बेनी–जोमसोम सडक अवरुद्ध

काठमाडौँ १८ असार

म्याग्दी-हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ। म्याग्दीको दाना–३ तितरमा भिरबाट ढुङ्गा खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको हो। शुक्रबार दिउँसो खसेको ठूलाठूला दुई वटा ढुङ्गा डोजर प्रयोग गर्दा समेत हटाउन नसकिएको दाना प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक सोमन छन्त्यालले जानकारी दिए।

यसैगरी बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने काभ्रे भिरमा पनि पहिरो खसेको छ। पहिरो र ढुङ्गाले सडक अवरुद्ध भएपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध भएसँगै स्थानीय बासिन्दा, पर्यटक र तीर्थयात्री समस्यामा परेका छन्। शनिवार बिहानैदेखि प्रहरी, स्थानीयवासी, यातायात व्यवसायी र डोजर परिचालन गरेर सडक खुलाउने प्रयास गरिए पनि निरन्तर वर्षा भइरहेकाले समस्या भएको प्रसनी छन्त्यालले बताए। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया