बाघ र मानिसको द्वन्द्व घटाउनु चुनौतीपूर्ण

काठमाडौं १४ साउन, ।
स्वस्थ्य पर्यावरणका लागि बाघको संरक्षण हुनुपर्नेमा द्विविधा छैन, तर सुरक्षित व्यवस्थापन नभएमा मानिसको ज्यानकै खतरा सँगसँगै उत्पन्न हुँदै आएको छ ।

सरकारी आँकडाअनुसार नेपालमा बाघको संख्या उल्लेख्य वृद्धि भई १९८ पुगेको छ भने वर्षमा बाघकै आक्रमणका कारण ३० देखि ३५ जनासम्मको मृत्यु हुने गरेको छ । वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यका अनुसार यो विवरणलाई आधार मान्दा बाघको संख्या वृद्धि भए पनि यसको उचित संरक्षण र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

पछिल्लो समय वन्यजन्तु र मानिसबीचको द्वन्द्व पनि समस्याका रुपमा आएको विज्ञहरु औँल्याउँछन् । महानिर्देशक आचार्यका अनुसार सन् २००९ मा १२१ रहेको बाघको संख्या सन् २०१३ मा आइपुग्दा ६३ प्रतिशतले वृद्धि भई १९८ पुगेको छ । सन् २०२२ सम्म यो संख्या दोब्बर पुर्याउने सरकारको लक्ष्य छ ।

“वन्यजन्तु राख्नसक्ने क्षमता कति हो, त्यसको अनुसन्धान गरी उचित नीति बनाएर संरक्षण र संख्यालाई वृद्धि गरिनुपर्छ, भइरहेका वन्यजन्तुलाई पर्यावरण तथा स्वस्थ्य आहारको सुनिश्चितता गरी जनावर र मानिसबीचको द्वन्द्व घटाउनेतर्फ आगामी कार्यक्रम केन्द्रित हुनुपर्छ”–उनले भने ।

एक बाघलाई सातामा झण्डै ५० किलोग्राम आहारा चाहिन्छ । आहार र बाघको बासस्थान संरक्षणका लागि विशेष ध्यान दिनुपर्ने महानिर्देशक आचार्यको भनाइ छ ।

सातौँ विश्व बाघ दिवसका अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोषले आयोजना गरेको कार्यक्रमका विज्ञ वक्ताले बाघको संरक्षणसँगै व्यवस्थापन चुनौतीलाई कसरी सामना गर्ने भन्नेबारे विचार मन्थन गरेका थिए ।

‘स्वास्थ पर्यावरणका लागि बाघको संरक्षण’ भन्ने नारासहित आज देशैभरका यो दिवस मनाइएको छ । बाघ पारिस्थितीय प्रणाली (इकोसिस्टम) को उच्च तहमा रहेको प्रजाति भएकाले यसको संरक्षण गर्न सकेमा अरु धेरै वन्यजन्तुको संरक्षण हुन्छ भन्ने मान्यताका साथ दिवस मनाइएको वन तथा भू–संरक्षण मन्त्रालयका सहसचिव डा महेश्वर ढकाल बताउँछन् ।

उनका अनुसार बाघ मांसहारी र उच्च तहको प्रजाति भएकाले यसको मानिससँगको द्वन्द्व र बासस्थानमा आएको ह्रास र खण्डीकरणले गर्दा यो प्रजाति संकटमा परेको छ । सोही दृष्टान्तलाई मध्यनजर गर्दै सन् २०१० माघ पाइने १३ वटै राष्ट्रका प्रमुख जम्मा भएको (बाघसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन) को प्रतिबद्धताअनुसार हरेक वर्ष जुलाई २९ का दिन यो दिवस मनाइँदै आएको छ ।

सहसचिव ढकालको भनाइमा बाघ संरक्षण गर्ने हो भने स्वस्थ्य ‘इकोसिस्टम’ चाहिन्छ, त्यसका लागि बाघ पाइने स्थानको पानीको स्रोत र घाँसे मैदानलाई व्यवस्थापन गरिनुपर्छ ।

बाघको ठूलो चुनौतीका रुपमा रहेको बाघ र मानिसबीचको द्वन्द्व घटाउने काम गरिनुपर्ने, बाघको छाला र हाडलाई अन्तर्राष्ट्रिय कालोबजारी गर्ने गिरोहलाई निस्तेज गरी त्यसमा संलग्नलाई कानुनी दायरामा ल्याइनुपर्ने उनको भनाइ छ । साथै, बाघको निरन्तर अनुसन्धान र संरक्षण गर्दा स्थानीय समुदायलाई प्राथमिकतामा राखी बाघ संरक्षणको काम गर्नुपर्ने तथा बाघ पाइने देश तथा छिमेकी राष्ट्रबीचको सम्बन्ध मजबुद पारिनुपर्नेमा सहसचिव ढकालको जोड छ ।

नेपालमा तराई क्षेत्र बाघ पाइने क्षेत्र हो । निकुञ्ज क्षेत्र र आसपासका घना जंगलमा बाघ पाइन्छ भनिन्छ, तर कुन जिल्लामा कति बाघ पाइन्छ भन्ने यकिन विवरण नभएको बताइन्छ ।

सन् २०१३ को आधिकारिक गणनाअनुसार बाघको संख्या १९८ रहेको छ । अब सन् २०१८ र सन् २०२२ मा बाघ गणना गर्ने योजना छ ।

छिमेकी मुलुक भारतसहित विश्वका १३ देशमा बाघ पाइन्छ । सुरुमा नौ प्रजातिका बाघ पाइए पनि अहिले छ प्रजातिका मात्र बाघ पाइन्छन् । पाटे बाघ सबैभन्दा ठूलो हो । हाल विश्वभर बाघको संख्या पाँच हजारभन्दा बढी रहेको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया