बाघराजथानसम्म पुग्ने पदमार्ग निर्माण

काठमाडौँ १७ बैशाख

बाबियाचौर (म्याग्दी)-म्याग्दीको धौलागिरि गाउँपालिका–७ धारापानीस्थित प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बाघराजथानसम्म पुग्ने पक्की पदमार्ग निर्माण भएको छ । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय, बागलुङले दरवाङ–ताकम सडकको बादीका खण्डदेखि बाघराजथानसम्म पुग्ने पदमार्ग निर्माण गरेको हो । ठेक्कामार्फत रु १२ लाखको लागतमा ४५० मिटर रेलिङसहितको पक्की पदमार्ग निर्माण भएको डिभिजनले जनाएको छ ।

उकालो र भिरालो ठाउँमा पदमार्ग निर्माण भएपछि बाघराजथानको दर्शन, पूजाआजा र अवलोकन गर्न जाने भक्तजन एवम् पर्यटकलाई सहज हुने धारापानीका बासिन्दा किरण थापाले बताउनुभयो । दरवाङ–ताकम सडक निर्माणसँगै बाघराजथान हुँदै आवतजावत गर्ने पुरानो पदमार्ग विस्थापित हुनुका साथै ओझेलमा परेको थियो ।सो स्थानको दर्शन र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । भाकल गरेको पूरा भएपछि त्यहाँ भेडाको साढ र बोका बलि चढाउने चलन छ ।सो क्षेत्रबाट नागबेली परेर बगेको म्याग्दी नदी र वरपरका पहाडी भूगोलको दृष्य अवलोकन गर्न सकिन्छ । गुरिल्ला र धौलागिरि चक्रीय पदमार्गअन्तर्गत पर्ने बाघराजथानको संरक्षण र प्रचारप्रसार गर्न सकेमा भक्तजन र पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया