बुटवल पावर कम्पनीले ३० लाख कित्ता एफपिओ जारी गर्ने

बिजनेसपाटी सम्बाददाता 
काठमाडौं ३२ जेस्ठ ।
बुटवल पावर कम्पनीले ३० लाख कित्ता सेयर एफपिओबाट विक्रि गर्ने भएको छ।  सोमवार बसेको कम्पनी बोर्ड बैठकले एफपिओको जारि गर्ने प्रस्तावलाई अघि बढाएको हो।
निर्माणाधिन दुई जलविद्युत आयोजनाका लागि वित्तीय स्रोत जुटाउनका लागि बुटवल पावरले एफपिओको प्रस्ताव अघि सारेको हो।
कम्पनीले फपिओ जारि गर्न लागेको जानकारी दिए पनि त्यसको मूल्य अहिलेसम्म तय भने गरिसकेको छैन्। कम्पनीले त्यसैका लागि असार २७ गतेका लागि विशेष साधरणसभा बोलाएको छ।

बुटवल पावर कम्पनीको स्वामित्वमा अहिले दुई आयोजना १२ मेगावाट क्षमताको झिमरुक जलविद्युत केन्द्र र ९.४ मेगावाट क्षमताको आँधीखोला जलविद्युत केन्द्र सञ्चालनमा छन्। त्यसैगरी कम्पनीको ६० मेगावाटको खिम्ती जलविद्युत आयोजना र  खुदी जलविद्युत आयोजनामा पनि बुटवल पावरको लगानी छ।  कम्पनीले सब्सिडरी परियोजनाका रुपमा दुई ठूला परियोजनालाई अघि बढाएको छ। त्यसमध्ये एउटा हो कावेली इनर्जी लिमिटेड। ३७ मेगावाटको यो परियोजनामा बुटवल पावरको ५४ प्रतिशत सेयर रहने छ ।  त्यसमध्ये २६ प्रतिशत सेयर प्रत्यक्ष रुपमा हुनेछ।
यो परियोजनाका लागि विश्व बैंकले ४ करोड डलर ऋण सुविधा समेत दिंदैछ। यसै वर्ष निर्माण सुरु हुने यो परियोजना २०१९ मा पूरा हुने लक्ष्य छ। त्यसैगरी बुटवल पावरले ३० मेगावाटको न्यादी जलविद्युत आयोजना समेत निर्माण गर्दैछ। इपिसि मोडलमा यसै वर्ष यो परियोजना पनि निर्माण सुरु हुने कम्पनीले जानकारी दिएको छ। न्यादीका लागि कम्पनीले वित्तीय व्यवस्थापनको काम गरिरहेको छ।

गत आर्थिक वर्षमा कम्पनीले ४७ करोड रुपैयाँ खुद नाफा गरेको थियो। यसबाट कम्पनीले २० प्रतिशत नगद लाभांस वितरण गरेको थियो। बुटवल पावरको सेयर पुँजी एक अर्व ६७ करोड रुपैयाँ छ। एफपिओ वितरणपछि कम्पनीको चुक्ता पुँजी ३० करोड रुपैयाँ थपिनेछ। प्रिमियममा प्राप्त हुने रकमबाट कम्पनीको रिजर्भ भने बढ्नेछ।
बुटवल पावरमा नेपाल सरकारको स्वामित्वमा १३ प्रतिशत, ज्योती समूह तथा पञ्चकन्या समूहको संलग्नता रहेको साँग्रिजा इनर्जी कम्पनीको नाममा ७५ प्रतिशत र सर्वसाधरणको १२ प्रतिशत सेयर छ।
बुटवल पावरको एफपिओ जारी गर्ने भएपछि कम्पनीको सेयर मूल्यमा मंगलवार १० प्रतिशतको हारहारीमा वृद्धि भएको छ। एफपिओ घोषणासँगै कम्पनीको प्रतिकित्ता सेयर ७० रुपैयाँले बढेर ७७३ रुपैयाँ पुगेको छ।  मंगलवार कम्पनीको ४ हजार १३५ कित्ता सेयर मात्रै कारोवार भएपछि सर्किट ब्रेक लागेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया