बिष पिउन नपाउँदा
मिशन अधिकारी
मसम्म नआउँदै सूर्यका कुमारी स्वर्ण आभाहरू
काँपेका नीला ओठमा उर्वशी झैं बिहानी मुस्काउँछे
म कफी भनेर मन्दविष पिइरहेको हुन्छु
दूध भनेर कालकुट पिउँछु
पानी-तेल-जुस खान्छु
अल्कोहल-औषधी खान्छु
खाएको भन्दा नखाएको ज्यादा खान्छु
खाँदाखाँदा यसरी म हलाहल खाईरहेको हुन्छु
पिउँदापिउँदै अमृत आफैंलाई पिईरहेको हुन्छु ।
मलाई अब सायद
नियमित बानी झैं भैसकेको छ
बिष पिउन नपाउँदा
जसरी उनीबिना म बाँच्दिनँ,
म एकछिन पनि बाँच्न सक्दिनँ !
ए, चिकित्सकहरू, भन कोही छौ ?
भन-
मेरो नशाको महाकालीमा
आज कुन हर्मोन बगिरहेको छ ?
यो कर्मको कर्णालीमा
कति मेगावाट करेन्ट खेर गईरहेको छ ?
प्रकाशित मिति :२०७५/०३/०६
फेसबुकबाट तपाईको प्रतिक्रिया