बाफिया विधेयक संसदमा पेश गर्ने तयारी
काठमाडौं २ कार्तिक
बैकिङ क्षेत्रको सुधारका लागि ल्याउन लागिएको बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक चाँडै संसद्मा पेस गरिने भएको छ। व्यवस्थापिका-संसद् अर्थसमितिको मंगलबारको बैठकले उक्त विधेयकलाई व्यवस्थापिका/संसद्को बैठकमा चाँडो पेस गर्ने गरी समितिबाट अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको हो। समितिका सभापति प्रकाश ज्वालाले समितिको आगामी बैठकमा विधेयकमाथि दफाबार छलफल गरेर अन्तिम रुप दिने र त्यसका लागि अर्थमन्त्री, राष्ट्र बैंकका गभर्नर एवम् पूर्व अर्थमन्त्रीसँग अनौपचारिक छलफल गरेर निष्कर्षमा पुग्ने बताए। उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले बैठकमा लामो छलफल भई धेरै समस्याको समाधान भइसकेको अवस्थामा चाँडो विधेयकलाई अगाडि बढाउन समितिलाई आग्रह गरे। वर्षौंसम्म विधेयकलाई रोक्न नहुने उनको भनाइ थियो। “सबै विषय ऐनमा नै हुनुपर्छ भन्ने भन्दा पनि नियम तथा निर्देशनबाट समेत नियमनका काम गर्न सकिन्छ त्यसतर्फ ध्यान दिँदै जनताको अपेक्षालाई सम्बोधन गर्नुपर्छ,” उनले भने।
त्यसैगरी बैठकमा सहभागी पूर्व अर्थमन्त्री एवम् सांसद डा. रामशरण महतले कानुनले सबै व्यवस्थापन गर्न खोज्नेभन्दा पनि त्यसका लागि अन्य उपाय अवलम्बन गरी चाँडो विधेयकलाई अगाडि बढाउनुपर्नेमा जोड दिए। बैठकमा सांसदहरु शक्ति बस्नेत, इच्छाराज तमाङ, उदयशमशेर राणा, विमल केडिया, जगदिशनरसिंह केसी, सुवोध पोखरेल, दीपक कुइँकेल र शेरबहादुर तामाङले आ*आफ्नो धारणा राखेका थिए। यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्था निजीभन्दा पनि जनताको निक्षेप सङ्कलित सार्वजनिक संस्था भएकाले बैंकको सुरक्षाका लागि नियमन निकायलाई सबल बनाउनुपर्नेमा जोड दिए। अर्थसचिव डा. शान्तराज सुवेदीले बैंक तथा वित्तीय संस्था जनताको विश्वासमा चल्ने भएकाले त्यसलाई कायम राख्नका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर ऐन तयार गरिनुपर्ने बताए। त्यसैगरी राजस्व सचिव राजन खनालले बैंक डुब्दा जनताको लगानी जोखिममा पर्ने र बैंक तथा वित्तीय संस्थाबाट जनताको रकम नोक्सानी भएमा सरकारले व्यहोर्नुपर्ने भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए। रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया