बाथ-मुटुरोगको निःशुल्क शल्यक्रिया सुरु

काठमाडौँ १ फागुन

बाराका १५ वर्षीय बाथ मुटुरोगी आर्यन अन्सारीको आज सहिद गङ्गालाल हृदय केन्द्रमा निःशुल्क शल्यक्रिया गरी मुटुको भल्भ फेरिएको छ।

सरकारले आजैबाट १५ वर्षभन्दा माथि ७५ वर्षमुनिका बाथ मुटुरोगीको उपचार, शल्यक्रिया, औषधिलगायतका सेवा निःशुल्क गर्ने व्यवस्था गरेको थियो। सो व्यवस्थाबमोजिम अन्सारीले शल्यक्रियालगायतका उपचार निःशुल्क पाएका थिए।

स्वास्थ्य मन्त्री गगनकुमार थापाले गत माघ १५ गते सहिद गङ्गालाल हृदय केन्द्रको वार्षिकोत्सवमा बाथ मुटुरोगीको सम्पूर्ण उपचार निःशुल्क गर्ने घोषणा गरेका थिए।

अस्पतालका प्रशासन प्रमुख दिपेन्द्र खड्काले आज एक जनाको मात्र शल्यक्रिया गरिएको बताए।

नेपालमा मुटु रोगको समस्या बढ्दै गएपछि सरकारले मुटुका अन्य रोगको उपचार निःशुल्क गरेअनुरुप बाथ मुटुरोगीको पनि उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो।

सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रसँगै, मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्ज, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पनि सो रोगको उपचार सेवा निःशुल्क पाइनेगरी तयारी पूरा भइसकेको मन्त्रालयले जनाएको छ।

सरकारले यसअघि नै मुटुरोगीका लागि रु एक लाख उपचारका लागि आर्थिक सहयोग, १५ वर्षमुनिका बालबालिका र ७५ वर्षमाथिका ज्येष्ठ नागरिकको मुटुको सम्पूर्ण उपचार पनि निःशुल्क रुपमा गर्दै आएको छ।

खानपान र फेरिएको जीवनशैलीसँगै मुटुका रोगीको सङ्ख्या नेपालमा बढ्दै गएकोले उपचारलाई सहज र सबै नागरिकको पहँुचमा पु¥याउन यो सुविधा थप गरेको स्वास्थ्यमन्त्री थापाले बताए।

नेपालमा काम गरी आम्दानी गर्ने उमेर समूहका युवा त्यसमा पनि विदेशमा रोजगारीका गएका युवाहरुमा मुटु रोगको समस्या बढ्दै गएको पाइएको चिकित्सक बताउँछन्।

यसैगरी सहिद गङ्गालाल हृदय केन्द्रको सञ्चालक समितिको बैठकले भेरी अञ्चल अस्पताल नेपालगञ्जमा मुटु रोगको सेवा विस्तार र जनकपुर अञ्चल अस्पतालमा सेवा सुरु गर्ने अध्ययन गर्ने निर्णय गरेको मन्त्री थापाले जानकारी दिए। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया