बाबुरामको राजनीतिक यात्रा : घुम्दैफिर्दै रुम्जाटार

– धुव्र अधिकारी
लगभग ७ वर्षको सम्बन्ध विच्छेदपछि पुनः प्रचण्ड र बाबुराम आकास खसेन भने मिलन तिर जाने भएका छन् । ‘घुमीफिरी रुम्जाटार भने झैं’ बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी प्रचण्डको माओवादी केन्द्रको चुनाव चिन्ह लिएर आगामि प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा जाने सैद्धान्तिक सहमति गरेका छन् । राजनीतिमा ‘मीत्र पनि शत्रु हुन्छ र शत्रु पनि मीत्र ’ भन्ने मान्यता हुन्छ । संविधान जारी भएको मसी सुक्न नपाउँदै २०७२ असोज ९ मा एकिकृत माओवादी परित्याग गर्दा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भनेका थिए –‘चुहिएको घरमा फर्केर जाने होइन, नयँ घर बनाउने हो।’ तर आज उनी–उही चुहिएको घरमा फर्कदैछन् । के त्यो घर अब नचुहिने भएकोले बाबुराम त्यहाँ आउन लागेका हुन् ? यसको स्पष्ट जवाफ डा. बाबुरामले दिनु पर्दछ । तर यो पङ्तिकारलाई उनले स्पष्ट जवाफ देलान जस्तो लाग्दैन ।
मुलुकमा १० वर्षे जनयुद्ध शुरु हुँदा नेपाली जनताले क. प्रचण्डलाई भन्दा बाबुराम मात्र चिन्दथ्यो । पछि सार्वजनिक भएपछि प्रचण्डलाई चिनेको हो । आम नेपाली जनताले मुलुक आमूल परिवर्तनको दिशामा जान्छ भनेर हजारौं मान्छेले बलिदान दिए । २४० वर्षसम्म शासन गरेको राजतन्त्र ढल्यो, देशमा गणतन्त्र आयो । संविधान सभाबाट ढिलै भएपनि संविधान जारी भयो । आर्थिक क्रान्तिको दिशातिर उन्मुख हुने बेलामा सबै उपलब्धिलाई विर्सिएर शक्तिको तृष्णामा रुमलिएका केहि पुराना प्रशासक र सिनेकर्मीहरुलाई जोडजाड गरेर नयाँ शक्ति पार्टी बनाए । केहि वर्ष चलाउनको शिष गरे । तर उनी असफल भए । त्यस पश्चात संघीय समाजावादी फोरमसँग प्रवेश गरे । उनी प्रवेस गरेपछि त्यो पार्टीको नाम समाजवादी पार्टी रहन गयो । २०७७ साल बैशाख १० गते समाजवादी पार्टी र राजपाबीच एकता भई नयाँ पार्टी जसपा बन्यो । बाबुराम त्यहाँ दुई वर्ष भन्दा बढी टिक्न सकेनन् । २०७९ असार २९ गते जसपाबाट अलग भई नेपाल समाजवादी पार्टी बनाए । भट्टराईले आफ्नो राजनीतिक ‘आर्किटेक्ट’ नयाँ घर निर्माण गर्न खोजेका थिए । तर त्यसको ‘स्ट्रक्चर’ नै तयार गर्न नसकेपछि अन्तत्वगत्वा घुमीफिरी रुम्जाटार भनेझैं छाडेको घरमा शरण लिने तयारीमा पुगेका छन् ।
भट्टराईले माओवादी पार्टी परित्याग गरेपछि नयाँ शक्तिको निर्माणमा ठूलै तामझाम गरेका थिए । नयाँ शक्तिले २०७३ जेठ ३० मा कसैले आजसम्म नगरेको ढर्रा प्रमुख दैनिक पत्रिकाहरुमा ‘ज्याकेट विज्ञापन छापेका थिए । त्यसका साथै दशरथ रंगशालामा विभिन्न कलाकार सहित भव्य कार्यक्रम आयोजना गरेको थियो । त्यो कार्यक्रममा विभिन्न दलका नेताहरुलाई बोलाइएको थियो । विभिन्न देशबाट नेता तथा पर्यवेक्षक समेत बोलाइएको थियो । त्यो भव्य सभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेक सबैलाई नयाँशक्तिण्ले ठूलो धक्का दिने बताएका थिए । तर बाबुरामबारे ओलीको त्यो भविष्यवाणी मिलेन । २०७४ सालको तीनवटै सरकारको चुनावमा नयाँशक्तिले कसैलाई धक्का दिन त परै जाओस् अलिकति पनि हल्लाउन सकेन । बरु उल्टै बाबुराम काँगे्रसको बुई चढेर गारेखाबाट आफ्नो सिट बल्लतल्ल सुरक्षित गरे । उनको त्यो पार्टी ‘नयाँशक्ति’ राष्ट्रिय दलबन्न सकेन ।
२०७४ को चुनावमा आफ्mनो हैसियत नापिसकेपछि भट्टराईले उपेन्द्र यादव र अशोक राईसँग मिलेर वैकल्पिक शक्ति निर्माणको कोसिस गरे । संविधानमा मधेसी, थारू,आदिवासी जनजाति, दलित लगायत विभिन्न समुदायका कतिपय असन्तुष्टि कायमै रहेको र तिनलाई सम्बोधन गर्न संशोधन आवश्यक रहेको मत भट्टराईले राख्दै आएका छन् । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली एवं पूर्ण समानुपातिक संसद नै सर्वोत्तम विकल्प हो भन्ने मान्यता अगाडि सारेका छन् । जारी हुँदाकै बखत संविधानलाई भट्टराईले आधा भरिएको गिलास भनेका थिए ।
संविधानलाई हेर्ने आलोचनात्मक दृष्टिकोणकै कारण भट्टराईप्रति मधेसी दलहरू उदार थिए । त्यही कारण मधेस केन्द्रित दल भित्रै भट्टराई स्वीकार्यता बढेको थियो । यादव र राईको संघीय समाजवादी फोरम र नयाँशक्ति बीच २०७६ वैशाख २३ मा नेपालमा नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको घोषणा सहित पार्टी एकता भयो । एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी’ राखियो । भट्टराईले प्रमुख तीनवटा क्लस्टर खस–आर्य, जनजाति र मधेसको नेतृत्वमा पार्टी अघि बढ्ने धारणा राखेका थिए । त्यसै अनुसार पार्टी अध्यक्षमा मधेसी मूलका उपेन्द्र यादव, खस–आर्यका बाबुराम भट्टराई संघीय परिषद् अध्यक्ष र आदिवासी जनजातिका अशोक राई वरिष्ठ नेताका रूपमा रहे । भट्टराईको यो राजनीतिक, ‘अर्किटेक्ट’ ३ वर्षभन्दा लामो समयसम्म टिक्न सकेन । यादव र राईसँग गत महिना भट्टराई छुट्टिए ।
केहि वष अघिसम्म केहि नेताहरुको जनमत सर्वेक्षण गर्दा उनी प्रायःपहिलो नम्बरमा नै पर्दथे । तर अहिले १५ नेताहरुको सूची राखेर जनमत सर्वेक्षण गर्ने हो भने सम्भवत पुछारको सुचीमा पर्नेछ । भट्टराईको राजनीतिक यात्रा ४ दशकको छ । ०३९ सालमा कम्युनिष्ट पार्टी सदस्यता लिएका उनी मोहन विक्रम सिंह नेतृत्वको चौममा सक्रिय थिए । पछि नेकपा (मसाल) लागे । २०४८ सालमा मसालबाट विद्रोह गरेर नेकपा (एकता केन्द्र)सँग एकता गरे । २०५१ सालदेखि नेकपा माओवादीमा रहेका उनले २०५२ सालमा शुरु भएको ‘जनयुद्ध’ को नेतृत्व तहमा रहेर काम गरे । उनी २०६५ असोज १२ देखि २०६९ फागुन ३० सम्म प्रधानमन्त्री बने । बाबुराम भट्टराई २०६४ र २०७० को संविधान सभामा गोरखाबाट र २०७४ को संसदीय निर्वाचनमा समेत गोरखाबाट निर्वाचित भए ।
डा. बाबुराम भट्टराईप्रति जनताको ठूलो आशा र भरोसा राखेका थिए । जुन आशा र भरोसा भट्टराई सरकारमा पुगेपछि निराशामा बदलियो । उनी माक्सवादी, लेनिनवादी, माओवादी दर्शनमा टेकेर लामो समय राजनीति गरे । आफू कम्युनिष्ट राजनीति गर्दा श्रमिक तथा गरिब वर्गको खुव वकालत गरे । तर उनी जतिबेला सत्तामा गए । त्यतिबेला हुनेखाने वर्गलाई फाइदा पुग्ने निर्णय गरेका थिए । आफूमा जनयुद्धमा हुँदा उच्च र शिक्षा हासिल गरेर मुलुकको भविष्य निर्माण गर्ने सपना बोक्नेहरुलाई बिचमै पढाई छोडाएर जवर्जस्ती युद्धमा सामेल गराए । तर आफ्नै छोरीलाई भने सुरक्षित रुपमा विदेश पठाए । अब उनलाई कसरी विश्वास गर्ने ।
डा. बाबुराम भट्टराईले परिवारसँगै बसेर दुःख सुख साटीरहेका कयौं नेपालीलाई विछोड गराए । मिलेर बसेको समाजमा द्वन्द्वको विउ रोपिदिए । आफ्नो बिचार नमान्नेलाई सुराकिको निउमा मारिदिए, यातना दिए, बेपत्ता पारिदिए । के सत्र हजारको बलिदानी यहि दलाल पुजीवर्ग, संसदीय व्यवस्थाको लागि थियो ?उनी वैचारिक विचलनबाट पतित भएका नेता हुन् ?आज उनी पछि लाग्ने मानिस अत्यन्तै कम छ । जति लागेका छन् केहि न केहि स्वार्थले लागेका हुन् । अहिले बाबुराम सबै विकल्प सकिए पछि घर न घाटका भएका छन् । बावुरामको विचल्ली भएको छ ।

प्रकासित मिति २०७९–५–५

फेसबुकबाट तपाईको प्रतिक्रिया