बहुप्रतिभाशालीका धनी समालोचक प्रा.डा. चुन्दा वज्राचार्य

स्वयम्भू शाक्य


नाटक विधा नेपालभाषा साहित्यको धेरै पुरानो विधा हो । विक्रम सम्वत् शुरू हुनुभन्दा पहिलेदेखि नै नाटक विधा चलनचल्तीमा आइसकेको थियो । विश्वको नाटक विधालाई अध्ययन गर्ने हो भने पहिला भावनृत्यबाट प्ररम्भ भएपछि मात्र सम्वाद नाटकको रूपमा देखा पर्दछ । तर हरिसिद्धि नाटक नेपालभाषाको त्यस्तो प्राचीन पहिलो नाटक हो जुन नाटक–नाटकको रूपमा विकसित भएपछि मात्र भावनृत्यको रूपमा विकास भएको देखिन्छ भनी आफ्नो सारगर्भित धारणा व्यक्त गर्नु हुने समालोचक प्रा. डा. चुन्दा वज्राचार्यले प्राचीन नेपालभाषा साहित्यको विकास र हाल देखापरेका केही नाटककारहरूका सन्दर्भमा “नेपालभाषा पूर्णाङ्की नाटकको विवेचना” नामक आफ्नो पुस्तकमा समालोचना गरिएको देखिन्छ । तसर्थ नाटक विधामा नेपालभाषाबाट पहिलो विद्यावारिधी गर्ने प्रथम महिला प्रा. डा. चुन्दा वज्राचार्यद्वारा लिखित प्रस्तुत पुस्तकलाई केन्द्रीकृत गरी संक्षिप्त रूपमा आलेखमा पर्यावलोकन गर्ने सानो जमर्को गरिएको छ ।

नाटककार तथा समालोचक प्रा. डा. चुन्दा वज्राचार्यका अनुसार प्याखँ (नाटक) नेपालभाषाको आफ्नै मौलिक शब्द हो । जसको अर्थ नाटक, नाच र भावनृत्य हुन्छ । गोपालराज वंशावली अनुसार नाटकहरू आफ्नै साँस्कृति परम्परानुसार विकास भएको हो । ने.सं. ५०० सालमा रचित “मानव न्याय शास्त्र” पुस्तकमा “निचिनि” शब्दको प्रयोग गरेर पात्र परिचयको उल्लेख गरिएको छ । नेपालमा पूर्व मध्यकालदेखि नै नाटक विधा सुब्यवस्थित किसिमले विकास भएको देखिन्छ । नेवारहरूले नाटकलाई विवाह, व्रतबन्ध जस्ता विभिन्न सामाजिक तथा धार्मिक कार्यहरू संग–संगै संस्कृतिका अभिन्न अंगका रूपमा निरन्तरता दिएको कारणले गर्दा नेवार समुदायमा नाटकको लोकप्रिय भएको कुरा चीनको ताङ वंशाबलीमा समेत उल्लेख गरिएको पाइन्छ भनी आफ्नो धारणा व्यक्त गर्नु भएको छ ।

नाटक संस्कृतिको नट् धातुमा अक प्रत्यय जोडेर निर्माण भएको शब्द हो । जसको अर्थ अभिनय हुन्छ । संस्कृतमा नाटकलाई पञ्चम वेद मानिन्छ । किनकि भारतीय विद्वान नाट्यशास्त्रका आचार्य भरतमुनिका अनुसार देउताहरूले प्रार्थना गर्दा ब्रह्माजीले ऋग्वेदबाट “पाठ” सामवेदबाट “गायन” यजुर्वेदबाट “अभिनय” र अथर्ववेदबाट “रस” लिएर नाटक नाम गरेको पञ्चम वेदको रचना गरे । त्यसैले पूर्वीय साहित्यमा नाटकलाई “नाट्यवेद” वा “पञ्यवेद” पनि भनिन्छ ।

साहित्यका चार विधाहरू मध्ये नाटक प्राचीन एवं समृद्धि विधा हो । साहित्यका अन्य विधाहरू श्रब्यविधा हुन् भने नाटक अभिनय दृश्यविधा हो । त्यसैले यसलाई दृश्यविधा पनि भनिन्छ । यसमा कुनै पनि विषयको कथा वा कहानी गद्य वा पद्यमा लेखिन्छ । मूलतः रङ्गमञ्चमा अभिनय गर्न सकिने किसिमको सम्वाद भएको साहित्यलाई नाटक भनिन्छ । तसर्थ “तीनवटै लोकका भावको अनुकरण नै नाटक हो” भनी पूर्वीय नाट्यशास्त्रका आचार्य भरतमूनिले भन्नु भएको छ भने “विभिन्न आस्थाहरूको अनुकरण नै नाटक हो” भनी धनञ्जयले परिभाषित गर्नु भएको पाइन्छ । अरस्तुका अनुसार “कुनै गम्भिर स्ंवयम्मा पूर्ण एवं सुनिश्चित आकारको कार्यको अनुभूति नाटक हो” भने कालिदासका अनुसार “नाटकमा सत्व, रज र तम तीनै गुणको समावेश हुन्छ । अतःएव विभिन्न रुचि भएका मानिसहरूलाई समानरूपले आनन्द दिने एक मात्र माध्यम नाटक हो ।” सिसिरोका अनुसार “नाटक मानव जीवनको अनुकरण र रीतिहरूको दर्पण हो ” भनेका छन् भने भारतलेन्दु हरिश्चन्द्रका अनुसार “काव्य सर्वगुण संयुक्त खेललाई नाटक भनिन्छ ।” त्यस्तै बामनका अनुसार “नाटक चित्रपटभैंm समस्त विशेषताले भरिएको चित्र विचित्रको हुन्छ अर्थात् दृश्य विधान गीत अभिनय आदि एवं रङ्ग प्रसाधनहरूले परिपूर्ण भएको हुनाले नाटक चमत्कारपूर्ण र आनन्ददायक हुन्छ” भनी नाटकका सम्बन्धमा आ–आफ्नो धारणा व्यक्त गर्नु भएको पाइन्छ ।

नेपालभाषाको उत्पत्ति र विकास नेपाल मण्डलमा भएको हो । विभिन्न कालखण्डमा जस्तै तिब्बतसंगको व्यापारको कारणले गर्दा तिब्बती भाषाको प्रभाव परेको देखिन्छ । त्यस्तै किरातीकालमा किरात भाषा, लिच्छवी र मल्लकालमा संस्कृति भाषा, शाहकालमा नेपाली भाषा र राणा तथा पञ्चायतकालमा एक भाषा नीतिले गर्दा नेपालभाषा लगायत अन्य सबै भाषाहरू ओझेलमा परेता पनि प्रजातन्त्र स्थापना भए पश्चातः पुनः विकास र विस्तार भएको देखिन्छ ।

नेपालभाषा नेवारहरूले बोलिने भाषा हो । यो भाषा प्राचीनकालदेखि नै एक सभ्य, सु–संस्कृत र समृद्धि भाषाको रूपमा रहेको देखिन्छ । रञ्जना, प्रचलित, वाह्मि, गुप्त, भुजिमोल, कुटिला, गोलमोल, लितुमोल, पाचुमोल, हिमोल, कुताक्षर र कुँमोल आदि गरी १४ वटा लिपिहरू रहेको यो भाषामा मुख्यतः रञ्जना, प्रचलित, वाह्मि, भुजिमोल लिपिहरू बायाँबाट दायाँ तर्पm लेखिन्छन् भने कुटिला लिपि माथिबाट तल लेख्ने गरिन्छ ।

भाषा तथा संस्कृतिविद् प्रा. डा. चुन्दा वज्राचार्यका अनुसार नेपालभाषा साहित्यको शुरुवात कहिले भयो भन्ने बारेमा कुनै ऐतिहासिक प्रमाण नपाएता पनि तत्कालिन समयमा रचित विभिन्न गीत, कविता, नाटक, काब्य तथा शिलालेखहरूबाट यसको विकास र विस्तार लिच्छवी र मल्लकालमा भएको हो भनी आफ्नो पुस्तकमा उल्लेख गर्नु भएको पाइन्छ । ने.सं.१०११ को ललितपुरको रुद्धवर्ण महाविहार स्थित ताडपत्रलाई नेपालभाषाबाट लेखिएको पहिलो अभिलेखको रूपमा लिन सकिन्छ भने ने.सं.६२५को भागवतपुराण ग्रन्थबाट नेपालभाषाको साहित्यिक इतिहास शुरू भएको देखिन्छ ।

मल्लकालिन शासनकालमा नेपालभाषा जनभाषा, राजभाषा, प्रशासनिक भाषा र सम्पर्क भाषा भएकोले राजकीय मान्यता प्राप्त भई साहित्यिक इतिहासमा मल्ल काललाई स्वर्णयुग मानिन्छ । शासकहरू स्वयम् नेपालभाषाबाट गीत, कविता, नाटक, ग्रन्थ, काब्य र शिलापत्र जस्ता कृतिहरू सृर्जना गरेर साहित्यको उत्थान र विकासका लागि अतुलनीय योगदान पु¥याउनु भएकोले प्राचीन इतिहासमा संस्कृत पछि नेपालभाषाको ठूलो महत्व छ । ने.सं.६८९को वीररस प्रधान “प्रणमति जुगमति” नामक गीतलाई नेपालभाषाको सबैभन्दा पहिलो काब्यको रूपमा मानिन्छ । मल्लकालिन राजा, रानी तथा प्रजाहरूले समेत सामाजिक तथा धार्मिक पर्वहरूमा नाटक प्रदर्शन गरेर नाटक साहित्यको उल्लेखनीय योगदान गरेको देखिन्छ ।

हुनत, नेपालभाषाको अन्धकार युग माध्यमिक कालको पहिलो चरणलाई लिन सकिन्छ । राजनीतिक दाउपेचका कारणले कोतपर्व पश्चातः देशमा डर र त्रासको वातावरण सृजना भएको समयमा पनि प्रजातन्त्र र भाषिक आन्दोलन गरिरहेका थिए । पण्डित् निष्ठानन्द वज्राचार्यले हस्त लिखित परम्परालाई तोडी मुद्रण परम्पराको थालनी गरि सहस्र प्रज्ञापारमिता र ललित विस्तर जस्ता ग्रन्थ रचेर धार्मिक तथा भाषिक जागरण ल्याएका थिए भने महाकवि सिद्धिदासले सिद्धि रामायण, सत्यसती, सञ्जन हृदयाभरण आदि जस्ता काब्य रचेर नेपालभाषालाई समृद्धि बनाएका थिए । कवि योगवीर सिंहले काब्य मार्पmत भाषिक तथा साँस्कृतिक जागरण ल्याएका थिए भने मास्टर जगतसुन्दर मल्लले मातृभाषाको माध्यमद्वारा शिक्षा दिने पाठ सिकाएको देखिन्छ । शहिद शुक्रराज शास्त्री (शुक्रराज जोशी) ले नेपालभाषा व्याकरण पुस्तक लेखि स्तरीय भाषा बनाउन सहयोग पु¥याए भने धर्मादित्य धर्माचार्यले “बुद्धधर्म र नेपालभाषा नामक पत्रिका प्रकाशन गरेर पत्रिकाको परम्परा बसालेका थिए ।

नेपालभाषामा स्वच्छन्दतावादी धाराको प्रयोग ई.सं. ११२८ मा कवि वैकुण्ठ प्रसाद लाकौलबाट श्री गणेश भएको देखिन्छ । आधुनिक कथाको शुरूवात “खुपु बाखंचा” नामक कथाका कथाकार चित्तधर हृदयबाट भएको थियो । निबन्धमा धर्मादित्य धर्माचार्यले नेपालभाषा व थ्वया साहित्य अनुसन्धानात्मक प्रबन्ध बुद्धधर्म व नेपालभाषा (ने.सं. १०४९) मा प्रकाशित गरी निबन्ध विधा थालनी गरेको देखिन्छ । प्रकाशनको हिसाबले सत्यमोहन जोशीको भगवान् बुद्ध नाटक (ने.सं. १०७०)लाई लिन सकिन्छ । पूर्णाङ्की नाटकमा ई.सं. १९५४ को शुद्धर्शन श्रामणेरको “अम्बपाली”लाई मान्न सकिन्छ । उपन्यासमा धुस्वां साय्मीको ई.सं. ११५४ मा प्रकाशित “मिसा” नामक कृतिबाट आरम्भ भएको थियो भने समालोचना तर्फ धर्मदित्य धर्माचार्यले आफ्नै पत्रिका “बुद्धधर्म व नेपालभाषा” पत्रिकामा प्रकाशित “नेपालभाषा व थ्वया साहित्य” बाट थालनी भएको देखिन्छ ।

समालोचक प्रा.डा. चुन्दा वज्राचार्यको पुस्तकको शब्दावलीलाई पैंचो माग्ने हो भने नेपालभाषा नाटकको टिप्पोट लेखन कार्यको प्रारम्भ पाटनबाट शुरू भएपछि काठमाडौं र भक्तपुरमा पनि थालनी भएको देखिन्छ । त्यसबेला नेपालभाषाका नाटकमा मैथली, संस्कृत, हिन्दी, उर्दु, प्राकृतभाषा प्रयोग गरेर नाटक लेख्ने परम्पराको प्रारम्भ भएको थियो । भक्तपुरका राजा जितामित्र मल्लले संस्कृत र नेपालभाषा प्रयोग गरेर नाटक लेखन कार्य प्रारम्भ गरिएका थिए भने जितामित्र मल्लले नै नेपालभाषा, संस्कृत र मैथलीभाषा प्रयोग गरेर ने.सं. ८०४ मा “कालिका मथंनोपाख्यान” नाटक लेखेका थिए । त्यस्तै बंगाली संस्कृति, मैथली र नेपालभाषा प्रयोग गरेर ने.सं. ८१० मा “गोपीचन्द्र” नाटक लेखिएको थियो भने नेपालभाषा, मैथली र संस्कृतिभाषा प्रयोग गरी भूपतीन्द्र मल्लले “जालन्धरोपाख्यान” नाटक, रणजीत मल्लले ने.सं. ८५८ मा लेखिएको “कृष्णचरित्र”, भाष्कर मल्लले “किरातार्जुनीय” नाटक, नेपालभाषा, बंगाली र संस्कृतभाषा प्रयोग गरेर रणजीत मल्लले ने.सं. ८६७ मा “कृष्ण कैलाश धात्रोपाख्यान” नाटक लेखिएको देखिन्छ । सर्वसाधारण जनतामा मणिधन दैवज्ञले पनि ने.सं. ८३३ मा “परशुरामोपाख्यान” नाटक नेपालभाषा र मैथलीभाषाको प्रयोग गरी नाटक लेखिएको थियो ।

नाटक लेखन परम्परा पूर्व–मध्येकालमा आरम्भ भएको हो । यसको करिब एक सय पचास वर्षपछि मात्र नेपालभाषामा नाटक लेखन कार्य शुरू भएको थियो । पाटनका राजा श्री निवास मल्लले ने.सं. ७५१ मा “एकादशी व्रत” एकाङ्की नाटकको टिपोट लेखी यस परम्पराको आरम्भ गरेको देखिन्छ । यो नाटक एकादशी व्रतको कथामा आधारित छ । नाटकको रूपमा भक्तपुरका राजा जगत प्रकाश मल्लले “मूलदेव शशीदेव” पूर्णाङ्की नाटक लेख्नु भएको थियो । सर्वसाधारण जनताको तर्पmबाट रत्न वज्राचार्यले ने.सं. ८१६ मा रचित “वसुन्धरा” पहिलो नाटक हो ।

प्रा.डा. चुन्दा वज्राचार्यले “नेपालभाषा पूर्णाङ्की नाटकको विवेचना” नामक आफ्नो पुस्तकमा केही नाटककारहरूको कृतिका सम्बन्धमा सुक्ष्मरूपमा समालोचना गरिएको पाइन्छ । उनीकानुसार नेपालभाषाको पूर्व– आधुनिक नाटकीय प्रवृत्ति अन्तर्गत भिक्षु सुदर्शनका नाटकलाई केलाउने हो भने उनका १२ वटा नाटकहरूमध्ये ८ वटा प्रकाशित र ४ वटा अप्रकाशित छन् । उनको ने.सं. १०७५ मा पहिलो प्रकाशित “अम्बपाली” नाटक हो भने दोस्रो ने.सं. १०७७ मा प्रकाशित “राष्ट्रघात” नाटक हो । त्यस्तै जुजु जयप्रकाश (ने.सं. १०८२), विम्वसार (ने.सं. १०८२), आशंका (ने.सं. १०९१), सुप्रिया (ने.सं. १०११), प्रतिशोध (ने.सं. ११०८) र पताचार (ने.सं. १११७) नाटकहरू प्रकाशित भएका छन् भने अप्रकाशित नाटकहरूमा जि वया ला लछि मदुनि, विश्वासघात, विजय र सिद्धान्त रहेको देखिन्छ । उनका ८ वटा नाटकहरू बौद्धधर्ममा आधारित छन् भने अरु नाटकहरू लोक कथा, सामाजिक भावना र ऐतिहासिक घटनामा आधारित देखिन्छ । वियोगान्त नाटकहरूमा अम्बपाली, राष्ट्रघात, आशंका, विम्बिसार र जुजु जयप्रकाश नाटकलाई लिन सकिन्छ भने संयोगान्त नाटकको रूपमा प्रतिशोध र सुप्रिया रहेको छ ।

भिक्षु सुदर्शनले इब्सेन शैलीका नाटक सृजना गर्ने मनोकांक्षा हुँदा हुँदै पनि शेक्सपियर शैलीका नाटक सृजना गरेका थिए । त्यसैले उनको नाटकमा इब्सेन शैलीको आभास पाइन्छ । भिक्षु सुदर्शन ग्रीक र रोमन परम्परागत नाटकहरूबाट पनि प्रभावित थिए । प्राचीन रोमन नाटककार सेनेकाका नाटकमा जस्तै डबलीमा नै रगतको खोला बगाएर दर्शकहरूलाई त्रास दिने जस्ता नाटकहरूको रचना गरेको देखिन्छ । विम्बिसार, आशंका र अम्बपाली नाटकहरूमा पनि भिक्षु सुदर्शनले रगतको खोला बगाइएको छ । सत्ताच्यूट गरेर जेलभित्र राखिएका विम्बिसार राजालाई नापितले खुट्टामा घाऊ बनाएर रगत बगाएको मात्र होइन घाऊमा नुनचुक दलेको बीभत्स दृश्यले अझ उत्तेजित बनाएको देखिन्छ । आशंका नाटकमा रणदुल्लभले आत्महत्या गर्ने क्रममा जीवन र मरणको दोसाधमा घिटिघिटी परेर रगत बगाइरहेको दारुण दृश्य र रणदुल्लभका प्रेमीका सुलोचनाले घिटिघिटी भएर मरणको अवस्थामा पुगेका आफ्ना प्रेमीको शरीरमा रहेको खुकुरी लिएर आपैmले आत्महत्या गरेको विभत्स दृश्य समेत देखाइएको छ । यसरी डबलीमा रगतको खोला बगाएर भिक्षु सुदर्शनले नाटकमा विभत्स रस उत्पन्न गराइदिएका छन् ।

पाश्चात्य परम्परा अनुरूप त्रिकालिक योजनालाई शेक्सपियरले जस्तै भिक्षु सुदर्शनले पनि उलंघन गरेका छन् भने परम्परागत नाटकमा द्वन्द्वलाई मात्र स्थान नदिई विचारात्मक द्वन्द्वलाई पनि प्रबलरूपमा स्थान दिइएको देखिन्छ । राष्ट्र र मातृप्रेमबाट प्रभावित उनका नाटकमा मानव समाजलाई सुव्यवस्थित गर्न विषयवस्तुका रूपमा समावेश गरिएको छ । विश्वका आधुनिक नाटकमा नारी स्वतन्त्रतालाई केन्द्रित गरिएको पहिलो नाटक इब्सेनको “पुतलीको घर” हो । भिक्षु सुदर्शनले पनि राष्ट्रघात नाटक बाहेक अरु नाटकहरूमा नारी पात्रहरूले परम्पराको विरोध गरेर नारी स्वतन्त्रताको लागि कठिन आवाजहरू बुलन्द गरेको देखिन्छ । तसर्थ उनका नाटकमा नारी र पुरुषका बीच समान व्यवहार गरिएका छन् । शान्तिको बाटो वैरभावले होइन मैत्रीभावले मात्र सम्भव हुन्छ भन्ने मूल आशयका साथ उनले सन्देश दिन खोजेको देखिन्छ भनि प्रा.डा. चुन्दा वज्राचार्यले नेपालभाषा पूर्णाङ्की नाटकको विवेचना नामक पुस्तकमा आफ्नो धारणा व्यक्त गर्नु भएकी छिन् ।

सत्यमोहन जोशी नेपाली र नेपालभाषा साहित्यका स्थापित नाटककार हुन् । ने.सं. १०७० मा प्रकाशित “गौतम बुद्ध” एकांकी नाटक उनको पहिलो कृति हो । जयप्रकाश र कलाकार अरनिको महाचैत्य दुईवटा महाकाब्यको सृजना गरेका छन् । नेपालीभाषामा ६ वटा नाटकहरू फर्केर हेर्दा, जब घाम लाग्छ , सिपाई र रैती, सपना बिउँझन्छ , दैलोको बत्ती र मृत्यु एक प्रश्न लेखेका नाटककारले नेपालभाषामा ३ वटा पूर्णाङ्की नाटकहरू सिद्धिदास (ने.सं. १०७५), ७ दँलिपा (ने.सं. १०९१) र वैद्य बा (ने.सं. १०९१) लेखेका छन् भने अप्रकाशित नाटकमा “योगवीर सिं” रहेका छन् । सिद्धिदास नाटकमा सिद्धिदासको पारिवारिक जीवन र साहित्यिक योगदानका बारेमा चर्चा गरिएको छ भने ७ दँ लिपा नाटकमा वि.सं. २००७ साल अगाडि थेरवाद भिक्षुहरूले बुद्ध धर्मको प्रचार–प्रसारका लागि नेपालभाषाको माध्यमबाट धर्म देशना गरेको कारणबाट राणा सरकारले केही भिक्षुहरूलाई देश निकाला गरेको र विदेशमा बसेर पनि विभिन्न साधना गरेको विषयवस्तु माथि केन्द्रीकृत भएर नाटक लेखेको देखिन्छ । उनले “वैद्य बा” नाटकमा नेपालभाषामा पहिलो शब्दकोष निर्माण गर्ने पन्नाप्रसाद वैद्यको भाषिक योगदानलाई कदर गरि स्मरणस्वरूप प्रस्तुत नाटक लेखिएको पाइन्छ । सत्यमोहन जोशीका तीन वटा नाटकहरू परम्परागत शैलीका छन् । नाटकभित्र विभिन्न स्थानमा कविता र गीत समावेश गरिएको छ । समाजमा जातिय भेदभाव होइन समानताको भावना हुनुपर्छ भन्ने उनको मान्यता रहिआएको देखिन्छ ।

स्व. हेमलाल जोशी नेपालभाषाका ऐतिहासिक नाटककारको रूपमा प्रख्यात छन् । ने.सं. १०८३ मा प्रकाशित उनको “खड्ग सिद्धि” पहिलो नाटक हो । शेक्सपियरको दुखान्त नाटकबाट प्रभावित भएर “सदाशिव” (ने.सं. १०८५) नाटकको सृजना गर्नु हुने स्व. हेमलाल जोशीले बालकृष्ण समको “म” नाटकबाट प्रभावित भएर समाजको सम–सामयिक विषयमा “रुपा” (ने.सं.१०८६) नाटक लेखिएको देखिन्छ । “सदाशिव” नाटक महेन्द्र मल्लका छोरा सदाशिवको जीवनमा प्रेम असफल भएको कारणले विसंगति आएको विषयवस्तुमा आधारित नाटक हो । सामाजिक नाटक “रुपा” मा नारीमुक्ति र नारी स्वतन्त्रताका लागि आवाजहरू बुलन्द गरिएको छ । जागिरको लागि उमेर बढाएर चाँडै नोकरीबाट अवकास प्राप्त गरेका एक कर्मचारीको घरमा उत्पन्न भएको आर्थिक समस्यालाई नै मुख्य विषयवस्तु बनाएर यस नाटकमा नैतिक शिक्षा दिन खोजेको देखिन्छ ।

नेपालभाषा नाटक साहित्यमा जनकलाल वैद्यको “कल्याणी” (ने.सं. १०८७) र बासुपासाको “श्रद्धा” (ने.सं. ११०४) नाटकले पनि विशेष स्थान ओगटेको पाइन्छ । नारी चरित्रमा पति भक्तिका भावनालाई केन्द्रीकृत भएर लेखिएका यी नाटकहरूमा नारीका स्वच्छ मनले उपासना गरेका पुरुषले पछि गएर श्रीमानका रूपमा प्राप्त हुने प्रवल सम्भावना व्यक्त गरिएका छन् । जनकलाल वैद्य र बासुपासाले प्राचीन परम्पारगत नाटक शैलीमा नै नाटक सृजना गरेता पनि आधुनिक विचारधारालाई पनि स्थान दिएको देखिन्छ ।

स्व. गिरिजाप्रसाद जोशी नेपालभाषा साहित्य क्षेत्रका प्रगतिशील विचारधाराका बहुप्रतिभाशाली नाटककार हुन् । उनले गुंपुन्ही अर्थात जनैपूर्णिमाताका नेवार संस्कृति अनुसार दबू प्याखँ (डबली नाटक) देखि भिडियो फिल्म समेत लेखेर निर्देशन गरेका छन् । उनका “बाखाछेँ” (ने.सं. ११०२) र “हाकुस्वाने” (ने.सं. ११०७) नाटक गरी २ वटा प्रकाशित छन् । अप्रकाशित नाटकहरूमा जिला ज्यापु जुवने, छगू ब्वसा, बरवादी स्वैगु ?, थ्वँगुलु मास्टर, भूल, भ्वातिं, मिसा पासा, पश्चाताप र कलंक हुन् । उनको नाटकमा देखाइएको समस्या भनेको गरिबीको कारण उत्पन्न आर्थिक समस्या हो । “बाखा छेँ” नाटकमा दाजुभाई दुई जना बीचको अंशबण्डा पछि दाजुले जति आर्थिक विकास गरेको हुन्छ त्यति भाईले गर्न सकेका हुँदैन । दाजुको घरसंगै भाईको घर जीर्ण भएर पनि मर्मत गर्न नसकेको, कमाई गर्न सक्ने ठूलो छोरा विवाह गरेर घर बाहिर बस्न गएपछि आर्थिक बोझ छोरी माथि परेको, नारी चरित्रमा दाग लगाए मात्र जागिर दिने अमानबीय व्यवहारले गर्दा जागिर खान नसकेको, घरको आर्थिक अवस्था बिग्रेको कारणले गर्दा आफ्नो प्रेमीलाई छोडेर साहुका छोरासंग विवाह गर्ने तर्पm विचार गर्नु पर्ने स्थिति आएको, जीवनलाई नै प्रेम ठानेर प्रेमीसंग वैवाहिक जीवन व्यक्तित गर्ने मनोकांक्षा भएर पनि त्याग्नु परेको आदि इत्यादि जस्ता समाजभित्रका निम्न वर्गले भोग्नु परेका समस्याहरूलाई नै केन्द्रीत गरि लेखिएको नाटक हो । “हाकुस्वाने” आधुनिक नाटकमा नयाँ प्रयोग गरिएको पूर्णाङ्की नाटक हो । कालो व्यापार गरि अनैतिक तरीकाबाट धनी बनेका घरपरिवारसंग सम्बन्धित प्रस्तुत नाटकमा न उनीहरूलाई समाजले राम्रो दृष्टिकोणबाट हेरिन्छ न खुशी भएर बाँच्न सकिन्छ भन्ने मूल आशय रहेको पाइन्छ । नाटकमा आर्थर मिलरको “अलमाइ सन्स”को शैलीबाट प्रभावित भएर लेखिएको प्रस्तुत नाटकका प्रत्येक पात्रहरू पैसाका लागि दौडिरहेको स्पष्ट हुन्छ ।

नेपालभाषाको नाटक साहित्यमा नर्वेको इब्सेनको स्कूलभित्र बसेर सर्वप्रथम नाटक सृजना गर्ने नाटककार इश्वरानन्द श्रेष्ठाचार्य हुन् । पसुका (ने.सं. १०७७), थःगु छेँ (ने.सं. १०७८), फिल्कुतिं (ने.सं. १०७९) र फसंपु लप्ते (ने.सं. १०८०) नाटकका स्रष्टा ईश्वरानन्द श्रेष्ठाचार्य नेपालभाषा आधुनिक नाटक वा समस्या मूलक नाटकका रूपमा नाटक विधालाई अग्रसर गराउने प्रथम नाटककारका रूपमा परिचित छन् । “थःगु छेँ” नाटक “पुतली घर” नाटक जस्तै नेवारी समाजका नारीहरूको समस्या समेटिएको नाटक हो । नेवार समाजमा धर्म, संस्कृति र परम्परामा नारी र पुरुषलाई समान रूपमा हेर्ने परम्परा रहेता पनि समाजमा नारीहरूलाई दबाउने प्रवृत्तिका कारणले गर्दा नारीहरू माथि समस्या आइपरेका हुन् । नारी समस्याको मूलकारण खोज्ने कार्य “पसुका” एकाङ्की नाटक संग्रहदेखि नै शुरू गरेका हुन् । “पसुका” एकाङ्की नाटक संग्रह ने.सं. १०७७ मा प्रकाशित भएको हो । नाटक संग्रहमा संग्रहित मिसा, अप्सरा, न्हूगु लँय् मिला र मिसाया पलाखय् तीन एकाङ्की नाटक पूर्णरूपमा नेवार समुदायले भोगेको समस्या मात्र होइन अविकसित राष्ट्रका नारीहरूले भोगिरहेका समस्या पनि हुन् । “मतिना” नाटक नेवार समाजिक दृष्टिकोणले अति नै राम्रो भएता पनि मानव हृदयलाई चोखो नराखिकन बनाइएको साँस्कृतिक परम्पराबाट संचालित भएको समाज हो भनेर महसुुुस गराउने नाटक हो । “अप्सरा” नाटक कवितात्मक शैलीको नाटक हो । यो नाटक प्रतिकारात्मक रूपमा मानव मात्रका अन्तर जगत्को एउटा अभिव्यक्ति हो । उनले लेखेको नाटकमा नारी समस्या मात्र होइन पारिवारिक समस्यालाई समेत समेटिएका छन् ।

“समाजलाई केही आफ्नो विचार दिनु पर्छ भनेर सृजना गरेको साहित्य, सृजनात्मक साहित्य होइन । त्यस्तो साहित्यमा साहित्यभित्र नै बलात्कार गरिएको हुन्छ । वर्तमान साहित्यकारहरूले साहित्य सृजना गरेर साहित्यभित्र नै बलात्कार गरिरहेका छन् ।” यो भनाई नेपालभाषाका नाटककार बासुशशीको हो । उनी नेपालभाषा साहित्य क्षेत्रमा “ताःचाप्वाँय्” नाटक सृजना गरेर बहुचर्चित भएका नाटककार हुन् । उनको साहित्य सृजना सम्बन्धी धारणा कोचेको अभिव्यक्तिवाद सिद्धान्तसंग मिल्दोजुल्दो छ । जनैपूर्णिमा र भाद्र शुक्ल पूर्णिमा (इन्द्रजात्रा) अवधिभर नेवारहरूको समाजमा प्रदर्शन र दबू प्याखं (डबली नाटक) मञ्चन गर्ने परम्परा छ । यही परम्परामा जयबागेश्वरी (गोल) टोलमा नाटककारका रूपमा देखिएका व्यक्ति हुन बासुशशी । उनले शुरू शुरूमा जे जति नाटकहरू लेखे ती सबै दबू प्याखँका रूपमा मञ्चन गर्ने किसिमले लेखेका थिए । उनले नाटक लेखिसकेपछि पाण्डुलिपि निर्देशक वा कलाकारहरूलाई दिने गरेकोले कति नाटक लेखे र मञ्चन भए त्यसको कुनै लेखाजोखा भएन् । नाटक मञ्चन पछि पाण्डुलिपि फिर्ता दिने चलन थिएन् र नाटक मञ्चन पश्चात् त्यसै चर्चामा आए पनि पछि सेलाएर जाने गरिन्थ्यो ।

बासुशशी नेपालभाषा क्षेत्रमा उपन्यास लेखेर प्रवेश गरेका हुन् । तर त्यो उपन्यास कुन हो भनेर उहाँलाई सम्झना छैन । उहाँले नेपालभाषामा जे–जति नाटकहरू लेखिएका छन् ती सबै पूर्णाङ्की नाटकका रूपमा लेखिएका छन् । उनको दबू प्याखँ नाटकका रूपमा मञ्चन भई प्रकाशित नाटकहरूमा ताःचा प्वाँय् (ने.सं. १०८६), झुमियंम्ह मनू (ने.सं. ११०६) र अप्रकाशितमा मिसा, लाखा रहेको छ । “मिसा” नाटकमा नारी समस्या मूलतः श्रीमतीलाई वेवास्ता गर्ने र मनस्थिति नबुझने लोग्नेको स्वास्नीका मानसीक समस्यालाई समेटिएका छन् भने “लाखा” नाटक केटीहरूलाई लाखा (पैसा) लिएर सामान बेचिए भैंm बेचिएका नारीहरूका बैवाहिक समस्यालाई केन्द्रीत भएर लेखिएको समस्यामूलक नाटक हो ।

नेपाल मण्डलमा इन्द्रजात्राको समयताका विभिन्न टोलहरूमा रातीको नौ, दश बजेतिर नेपालभाषाको माध्यमबाट दबू प्याखँ (डबली नाटक) देखाउने चलन थियो । खुल्लारूपमा विना पर्दा चारैतिर सबै दर्शकहरूले हेर्न मिल्ने उक्त दबू प्याखँ (डबली नाटक) मा विशेषतः सामाजिक विषयवस्तुमा आधारित हुने र सामान्यतया तीन घण्टासम्म पनि नाटक मञ्चन हुने गरिन्थ्यो । स्थानीय जनताहरूको चन्दाबाट मञ्चन हुने उक्त दबू प्याखँमा दर्शकहरूको ठूलो भीड लाग्ने र पुरुषहरूले नै महिलाको भूमिका समेत निभाउने भएकोले उक्त समयसम्म पनि नाटकीय विधामा महिलाहरूको सहभागीता हुन सकेको देखिँदैन । हाल दबू प्याखँ लोप भैसकेको छ ।

“ताःचाप्वाँय्” नाटक त्यस्तो नाटक हो जुन डबलीमा मञ्चन भएको ११÷१२ वर्षपछि ने.सं. १०८६ मा प्रकाशित पहिलो नाटक हो । यो नाटक नेपालभाषाका प्रसिद्ध कवि दुर्गालाल श्रेष्ठले नाटककारलाई थाहा नै नदिई प्रकाशित गरेका हुन् । वस्तुतः एकदिन बासुशशी जयवागेश्वरीका कृष्ण मानन्धरको पसलमा जिरा किन्न गएका थिए । त्यही पसलमा उनले किनेर ल्याएको जिराको पोकामा आफ्नै हातले लेखेको अक्षर देखेपछि उनी आपैmले “ताःचाप्वाँय्” नाटकको कागज भनेर पसलमा हेर्न गएको बेला (पसलमा उनले आफ्नो घरमा जिरा पोका पारेर ल्याएको) एउटा कागज मात्रै च्याटिएको र अन्य जस्ताका तस्तै पाए र त्यही पाण्डुलिपिलाई दुर्गालाल श्रेष्ठले पढ्छु भनेर लगेर पुस्तकको रूपमा प्रकाशित गरे ।

“मलाई यो अनुभूति छ मातृभाषामा लेख्दा मलाई आफ्नै रगतले लेखे जस्तो लाग्छ, अन्य भाषाले लेख्दा पार्कर क्वीनले लेखे जस्तो हुन्छ ।”भनी गौरव गर्ने नाटककार बासुशशी नेपालभाषाको साहित्य क्षेत्रमा मौलिक नाटककारको रूपमा बहुचर्चित छन् । वि.सं. २०४२ सालमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट “बासुरीमा नअटाएका धुनहरू” नामक नाटक प्रकाशित भएको थियो । यो नाटक नेपालभाषाको “झुमियंम्ह मनू” नाटकको फरक अनुवाद हो । बासुशशी आधुनिक नाटक विधा विकास गर्ने नाटककार हुन् । उनी समाजलाई बुझेर समस्यालाई समाधान गर्न सक्ने बहुप्रतिभाशाली हुन् । उनी नेपालभाषाको नाटक विधामा इब्सेन, वर्नाड शा, अर्थर मिलर लगायत शरदचन्द्र चटोपाध्याय र रामेर सुमतिबाट समेत प्रभावित भएकोले उनीहरूकै शैली नेपालभाषामा समावेश गरेका छन् । बासुशशीले नेपालीमा “बाँसुरीमा नअताएका धूनहरू” र त्यसैलाई नेपालभाषामा “झुमि यंम्ह मनू” एकैचोटी संगसंगै लेखिएका नाटक हुन् । एकातिर नेपालभाषाबाट र अर्कोतिर नेपालीबाट लेखेको हुनाले नत अनुवाद जस्तो भयो न त भाषाकै मौलिक नाटक जस्तो भयो । तर डबलीमा मञ्चन गर्दा नेपालीबाट लेख्नु भएको “बाँसुरीमा नअताएका धूनहरू” नेपाल प्रज्ञाप्रतिष्ठानको रंगमञ्चमा मन्चन हुँदा धेरैले प्रशंसा गरेबाट चर्चित नाटक बन्न पुग्यो ।
विजय बहादुर मल्ल नेपालभाषाको नाटक साहित्यमा धेरै पछि देखिएका नाटककार हुन् । उहाँको कुनै पनि नाटक प्रकाशित नभएता पनि बेला बखत रंगमञ्चमा प्रदर्शित हुँदै आएका छन् । विजय बहादुर मल्ल नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्य सचिव भएको समयमा माधव प्रसाद घिमिरेको विरोधका बाबजूत पनि प्रज्ञाप्रतिष्ठानको मञ्चमा नेपाल युथ क्याम्पसको संझ्याः साहित्य पालाः नामक संस्थाले आयोजना गरेको नेपालभाषाको एकाङ्की नाटक प्रदर्शन गर्न दिइएको थियो । जुन नाटक प्रदर्शनमा विजय बहादुर मल्लको “लपंख्याः” एकाङ्की नाटक पनि प्रदर्शन गरिएको थियो । “कुलां चकनी तिनि” नाटकमा नेवार समाजको रुढिवादी परम्परालाई सशक्त ढंगले बिद्रोह गरी नारी स्वतन्त्रता र समानताको आवाज उठाएको कारणले यो नाटक अत्यधिक दर्शकहरूले रुचाएकोले लोकप्रिय भई विजय बहादुर मल्ललाई नेपालभाषामा नाटक लेख्न आकर्षित गरिएको देखिन्छ । तर वि.सं. २०४८ सालमा प्रज्ञाप्रतिष्ठानले आयोजना गरिएको नाटक महोत्सवमा उनले नेपालभाषामा लेखेको “क्वसा नुगः” नामक एकाङ्की नाटक भने प्रदर्शन गर्न रोकिएको थियो ।
कुलां चकनी तिनि (ने.सं. ११०३), किसि न्याइम्ह मदनमान (ने.सं. ११०५) र किपालुं लिनाच्वंम्ह मनू (ने.सं. ११०९) उनका लोकप्रिय नाटक हुन् । “कुंला चकनी तिनि” नाटकमा एउटी नारीले स्कूलको शिक्षण पेशा छोडेर धनी पुरुषसंग विहे गरेकी हुन्छे । अन्तरजातीय प्रेम विवाह गरेर गएकी नन्दलाई आफ्नो घरमा भित्र्याएको र विवाह गर्न उस्काएको भनी उनका सासु र लोग्नेले दोषारोपण गरेकोले माइतीमा गई पुनः आफ्नो शिक्षण पेशा अंगाल्न थाल्छे । उनी लोग्नेसंग सम्बन्ध बिच्छेद चाहन्थें तर लोग्नेले सम्बन्ध बिच्छेद नगरी बरु श्रीमतीले भने बमोजिम आमाको पनि सहमति लिई बहिनी र ज्वाईलाई घरमा ल्याउन स्वीकार गर्छन भने “किसि न्याइम्ह मदनमान” नाटकमा सस्तोमा सामान किनेर महँगोमा बिक्री गरी नाफा कमाउने प्रवृति देखाएका छन् । ब्राह्मणले कात्रो खाएर मालसामान र हात्ति पनि दान पाएका हुन्छन् । आफ्नै परिवारले बिरोध गरेतापनि उक्त सामान र हात्ति किन्छन् । तर हात्तिले जनताको धेरै धनमाल नोक्सान पारेकोले काठमाडौंमा मात्र होइन तराईमा समेत बिक्री गर्न सक्दैनन् । त्यसैले उनले एउटा स्कूलमा हात्तिलाई दान दिन्छन् । उनी घरमा जाँदा छोरीले सेफभित्रको सबै धन सम्पत्ति दिएर पोइला गएकीले मदन मानलाई ठूलो आघात पर्छ र नाटकको अन्त हुन्छ । त्यस्तै “किपालुं लिना च्वंम्ह मनू” नाटकमा करोडपति बुवाको एक्ली छोरी भएकोले दोलाजी विवाह गराउने पक्षमा हुन्छन् । छोरीको प्रेमी हुन्छ तर तराईको एक जना सोझो केटोलाई दोलाजी बनाउन घरमा राख्छन् । प्रेमीले केटीको घरमा सम्पतिको लोभले प्रेम गरेको थाहा पाए पछि केटीले आफ्नै घरको केटोसंग विवाह गर्ने निधोमा पुगेको हुन्छ । यसरी नाटकको अन्त हुन्छ । नेवार समाजमा केटालेमात्र विवाह गरेर दुलही भित्र्याउने होइन केटीहरुले पनि दुलाह भित्र्याएर विवाह गर्न सकिन्छ भन्ने पुरुष र महिलाबीचको समान धारणा व्यक्त गर्नु भएको छ ।

विजय बहादुर मल्ल नाटकका विषयवस्तु पुरुष प्रधान समाजमा बाँचेका नारीहरूको समस्या, जातीय भेदभाव, अन्तरजातीय वैवाहिक सम्बन्धका कारण उत्पन्न समस्या, नारी अस्सिमतालाई चिन्न नसक्ने पुरुषहरूका कारण उत्पन्न समस्या सामाजिक परम्परामा नारीहरूले निभाएका भूमिकामा देखिएका समस्या र बाल विवाहका समस्या हुन् । उनका नाटकमा नेवार नारीहरूले आपूm बाँचिरहेको समाजको संस्कृतिलाई राम्ररी बुझ्न नसकेको समस्या मात्र होइन् नेवार संस्कृतिले प्रदान गर्दै आएको नारी स्वतन्त्रता र समानतालाई बुझ्न नसक्ने समस्या पनि छन् भनी प्रा.डा. चुन्दा वज्राचार्यले आफ्नो धारणा व्यक्त गर्नु भएकी छिन् ।

विशिष्ट समालोचक प्रा.डा. चुन्दा वज्राचार्य नेपालभाषा साहित्यका एक सबल स्तम्भ हुन् । इतिहास तथा अनुसन्धानकर्ताको हैसियतले उहाँको समालोचनामा गहन अध्ययन, अनुसन्धान र विश्लेषणको गहिरो छाप देखिन्छ । निर्भिक, निष्पक्ष, कुशल र इमान्दारीताका आधारमा वस्तुता, सत्यता र प्रमाणहरूको विश्लेषण गरी सिद्धान्ततः तार्किक व्याख्या गरी भाषा र साहित्यमा ठूलो योगदान गर्नु भएकी प्रा.डा. चुन्दा वज्राचार्यका थुप्रै कृतिहरू कालजीवी छन् ।

भनिन्छ, लोभ र पापबाट मुक्त भएपछि मात्र समालोचक बन्न सकिन्छ । तसर्थ यो एउटा अत्यन्तै जटिल बौद्धिक एवम् प्राज्ञिक कार्य भएकोले समालोचनालाई साहित्यको एउटा महत्वपूर्ण विधाको रूपमा लिइन्छ । पाश्चात्य साहित्यमा प्लेटो (ई.पू. ४२८–३४८) लाई पहिलो समालोचकको रूपमा लिने गरिन्छ भने पूर्वीय जगत्मा आचार्य भरतमुनि (इसापूर्व प्रथम सताब्दीतिर) लाई पहिलो समालोचकका रूपमा हेर्ने गरिन्छ । नेपाली इतिहासमा वि.सं. १९४८ मा मोतीराम भट्टले भानुभक्त आचार्यको “जीवन चरित्र” लेखेपछि समालोचना आरम्भ भएको मानिन्छ भने आधुनिक समालोचनाका रूपमा सूर्य विक्रम ज्ञवालीको “नैवेद्य” बाट थालनी भएको देखिन्छ ।

विश्व नाटक साहित्यको विकासको प्रवाहमा हेनरिक जोन इब्सेनलाई आधुनिक नाटकका पिता अथवा समस्यामूलक नाटकका पिता भन्ने गरिन्छ । तत्कालिन समाजमा समस्या र विसंगतिलाई उजागर गरि सर्वसाधारण जनतालाई जागरण ल्याउनु नै आधुनिक नाटकको मूल उद्देश्य हो । नेपालमा दबू प्याखँ (डबली नाटक)मा पनि इब्सेनका आधुनिक नाटकसंग तुलना गरियो भने समस्या, पात्र, वैचारिक, द्वन्द्व, रुढिवादी विरोध आदिसंग मिल्दो जुल्दो भएको देखिन्छ । जनताले अन्याय, अत्याचार र शोषणबाट उन्मुक्त हुनका निम्ति अनेकौं उपायहरू खोजि रहेका थिए । जसको परिणाम स्वरुप नेपालमा पनि दबू प्याखँ (डबली नाटक) को जन्म भएको हो । समाज सुधारका लागि सन्देश बोकेका अनगिन्ती दबू प्याखँहरूले नेवार जातिको संस्कृति र परम्परा अनुसार टोल–टोल र चोक–चोकमा रातका समयमा पनि सुव्यवस्थित तरीकाबाट प्रदर्शन गर्दै आएका थिए ।

अन्तमा तत्वभिनिवेशी समालोचक प्रा.डा. चुन्दा वज्राचार्यका पुस्तक “नेपालभाषाका पूर्णाङ्की नाटकको विवेचना”लाई समग्र रूपमा नियालेर हेर्ने हो भने जटिल विषयलाई पनि अति सरल र कलात्मक तरीकाबाट नाटकहरूका सन्दर्भमा जीवन जगत्बारे विभिन्न दर्शनहरू व्यक्त गरिएका छन् । गरिबी, अशिक्षा, पछौटेपन, नारी समस्या, समाजमा रहेका विकृति, विसंगति र अस्तव्यस्तताका यथार्थ चित्रण गरी सुधारका अपेक्षा गरिएका छन् । उद्देश्यको दृष्टिकोणले समाजलाई सचेत बनाउने प्रयासमा समाजिक शिल्पकारका हैसियतले प्रा.डा. चुन्दा वज्राचार्यले सुनौलो भविष्यका निम्ति साधनारत देखिन्छन् । आफ्नो सम्पूर्ण जीवन नै अनुसन्धान र काव्य साधनामा तल्लीन रहेकी साधक समाजका मूल्य र मान्यताका समकालीन यथार्थका उपज हुन् । उनी स्थूल होइनन्, सुक्ष्मतातिर अभिमुखी छिन् । जनताका आवाजलाई शब्दमा बटुलेर नारीवादी चिन्तनभित्र नौंलो चेतना र दर्शन बोकेर निराशाभित्र आशा, कठोरता भित्र कोमलता र अप्रस्तुती भित्र प्रस्तुती गर्न सक्ने विदुषी स्वनामधन्य प्रा.डा. चुन्दा वज्राचार्यका साहित्यप्रतिको क्रियाशीलता र तल्लीनताप्रति सराहना व्यक्त गर्दै उहाँको सिद्धित्व प्राप्त कलमले भविष्यमा अझ नयाँ नयाँ बाटाहरू देखाउन सकुन् यही कामना गर्दछु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया