बुटवलका ब्रोकर कार्यालयमा नयाँ लगानीकर्ता बढ्दै

युवराज पाण्डे

खस्यौली, २५ पुस

प्रदेश नं ५ स्थित बुटवलका विभिन्न ब्रोकर (दलाल) कार्यालयमा शेयर बजारका नयाँ लगानीकर्ता बढ्न थालेका छन् ।

शेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेशले बुटवलका विभिन्न दलाल कार्यालय पनि उत्साहित भएका छन् । बजारमा नयाँ पुस्ताका लगानीकर्तामा सबैभन्दा बढी बुटवलस्थित केही कर्मचारी, प्राध्यापक, व्यवस्थापन सङ्कायका विद्यार्थीलगायत शेयर बजारमा चासो राख्ने देखिएका छन् । उनीहरुले एकल रुपमा रु २० हजारदेखि रु एक लाखसम्म शेयर बजारमा लगानी गरेका छन् ।

“विद्यार्थीले सिक्ने चरणमा न्यूनतम २० देखि १०० कित्तासम्म लिएका छन्” दक्षिणकाली सेक्युरिटिज प्रालि बुटवलका प्रकाश भण्डारीले भन्नुभयो । उहाँले बजारबारे केही सिक्ने चरणमा रहेको र केही बुझेर पनि बजारप्रति आकर्षित हुने गरेको बताउनुभयो ।

एशियन सेक्युरिटिज प्रालि (२६) नं दलाल कार्यालय बुटवलका पुष्पनिधि ढकालले पूँजी बजारमा नयाँ पुस्ताको लगानी सन्तोषजनक भएको उल्लेख गर्दै विभिन्न कलेजका विद्यार्थीको आर्कषण बढेको जानकारी दिनुभयो । एकल रुपमा छात्रले लगानी गरेको पूँजी बजारमा आम्दानीको स्रोत बढाउन उनीहरुले लगानी गरेको अनुमान गर्दै उहाँले बजारको मनस्थिति कमजोर भएकाले केही हतोत्साहित हुने गरेको बताउनुभयो । शेयर बजारका जानकारले पूँजी बजार अहिले ‘वियरिस’ अवस्थाको अन्त्यमा भएको दाबी गरेका छन् ।

रुपन्देहीस्थित सफल नेपाल इन्भेष्टमेण्ट फोरमका अध्यक्ष कमल तिवारीले शेयर बजारमा प्रवेश गर्नेका लागि अहिले सबैभन्दा अनुकूल समय भएकोमा जोड दिँदै शेयर बजार ‘प्यारालाइन स्टेट’ को अवस्थामा भएको बताउनुभयो । यो अवस्था भनेको नेप्से परिसूचक घट्ने सम्भावना कम भएको र घटिहाले पनि ५० देखि १०० अङ्कको तलमाथि हुने बताइएको छ । यस समयअर्थात् पुस, माघ र फागुन शेयर बजारका लागि ‘अफ सिजन’ मानिन्छ ।

अध्यक्ष तिवारीले आगामी चैतदेखि पूँजी बजार ‘बुलिस’ अवस्थामा जाने जिकिर गर्दै नयाँ लगानीकर्तालाई सानो सानो आकारमा लगानी बढाउन सुझाव दिनुहुन्छ । बुटवलका विभिन्न ब्रोकर कार्यालयमा अहिले कूल दुई हजार बढी नयाँ लगानीकर्ता भएको अनुमान छ । यहाँका ब्रोकर कार्यालयमा झण्डै दैनिक रु एक करोड बढीको कारोवार हुने गरेको बताइएको छ ।

तालीममा नयाँ लगानीको रुचि बढ्दै

प्रदेश नं ५ को बुटवल र आसपासका क्षेत्रमा पूँजी बजारमा प्रवेश गर्नेले शेयर बजारसम्बन्धी तालीम लिन थालेका छन् । यसबाट पूँजी बजारमा शेयर बजारको सचेतनाले बजार बढ्नमा मद्दत मिल्ने विश्वास गरिएको छ । पूँजी बजारमा स्नातक तहको व्यवस्थापन सङ्कायका विद्यार्थी, व्यापारी, प्राध्यापक, महिलालगायतका नयाँ लगानीकर्ताले शेयर बजारसम्बन्धी तालीम गरेर लगानी बढाएको सफल नेपाल इन्भेण्टमेण्ट फोरम रुपन्देहीले जनाएको छ ।

तालीममा शेयर बजारको वर्तमान अवस्था, खरीद तथा बिक्री, कस्ता कम्पनीमा लगानी गर्ने र कसरी फाइदा लिने, कस्ता कम्पनीमा बढी जोखिम हुन्छ भन्ने विषयमा जानकारी दिइएको इन्भेण्टमेण्ट फोरमका अध्यक्ष तिवारीले जानकारी दिनुभयो । बुटवलमा नेपाल पत्रकार महासङ्घ रुपन्देही, लायन्स क्लब अफ बुटवलसँग मिलेर इन्भेण्टमेण्ट फोरमले शेयर बजारसँग सम्बन्धित तालीम दिएको थियो । दुवै तालीममा करीब ९० सहभागी थिए । पत्रकारलाई दिएको तालीम समाचार लेखनसम्बन्धी थियो । त्यस्तै कपिलवस्तुमा दिइएको तालीममा ३३ सहभागी थिए । (रासस)

फेसबुकबाट तपाईको प्रतिक्रिया