत निकालेका थिए – ‘ठाउँको ठाउँ ढल्ने जस्तो मलाई कति पिर छ कित बुढो त्याग, कान्छी कित मलाई बिर्स।’ उल्लिखित गीत पनि चर्चामा त रह्यो। तर त्यसले पनि तीज गीतको गरिमा समातेन। पर्व गीतका रुपमा चिनिने तीज गीत मूल चरित्र र प्रवृत्तिबाट विमुख र छताछुल्ल भएको छ। हरिदेवी कोइरालाहरु अचेल छायाँमा छन् – ‘नेपालबाट दाजैले शीरफूल कमाई पठाए, किन दिन्थिन् भाउजूले राखिन् आफैले।’ अब के, यस्ता रचनाको युग सकिएकै हो त ? यो, प्रश्नमा वरिष्ठ लोकगायिका हरिदेवीको मत यस्तो छ – ‘विगत ७/८ वर्षदेखि तीज गीतको विषयवस्तु र शैली भड्किलो तथा मर्मबाहिर पुगेको छ। तीज गीत हाम्रो मौलिक सांस्कृतिक धरोहर हो, यसको जगेर्ना हुनुपर्छ।’ उनी थप्छिन्– ‘हिजोआज हामी मूल मर्मतिर छैनौँ कि जस्तो लाग्छ। पारिवारिकजस्तो छैन, कतै उट्पट्याङजस्तो पनि।’ तीज गीत गायनको विधान खल्बलिँदै गएको लोकगायिका हरिदेवीको बुझाइ छ। गीतमा आएको विविधतालाई सकारात्मक रुपमा मात्रै लिन सकिने अवस्था नरहेको उनले बताइन्।
समग्रमा तीजको संस्कृति साझा पर्वका रुपमा विकास हुँदै गएकामा भने लोकगायिका कोइराला खुसी छन्। तीज गीत जहिले पनि घटनाप्रद हुने हुँदा तीजको गीतले घटना खोज्ने कोइरालाको तर्क छ। तर हिजोआज घटनाभन्दा पनि क्षणिक र सस्तो रमाइलोका विषयवस्तु हाबी भइरहेकोप्रति उनको गुनासो छ। ‘तीज गीतको पौराणिक मान्यता पनि घटना र विषयवस्तुसँग जोडिएको छ, युग सुहाउँदो, चेतना जागृत गर्ने खालका, समसामयिक विषयवस्तु तीज गीतमा उठान हुनुपर्दछ,’ कोइरालाले भनिन्। कोइरालाले आफू र आफ्नो पुस्ताका गायिकाले २०४६ सालको आन्दोलनपछिको परिवर्तन, २०५८ सालको राजदरबार हत्याकाण्ड र अन्य समाजमा घटित घटनालाई विषयवस्तुमा उठाउने गरेको स्मरण गर्नुभयो। साहित्यकार एवम् संस्कृतिकर्मी प्रेम छोटाको विचारमा पनि तीज गीतले मूल बाटो बिराउन थालेको छ। ‘तीज व्यापक भएको छ, सहरतिर पनि तीज मनाउने परम्परा विस्तार हुँदै गएको छ, रौनक फेरिएको छ,’ छोटाले भने– “तर, खासमा तीजको मर्म र तीज गीतको सौन्दर्य घट्दै गएको हो कि भन्ने चिन्ता थपिएको छ।’ वर्षभरिका आफ्ना दुःख, पीरवेदना र चोट सार्वजनिक गर्ने माध्यम तीज गीत बन्ने गरेकामा अहिले त्यो अश्लीलता र क्षणिक रमाइलोमा समेटिन पुगेको उनको धारणा छ। लोकगायिका कोइराला पहिलेका तीज गीत सम्झँदै भन्छन्, ‘महिलाका कुण्ठित सिर्जना बाहिर आउँथे, समकालीन नेपाली समाजको अवस्था चित्रित गर्थे तीजका गीतले तर अहिले त्यस्तो छैन सस्तो र अभद्र मायाप्रेमको विषयले ठाउँ पाएको छ।’ विशेषगरी तीज गीत गायनमा सुपरिचित लोकगायिका हरिदेवीले अहिलेसम्म ३२ वटा तीज गीतका एल्बम सार्वजनिक गरिसकेकी छन्। सङ्गीत तथा नाट्य प्रतिष्ठानकी प्राज्ञसमेत भएकी हरिदेवीले तीज गीतले महिलाको सिर्जना क्षमतालाई बढाउने बताउँछिन्। तीजको मौलिकता र शास्त्रीय विधानलाई नछोडी गाउन उहाँ नयाँ पुस्तालाई आग्रह पनि गर्नुहुन्छ। पछि गएर नेपाली सांस्कृतिक परम्परा खल्बलिने र मौलिकता गुम्ने खतरा रहेकोप्रति सबै सचेत हुन आवश्यक रहेको उनको भनाइ छ। यता, साहित्यकार तथा संस्कृतिविद् छोटाले नेपाली सङ्गीत परम्परा विश्वमै पृथक रहेकाले यसको जगेर्ना गर्नुपर्नेमा जोड दिन्छन्। महिलाले तीजमा आफूले झेल्नुपरेका सामाजिक बन्धन र पारिवारिक अन्याय, अत्याचारप्रति कटु व्यङ्ग्य तथा विद्रोह गर्दै स्वतन्त्रताका गीतसमेत गाउने गरेको छोटाको अनुभव छ। पछिल्लो समयमा नेपाली तीज गीतको मौलिक र शास्त्रीय परम्परामा आएको ह्रासले छोटालाई पनि चिन्तित तुल्याएको छ। ‘प्रायः गरी नारी वेदनाका भाव झल्किने खालका गीतमा तीजमा गाइनुपर्छ र सँगै मुक्तिकामी महिलाका अभिव्यक्ति मुखरित गरिनुपर्छ,’ छोटाले भने।
अन्धविश्वास र विसङ्गतपूर्ण व्यवहार तोडेर समानतामूलक समाज निर्माणका लागि तीज गीत सहयोगी बन्नुपर्ने छोटाको तर्क छ। ‘पौराणिककालदेखि नै तीज पर्व र गीतको बयान हुँदै आएको छ, यसमा नारी मुक्तिको उद्घोष समेटिएको हुन्छ,’ छोटाले भने– ‘धार्मिक दृष्टिकोणले पनि तीज गीतको आफ्नै महत्व रहेको छ। व्रत उपसानादेखि महिलाले आफू, पति र परिवारको सुख तथा समृद्धिका लागि पूजाआजा गर्ने चलन छ।’ तीज गीत महिलाले मात्र गाइने गीत भनेर चिनिए पनि अहिले भने पुरुषले पनि यस्ता गीत गाउन थालेका छन्। तीज गीत दोहोरीजस्तो हुन थालेको भन्छन् कतिपय सङ्गीतप्रेमी। ‘गीत गाउने र चर्चा बटुल्ने नाउँमा अभद्र र छाडा गीतसङ्गीतलाई प्रश्रय दिन हुँदैन,’ गायक तथा सङ्गीतकार वसन्त थापा भन्छन्। बढ्दो व्यावसायिक बजार र प्रतिस्पर्धाले पनि नेपाली सङ्गीतको मौलिकता गुम्दै जान थालेको सङ्गीतकर्मीको बुझाइ छ। तीज गीतमा माइतीघर र कर्मघरको विम्ब जुन रुपमा प्रयोग हुन्थ्यो, त्यो नभएर अहिले युवायुवतीको प्रेमको मसलाले गीत बन्न थालेका छन्। यता नयाँ पुस्ताका गायक भने समयले तीज गीतमा परिवर्तन चाहेको तर्क गर्छन्। ‘बजारमा पनि मायाप्रेम बिक्ने गर्छ र अहिलेको समाजले बढी नै रसिक र ठट्यौली गीत मन पराउने हुँदा हामी पनि त्यस्तै गीत गाउन बाध्य छौँ,’ गायक प्रवीण थापाले भने। थापा र गायिका टिका पुनले यो वर्ष गाएको ‘छोटो मिनिस्कट’ बोलको गीतले चर्चासँगै आलोचना पनि बटुलेको छ। समयको मागबमोजिम गीतसङ्गीतको बजारमा पनि परिवर्तन आएको थापाको भनाइ छ। के, नेपाली समाज पुरानो संस्कृति, मूल्य र मान्यताबाट विमुख हुन थालिसकेको हो त? तर पूरै तहमा त्यसो नभइसकेको संस्कृतिकर्मी छोटाको भनाइ छ। छोटाले तीज गीत मात्रै नभएर अन्य सांस्कृतिक धरोहर पनि कमजोर हालतमा रहेकाले त्यसको संरक्षणका लागि जबर्जस्त लाग्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे। तीन वर्षअघि गाएको तीज गीत सम्झँदै वरिष्ठ लोकगायिका हरिदेवीले आफू जहिले पनि तीजको मौलिकपन जोगाउन प्रयासरत रहने बताउँदै अगाडि थपिन्- ‘सेतै पहिरन चेली देख्दा कस्को मन रुन्न र, विधुवाले रातो लाउन किन हुन्न र!’ रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया