बारामा पहिलो पटक मेसिनबाट धान रोप्दै धान दिवश मनाइयो

मनिता पाण्डे
सिमरा,१७ असार
यस वर्षको धान दिवस ‘व्यावसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ भन्ने नाराका साथ बुधबार बारामा भब्य रुपमा पहिलो पटक मेसिनबाट धान रोपेर मनाइएको छ । धान दिवस मनाउने क्रममा बाराका सासंद तथा पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले कृषीमै नेपाललाइ आत्मनिर्भर बनाउन सरकारले विशेष कार्यक्रम ल्याएको र आँउदो साउनबाट सो कार्यक्रम सञ्चालनमा आउने जानकारी दिए ।
धान दिवसमा आयोजित कार्यक्रमका प्रमुख अतिथी रहेका सांसद पौडेलले नेपाललाइ कृषीमा सम्बृद्ध बनाउन सरकारले पकेट क्षेत्र, ब्लक क्षेत्र, जोन र सुपर जोन क्षेत्रको निति अनुसार अगाडी बढेको बताए ।
उनले २ नम्बर प्रदेशकै सुपरजोन सिम्रोनगढलाइ र डुमरवाना लगाएत बाराका अन्य केहि गाविसलाइ पकेट क्षेत्र घोषणा गरी कृषीमा नेपाललाइ आत्मनिर्भर बनाउन बाराली कृषकबाट नेपाल सरकारले ठुलो आश गरेको जानकारी दिए ।
समाज सुधार कृषि सहकारी सस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै बाराका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गेलले बारा जिल्ला कृषिको क्षेत्रमा तराइमै अग्र स्थानमा रहेको र सरकारले पनि यस जिल्लाको कृषिमा भरोषा गरेको भन्दै युवावर्गलाइ पनि आधुनिक कृषिमा लाग्न आग्रह गरे । d
सस्थाका अध्यक्ष नारायणदत अधिकारी र जिल्ला कृषि कार्यलय बाराका प्रमुख जितेन्द्र यादबको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्वसभासद जयराम दहाल, नेकपा एमालेका मनोज पौडल, नेकपा माओबादि केन्द्रका क्षेत्रबहादुर श्रेष्ठ (अनिल), नेफ्कुनका संचालक कृष्ण पौडेल, जिल्ला प्रहरी कार्यलयका प्रमुख नरेन्द्रप्रसाद उप्रेती, राष्ट्रिय अनुसन्धान प्रमुख अच्युत पन्त, सशस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक निरङ्कार सुुक्ला, डिभिजन सहकारी कार्यलय बाराका प्रमुख कुलोतम पोखरेल, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानिपुरका प्रदिप साह, साना किसान कृषि सहकारी संघका अध्यक्ष शिव अधिकारी, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतम, स्थानिय समाजसेवि लगाएत कृषकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
सहकारीले उपस्थित सबैलाइ आफुले कृषिमा गरेको अधुनिकिकरणको बारेमा स्थलगत अवलोकन, सभा, खेतमा धान रोप्ने तथा दहि चिउरा खाने कार्यक्रको आयोजना गरेको थियो ।
स्थलगत अवलोकनमा आधुनिक मेसिनको प्रयोगले घान रोप्ने, काट्ने तथा सुरक्षित राख्ने तरीकाको बारेमा जानकारी गराइएको थियो ।
सस्थाका ब्यवस्थापक रविन्द्रराज भण्डारीको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत सस्थाका कोषध्यक्ष रामचन्द्र लामीछानेले गरेका थिए ।

२०६२ देखि असार १५ लाई धान दिवसका रूपामा 
यस वर्ष १३ औँ धान दिवस मनाइँएको हो ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो । देशको अर्थतन्त्रमा यसले उल्लेखनीय भूमिका खेलेको छ । कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान र्पुयाएको छ । कृषि विभागका अनुसार नेपालमा झण्डै १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तराईमा झण्डै ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत धानबाली लगाइन्छ । धान खेती हुने क्षेत्रफलमध्ये ९० प्रतिशतमा रोपाइँ गरिन्छ भने १० प्रतिशतमा मेसिनद्वारा धान रोपिन्छ । नेपाल कृषि अनुसन्धान परिषद नार्कले अहिले तराई क्षेत्रका लागि ‘राधा १३’, ‘राधा १४’ र ‘सुगन्धित धान १’ जातका धानका बीउ सिफारिस गरेको छ ।
यसैगरी राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, वनस्पति महाशाखा र गैह्रसरकारी संस्थाको संयुक्त प्रयासमा नार्कले भौगोलिक हावापानी सुहाउँदो ७८ धानको जात सिफारिस गरेको छ । कृषि विज्ञका अनुसार अझैपनि नेपाली किसान परम्परागत तथा स्थानीय बीउको प्रयोग गर्दै आएका छन् ।
उन्नत जातका धानका बीउमा कृषकको पहुँच पुग्ने हो भने २० प्रतिशतसम्म धान उत्पादन बढाउन सकिने धानविज्ञ भोलामान सिंह बस्नेतको भनाइ छ । अहिले नेपालको धान उत्पादकत्व ३.१७ मेट्रिक टन÷प्रति हेक्टर छ, यसलाई बढाएर ४ मेट्रिक टन÷प्रति हेक्टर बनाउन सकेमात्र पनि मुलुकभित्रको मागलाई पुरा गर्न सकिने विज्ञहरु बताउँछन् ।
पोहोरको भूकम्प र त्यसपछि भारतको नाकाबन्दीका कारण गएको वर्ष धान उत्पादनमा १० प्रतिशतले घटेको कृषि विभागको तथ्याङ्क छ । नेपालमा अहिले वार्षिक ३४ लाख मेट्रिक टन चामलको माग हुने गरेकामा २८ लाख मेट्रिक टन मात्र चामलको आपूर्ति भइरहेको छ ।
कृषि क्षेत्रको अन्नबालीमध्ये धानको योगदान ५२ प्रतिशत छ । संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौरमा पर्दछ । वैज्ञानिकका अनुसार २५ डिग्री तापक्रमदेखि ३२ डिग्री तापक्रमभित्र रही धानखेती गर्न सकिन्छ ।
नेपालमा सबैभन्दा धेरै धान उत्पादन झापा र सबैभन्दा कम मुस्ताङ जिल्लामा हुन्छ । नेपालमा चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ ।
खेतीपाती बाहेक अरु पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया