फेसबुक र ट्विटरलाई चुनौती दिन खोलेको गुगल प्लस बन्द

क्यालिफोर्निया २० चैत्र

सामाजिक सञ्जाल गुगल प्लस बन्द भएको छ । संसारको दोस्रो सबैभन्दा मूल्यवान ब्रान्ड गुगलको असफल सामाजिक सञ्जाल गुगल प्लस मंगलबार बिहानदेखि बन्द गरिएको हो ।

सन् २०११ मा सामाजिक सञ्जाल फेसबुक र ट्विटरलाई चुनौती दिन गुगल प्लस खोलिएको थियो । यो सर्च इञ्जिन गुगलको सामाजिक सञ्जालमा हात हाल्ने चौथो प्रयास थियो । जुन असफल सिद्ध भयो ।

गुगल प्लसलाई भिडिओका लागि चर्चित युट्युबमा जोड्ने प्रयास गरिए पनि प्रयोगकर्ताले त्यसमा रुची देखाएनन् । गुगलले सन् २०१८ मा यसका तथ्यांक चोरी भएको सार्वजनिक भएपछि बन्द गर्ने निर्णय गरेको थियो ।

यद्यपि सन् २०११ को अन्त्यतिरै आलोचकहरूले गुगल प्लसको ‘मृत्यु’ भएको घोषणा गरेका थिए । सुरुवाती समयमा आमन्त्रणबाट मात्रै खाता खोल्न सकिने गरि सुरु गरिएको गुगल प्लस वर्षको अन्त्यमा सबैका लागि खुला गरिएको थियो । सामाजिक सञ्जालमा जस्तो लेख्न र तस्बिरहरू सेयर गर्न मिल्ने सुविधा समेत थियो ।

यसमा साथीहरूलाई ‘सर्कल’ का आधारमा समूह विभाजन गर्न सकिने र ‘ह्याङ्ग आउट’ बाट च्याट तथा सामूहिक भिडियो कल समेत गर्न सकिने सुविधा थियो ।

सार्वजनिक गरिएको केही हप्तामै यसमा लाखौं प्रयोगकर्ताहरू जोडिएका थिए । तर यसरी जोडिएका थोरै प्रयोगकर्ता मात्रै यसमा सक्रिय बने । गुगल प्लसमा उपनाम प्रयोग गर्न नपाइने कडा नीति थियो । कसैले आफ्नो नाम प्रयोग नगरेमा जीमेल समेत निलम्बन गरिने प्रावधान थियो ।
एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया