बहस : के हो सामाजिक बिकास ?

पद्मराज तिमल्सिना

नेपालमा हालै मात्र नयाँ संविधान २०७२ ले निर्देशन गरे अनुरुप स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा गरी तिनै चरणको निर्वाचन सक्किएको छ । ती निर्वाचनहरुमा जनताले यसपटक आफना विकास अभिलाषा पुरा गर्न बामपन्थी दलहरुलाई सर्वाधिक भोट हालेर बिजयी समेत गराएका छन् । अव नयाँ सरकार बन्ने प्रक्रिया पनि अघि बढदैछ । र, जनता बामपन्थीहरुले यसपटक चुनाबी घोषणापत्र अनुरुप मुलुकमा विकास निर्माणको कार्य अघि बढाउनेछन् भन्नेमा ढुक्क छन् ।
के हो विकास ?
वास्तवमा विकास भनेको यहि हो भनेर ठ्याक्क परिभाषित गराउन सकिने कुरा होईन । यसलाई खुट्याउनु ज्यादै जटिल कुरा हो । साधारण भाषामा भन्नु पर्दा विकास भनेको मानिसलाई छनौटको अवसर बढीभन्दा बढी दिलाउने प्रक्रिया हो । यसले मानिसको जिवनलाई सरल र सहज बनाउँदै जान्छ । अर्को भाषामा बुभ्नु पर्दा विकास सामाजिक जिवनमा देखिने सकारात्मक पविवर्तन हो । उदाहरणको लागि यहाँ छोराछोरी पढाउनको लागि कम संख्यामा गुणस्तरीय विद्यालय छन् भने यहाँ शिक्षा क्षेत्रमा राम्रो विकास भएको छ भन्न सकिन्न्न । त्यसैले विकास एउटा बहुआयामिक पक्ष पनि हो । तर अब हुने विकास भनेको क्षणिक विकास मात्र नभए दिगो विकास हुनु पर्दछ । विकास परिणाम नभएर एक प्रक्रिया हो, यो निरन्तर रुपमा एक अवस्थाबाट अर्को अवस्थामा पुग्ने प्रकिया हो । मानिसको आवश्यकता मात्र बढेको छैन उसको सेवा उपभोग गर्ने प्रवृत्तिमा पनि परिवर्तन भएको छ । उसको रुची बद्लिएको छ ।
सामाजिक विकास भनेको के हो ?
मानिस समाजमा हुर्कन्छ, समाजमा नै बस्छ, त्यहाँ नै उसको चरित्र निर्माण हुन्छ । एउटा असल नागरिक असल समाजको उपज हो । जसको उपयोग परिवार, समाज र सिङ्गो राष्ट्रले नै गर्दछ । मानिस एक ठाउँबाट अर्को ठाउँमा बसाईपनि असल समाजको खोजिमा नै हुने गर्दछ । मानिस पहाडबाट तराई तर्फ, गाउँबाट शहर तर्फ बसाइ सर्नुको कारण पनि छनौटको सुविधा धेरै भएर हो । आजकाल किनमेल गर्न सपिङ मल गईन्छ, किनभने त्याहाँ छानीछानी सामान पाईन्छ । सामाजिक विकास भनेको सामाजिक जिवनमा सकारात्मक परिवर्तन ल्याई सार्वजनिक तथा शहरी सेवामा छनौटको अवसर बढीभन्दा बढी उपलब्ध गराउनु हो । शहरी सेवा भनेको एउटा शहरमा न्युनतम रुपमा उपलब्ध हुनुपर्ने सेवा तथा सुविधा हो जस्तै ः शिक्षा, स्वास्थ्य, खानेपानी, फोहोरमैला व्यवस्थापन, खेलकुद, यातायात, सार्वजनिक शौचालयसहितको बसपार्क, स्वस्छ खानेपानी, वैकल्पिक ऊर्जाको उपलब्धता, गुणस्तरीय खाद्य पदार्थ आदि हुन् । सामाजिक विकासले मानिसलाई विकासको केन्द्रविन्दुमा राख्दछ ।
जस्तै : गाडिघोडा हुनेले बाटो पिच बनाउनु पर्छ भन्ला अर्कोले हामीलाई पिच नभए पनि हुन्छ तर गरी खानलाई सीप र पुँजी चाहियो भन्दछन् । भोको पेटले पिच बाटोमा हिँडेर के काम ? सामाजिक विकासले मानिसको प्राथामिक आवश्यकता नाना, छाना र दानालाई केन्द्रविन्दुमा राख्दछ ।
पुर्वाधार विकास र सामाजिक विकासमा फरक के ?
पुर्वाधार विकास र सामाजिक विकास भनेको विकासका हार्डवेयर र सफ्टवेयर जस्ता हुने । पुर्वाधार विकास देख्न सकिन्छ जस्तै ः बाटोघाटो, पुल, पुलेसा, मठ, मन्दिर , नदि नालामा तटबन्धन आदि । सामाजिक विकास भनेको मानिसको क्षमता विकास सँग सम्बन्धित छ जस्तै ः लक्षित कार्यक्रमहरु, सीप विकास सँग सम्बन्धित कार्यक्रमहरु, लघु उद्यम सँग सम्बन्धित कार्यक्रमहरु आदि । एक दृष्टिकोण अनुसार बिकास प्राकृतिक श्रोतलाई साँस्कृतिक श्रोतमा बदल्ने प्रक्रिया पनि हो । त्यसैले पुर्वाधार विकास गर्नुको कारण पनि समाजलाई सामाजिक विकास तर्फ लैजानु नै हो । तर कसलाई बढी प्राथामिकता दिने भन्ने कुरा ठाउँ बिशेष अनि त्याँहाको जनताको आवश्यकतामा भर पर्दछ ।

प्रकाशित मिति २०७४-९-१९

फेसबुकबाट तपाईको प्रतिक्रिया