बाढीको प्रभाव तरकारीमा, तरकारीको मूल्य दोब्बर

विराटनगर २२ अशोज ।
चाडपर्वसँगै विराटनगर बजारमा तरकारीको मूल्यमा दोब्बर वृद्धि भएको छ।

विराटनगर बजारमा खपत हुने अधिकांश तरकारी मोरङको पूर्वी र दक्षिणी क्षेत्रका साथै सुनसरीको देवानगञ्जबाट आउने गर्दछ। तर उक्त क्षेत्रमा भदौ महिनामा आएको बाढीले तरकारी खेती डुबानमा परेपछि उत्पादनमा कमी भई अहिले दोब्बर मूल्य वृद्धि भएको हो।

कम उत्पादनका कारण उपभोक्ता दोब्बर मूल्यमा तरकारी किन्न बाध्य भएका छन्। एकातिर तरकारीखेती हुने क्षेत्र डुबानमा परेपछि उत्पादनमा कमी आएको र अर्कोतिर विराटनगरको सीमावर्ती क्षेत्र जोगबनीस्थित मीरगञ्जमा पुल भत्केकाले आयातमा आएको कमीका कारण तरकारीको मूल्यमा भारी वृद्धि भएको तरकारी व्यावसायीले बताए।

नेपालको पहाडी क्षेत्र र भारतबाट आयात गरेर व्यावसायीले विराटनगर बजारमा तरकारीको आपूर्ति गर्दै आएका छन्। पहाडी जिल्लाबाट आयात गर्दा ढुवानी खर्च वृद्धि हुने र भारतबाट पनि तरकारी आयातमा आएको कमीले गर्दा मूल्यमा वृद्धि भएको व्यवसायीले बताए।

बाढी आउनुअघि प्रतिकिलो ३० रुपैयाँ पर्ने आलु अहिले ६० रुपैयाँ किलो पुगेको छ। ४० रुपैयाँ प्रतिकिलो पर्ने गोलभेँडा ६० देखि ७० रुपैयाँ, ५० रुपैयाँ प्रतिकिलो पर्ने रामतोरिया ८० रुपैयाँ, २५ रुपैयाँ प्रतिकिलो पर्ने घिरौंला ४० देखि ५० रुपैयाँ र ३० रुपैयाँ प्रतिकिलो पर्ने काँक्राको मूल्य अहिले ६० रुपैयाँ किलो पुगेको छ।

यस्तै प्रतिकिलो ७० रुपैयाँ पर्ने फूलगोभी अहिले १२५ रुपैयाँमा किनबेच भैरहेको छ।

बजारमा तरकारीको मूल्य वृद्धिले आफूले अन्य सामानको बजेट घटाइ तरकारीमा खर्चगर्नु परेको विराटनगर–९ की गृहिणी विद्या पाण्डेले बताईन्।

विराटनगर बजारमा दैनिक २५ देखि ३५ टन हरियो तरकारी बिक्री हुने गरेको व्यवसायीहरु बताउँछन्।

माग अनुसारको आपूर्ति हुन नसकेपछि व्यापारीले आफूखुशी तरकारीको मूल्य निर्धारण गर्ने गरेको र बजार अनुगमन प्रभावकारी नहुँदा पनि आम उपभोक्ताले चर्को मूल्यमा तरकारी किन्नुपर्ने बाध्यता रहेको छ। rss

फेसबुकबाट तपाईको प्रतिक्रिया