बडिकेदार खानेपानी योजना अलपत्र

काठमाडौँ ७ मंसिर

डोटी-डोटीको लानाकेदारेश्वर गाविसमा पर्ने बडिकेदारमा करिब तीनवर्ष अगाडिदेखि सुरु भएको बडिकेदार खानेपानी योजना हालसम्म अलपत्र परेको छ। गत वर्ष नै पूरा हुने खानेपानी योजना हालसम्म पनि सम्पन्न नहुँदा यस क्षेत्रका जनतामा निरासा छाएको छ।खानेपानी तथा सरसफाइ मन्त्रालयमार्फत नेपाल सरकारको रातो किताबमा परेको करिब दुई करोडको योजनामध्ये १५ लाख रकम निकासा भइसक्दा समेत योजनाले पूर्णता पाउन सकेको छैन। तीनवर्ष अगाडि निकासा भएको पाँच लाख रुपैयाँ रकम काम नहुँदा फ्रिज गएको र त्यसपश्चात १५ लाख रकम निकासा भएको क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय, राजपुरका इन्जिनियर प्रकाश रावलले बताए।

उक्त १५ लाख रकममध्ये ४५ हजार बराबरको पाइप, जी पाइप खरिद गरिएको र १३ लाख ५० हजार बडिकेदार खानेपानी योजनालाई भुक्तानी दिएको इन्जिनियर रावलले जानकारी दिए।समितिलाई पाइप लाइन र इन्टेक निर्माणका निम्ति उक्त रकम निकासा भएको रावलले जानकारी दिए। मुहानभन्दा माथि पानी चढाउन खोज्दा एक घन्टा मात्रै पानी आएको र त्यसपश्चात ठाउँठाउँमा पाइप फुट्न गई योजना नै धरासायी बनेको रावलको भनाइ छ। रावलले भने, “मुहानभन्दा माथि त १०० इन्चको पाइप हाल्दा समेत पानी चढ्दैन, यसमा समिति नै जिम्मेवार बन्नुपर्छ ।”

यता बडिकेदार खानेपानी समितिका अध्यक्ष खडक बोहराले आफूलाई स्टमेटको बारेमा कुनै जानकारी नरहेको बताएका छन्। साथै उनले छ इन्चको पाइपलाइन विस्तार गरिँदा यो समस्या निम्तेको बताए। आफूले पाइप लाइन ९० सेन्टिमिटरको गहिराइमा गाडेको समेत बोहराको भनाइ छ तर इन्जिनियर रावलले भने पुरा नगाडेकाले २५ देखि ५५ सेमि गहिराइको मात्रै रकम भुक्तानी भएको बताए।गत साल नै निर्माण सम्पन्न हुने योजना अहिलेसम्म अलपत्र किन? भन्ने प्रश्नमा बडिकेदार संरक्षण व्यवस्थापन मूल समितिका अध्यक्ष प्रेम बोगटीले यसबारेमा आफूले पटकपटक समितिलाई ताकेता गर्दा पनि आलटाल गरेको आरोप लगाए।

जम्मा निकासा भएको ७० लाख रकमबाट लानाकेदारेश्वरको रन्तोला, धारी र मार्कोटमा समेत खानेपानी योजना सञ्चालन भइरहेको इन्जिनियर रावलले जानकारी दिए। हालसम्म बडिकेदार परिसरमा वर्षात्को पानी सङ्कलन गर्ने इन्टेक, धारा, चर्पी, सिद्धगुफा संरक्षण गरी ३४ लाख बराबरको रकम खर्च भएको इन्जिनियर रावलले जानकारी दिए। ३४ लाख रुपैयाँ बराबरको रकम निकासा हुँदा समेत काम भने झारो टार्ने मात्र गरिएको त्यहाँका स्थानीयको आरोप छ।कात्तिक २८ गते डोटी क्षेत्र नं २ का सांसद प्रेमबहादुर आलेमगर लगायतको टोलीले उक्त योजनाको अनुगमन गरेको थियो। अनुगमनपछि पत्रकारसँग कुराकानी गर्दै सांसद आलेमगरले योजनामा लापर्बाही भएको र गतसाल नै सम्पन्न हुने योजनामा अहिलेसम्म आलटाल गर्नु गैरजिम्मेवारी भएको बताए।

साथै, उनले आफ्नो पहलमा पारिएको योजना अहिलेसम्म अलपत्र पर्दा दुखी भएको बर्ताका छन्। आगामी दिनमा चाँडै योजना सम्पन्न नगरिए दोषीलाई कानुनी कठ्घरामा उभ्याइनुपर्नेमा समेत उनको जोड थियो।वर्षको एकपटक लाग्ने बडिकेदार मेलामा दसौँ लाख भक्तजनले मेला अवलोकन गर्ने गरेका छन्। खानेपानीको उचित प्रबन्ध नहुुँदा धेरै भक्तजनले सास्ती खेप्ने गरेका छन्। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया