बगरखेतीबाट मनग्य आम्दानी

काठमाडौँ २८ माघ

नारायणपुर -लमही नगरपालिकाका देसुराम चौधरी राप्ती नदीको बगरमा बगरखेती गर्दै आउनुभएको छ । उहाँ बगरखेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाले बगरलाई हरियाली बनाउन चौधरीलगायत अन्य कृषकलाई सहयोग गरेको हो ।
दश वर्षदेखि बगरखेती गर्दै आउनुभएका चौधरीको अहिले जीवन नै परिवर्तन भएको छ । उहाँले तरकारी खेतीबाट वार्षिक रु आठ लाख आम्दानी गर्दै आउनुभएको छ । “यो ठाउँमा बस्न थालेको दशकौँ भइसक्यो, बगरमा तरकारी खेती गर्ने कुरा थाहै थिएन”, चौधरीले भन्नुभयो, “अहिले बगर नै हरियाली भएको छ ।”
सहकारीले खेती गर्ने तरिका सिकाएपछि कृषक निर्वाहमुखी खेती प्रणालीबाट व्यवसायी बनेका छन् । सहकारीकै सहयोगमा यहाँका अन्य कृषकसमेत बगरखेतीतर्फ आकर्षित भएका छन् । देउखुरीका राप्तीगाउँपालिका र गढवा गाउँपालिका तथा लमहीनगरपालिका क्षेत्रको राप्ती बगरमा खेती गर्न किसानले कृषक समूह बनाएको सहकारी संस्थाका अध्यक्ष दिलीपराज खनालले बताउनुभयो । अहिले बगरखेती र दुग्ध परियोजनाबाट ७०० भन्दा बढी किसान लाभान्वित भएका छन् ।
कृषिजन्य वस्तुको सहजरुपमा बिक्री गर्न देउखुरीमा तरकारी बजार स्थापनाको पहल भइरहेको अध्यक्ष खनाल बताउनुहुन्छ । “बिक्री गर्न सहज होस् भनेर कृषि बजार स्थापना गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । सहकारीले कृषिजन्य बीउबिजनको बिक्री केन्द्र स्थापना तथा समूहमा आबद्ध किसानलाई यान्त्रीकरणमा जोड दिई चक्लाबन्दी खेती गर्नका लागि कृषकलाई सहयोग गर्ने कार्यक्रम ल्याएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया