फेस एप्सले गर्छ यस्तो हानी !
काठमाडौं ६ साउन
कलाकारदेखि युवापुस्तामाझ ‘फेस एप्स’ नामक एप्स लोकप्रिय भइरहेको छ।
उक्त एप्स प्रयोग गर्दै आफ्नो बुढेशकालको जस्तो देखिने तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति व्यापक भएको छ।
फेसबुकका अनुसार विश्वभर एकै दिनमा यो एप्स १० करोडभन्दा बढीले प्रयोग गरिरहेका छन् । यसको प्रभाव नेपालमा पनि परेको छ।
कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, मनोज गजुरेललगायत थुप्रैले यो एप्समार्फत आफ्ना बुढ्यौली देखिने तस्बिर फेसबुकमा अपलोड गरेका छन्।
भारतीय क्रिकेटर विराट कोहली, कलाकार अर्जुन कपुरलगायतले सामाजिक सञ्जालमा यस्ता तस्बिर सार्वजनिक गरेका छन्।
यो एप्सले केही समयका लागि रमाइलो दिए पनि दीर्घकालमा असर गर्ने दाबी आईटी विशेषज्ञ सुरेन्द्रमान जोशीले गरे। उनले यो एप्स प्रयोगकर्ताको डाटा असुरक्षित हुने बताए।
जोशीले भने, “सुरक्षा निकायमा बसेकाहरूले यो एप्स प्रयोग गर्दै नगर्नू भनेर कतिपय मुलुकका सरकारले नागरिकलाई सचेत गराइसकेका छन्। ”
यो एप्समार्फत प्रयोगकर्ताको मोबाइलमा भएको फोटोदेखि सबै डाटा लिन सकिने जानकारी उनले दिए। चाइल्ड सेफ नेटका निर्देशक अनिल रघुवंशीले फेस एप्स मात्र नभएर जुनसुकै सामाजिक सञ्जालले हाम्रो डाटा लिने उनको भनाई छ।
कुनै पनि सामाजिक सञ्जालमा भविष्यमा के हुने, भाग्यमानी कति प्रतिशतजस्ता एप्सले हाम्रो डाटा लिएकै हुन्छन् । त्यसैले त्यस्ता एप्स नचलाउन उनको सुझाब छ।
जोशीका अनुसार फेस एप्सले प्रयोगकर्ताका सबै जानकारी आफ्नो डिभाइसमा राख्छ। यसमा फोनको पहिचान गर्ने डाटा, कुकिज, लग फाइल, स्थानलगायतका महत्वपूर्ण डाटा हुन्छन्।
यसबाट तपाईंको चासोका विषय, दैनिक व्यवहार, इमेल ठेगाना क्रेडिट कार्ड र पासवर्ड चोरी पनि हुन सक्छन्।
गोरखापत्र दैनिक
फेसबुकबाट तपाईको प्रतिक्रिया