बिपी राजमार्गमा चल्ने सवारीको लागि नयाँ मापदण्ड

काठमाडौँ १४ जेष्ठ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिपी राजमार्गमा गुड्ने सवारीको मापदण्ड तोक्न यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ ।

मालवाहक सवारी साधन १६.२ टनसम्मका र सार्वजनिक यातायात ४.२२५ मिटर लम्बाइ एवं ओभर ह्याङ अर्थात् पछाडिको चक्कापछिको भाग २.११३ मिटरसम्मका सवारी साधनलाई गुड्न दिने गरी व्यवस्था गर्न विभागलाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले राससलाई जानकारी दिए ।

यस्ता सवारी बेलुकी ९ बजेदेखि बिहान पाँच बजेसम्म चल्न पाउने उनले बताए । धुलिखेल–बर्दिबास मार्गमा यसअघि २०७३ असारदेखि सरकारले १८ सीटभन्दा बढीका सार्वजनिक यातायात र १० ग्रस यान्त्रिक क्षमताभन्दा बढीका मालवाहक सवारी प्रवेशमा रोक लगाइँदै आएको विभागका प्रवक्ता तुलसीराम अर्यालले सुनाए ।

तोकिएको सो मापदण्ड विपरीत प्रहरीको आँखा छलेर र मिलाएर व्यवसायीले बढी क्षमताका सवारी चलाउँदै आएका थिए । आजदेखि मन्त्रालयले तोकेको मापदण्डका आधारमा मात्र सवारीलाई मार्ग इजाजत दिइने उनले बताए ।

मापदण्ड विपरीतका सवारी विनामार्ग इजाजत चलेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन र नियमावलीअनुसार कारवाही गरिने विभागले जनाएको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया