बेलायती नागरिकता त्यागेर युवा नेपाल फर्किए —
लक्ष्मण गौतम,
“जननी जन्मभुमिश्च स्वर्गदपी गरीयसी ” आफ्नो जीवनको आधा भन्दा बढी समय ( १८ बर्ष ) बसेको देश बेलायत छाडेर आफ्नै जन्मभूमि नेपाल फर्किने निर्णय गरियो निर्णय सही वा गलत त्यो समयले नै बताउला तर यो मन यहाको झिलीमिली, सुख , सुविधामा भुल्न सकेन । यो मन आज पनि तेही धुलो, माटो, राजनितीक अस्थिरता, लोडसेडिंङ्, भ्रष्ट्र नेता र घुसखोरी कर्मचारीतन्त्र नै खोजि रहन्छ ।
यहा लाईफ होला
तेहा जीवन छ
यहा सुख सुबिधा होला
तेहा सन्तोष छ
यहा पैसा होला
तेहा अभावमा पनि खुसि छ
यहा मन भित्र सधै भरी अर्काको देश भन्ने भावना होला
तेहा खुट्टा मुनि आफ्नै देशको माटो छ
यहा १० बर्ष धेरै बाचिएला
तेहा कमै बाचे पनि आनन्द छ
किनकी यो देश अर्काको हो र त्यो देश मेरो हो !
मलाई आरोप लगाउनेहरुले बिभिन्न आरोप लगाउन सक्लान तर नेपाल फर्किनुमा मेरो देशप्रेम बाहेक अर्को कुनै स्वार्थ छैन । १ पाईला अगाडी बढ्दा १० पाईला पछाडी तान्ने जमात भएको देश नेपालमा मेरो भोली चुनौतिपूर्ण छ तर ति चुनौतीहरु संग डटेर सामना गर्ने मसंग आत्मविश्वास छ, आत्मबल छ । आशा गरौ । म निराश भएर, थकित भएर भोली फेरी बेलायत नै फर्किनु पर्ने अवस्था आउने छैन । आशा गरौ मेरो वरिपरी भएका ब्यक्ति, नेपाली समाज र सिंगो देशले मलाई नेपालमै स्थापित हुन सहयोग गर्ने छ । म अहिले उमेरले ३६ बर्षको भएँ ।
आज भन्दा १८ बर्ष पहिला म नेपाली जहाज चढेर पहिलो पटक बेलायत आएको थिएँ । उति बेला नेपाली ध्वजाबाहक जहाज युरोपसम्म आउँथ्यो तर अहिले हाम्रा नेताहरुले बेचेर खाए । बेलायतमा नियम छ, कानुन छ, सुख सुबिधा सबै छ , जीवन आनन्दमय पनि छ र मेरो कुरा गर्दा म आफ्नो नेपालमा भएको सम्पति बेचेर बेलायतमा ८–१० वटा घर किनेर भाडामा लगाएर कामै नगरिकन मज्जाले बस्न सक्छु तर मलाई यसो गर्न पटक्कै मन छैन । मलाई यहाको सुख सुबिधा, झिलिमिली भन्दा नेपालको धुलो,माटो र अन्धकार नै प्यारो छ । नेपालमा भएको प्रदुषण र खानपानमा मिसावटका कारणले बेलायतमा भन्दा नेपालमा १० बर्ष छिटो मरिन्छ तै पनि मलाई नेपाल नै प्यारो लाग्छ । युरोप, अमेरिकाबाट प्राय मानिसहरु उमेरले बुढो भए पछी र छोरा छोरीलाई सेटल बनाए पछि नेपाल फर्कन्छन तर म उमेरले बुढो भएको पनि छैन अनि मैले मेरा छोरा छोरीलाई सेटल बनाएको पनि छैन । तैपनि म एउटी ५ बर्ष र अर्की १ बर्षकी छोरी च्यापेर नेपाल फर्कदै छु । मान्छे जन्मन्छ र मर्छ , यो सृष्टिको नियम हो तर सबै भन्दा ठुलो कुरा आफ्नो देश , आफ्नो समाज र आफु जन्मेको माटो हो । म बेलायत आउदा मेरो उमेर अलि सानो थियो , म देश र राष्ट्रियता भनेको बुझ्थेन तर आज म परिपक्क भएको छु । देश र राष्ट्रियता के हो म बुझ्न सक्छु । सबै भन्दा ठुलो कुरा म भित्र जे गरे पनि आफ्नै देशमा नै गर्नुपर्छ भन्ने भावना जागृत भएर आएको छ । सबै युवाहरु बिदेशिए , नेताले नेपाल बर्बाद पारे , यो कटु सत्य हो तर नेपाल हाम्रो हो र नेपाल हामीले नै बनाउनुपर्छ । नेपालमा सम्भावना छ र नेपाल बनाउन सकिन्छ तर पैसा कमाउने होईन देश बनाउने भावनाका साथ राजनीतिमा लाग्ने हो भने नेपाल बन्छ । पर्यटन , कृषि , हाईड्रो पावर , खनिज आदिमा सरकारले ईमान्दारिताका साथ लगानी लगाउँछ र काम गर्छ भने नेपाल बन्छ तर सबै भन्दा पहिला जनता सचेत हुनुपर्यो । गु र गोबर छुट्टाउन सक्नुपर्यो । नेपालको राष्ट्रिय एकता मजबुत नभईकन नेपाल बन्दैन ।
संघीयताले हाम्रो राष्ट्रिय एकतालाई खलल पुराउने काम मात्र गरेको छ । त्यसैले हामी सबैले संघीयताको नकरात्मक प्रभावका बारेमा जनता र नेतालाई समेत बुझाउँन खाँचो छ । सरकार ढाल्ने र बनाउने यो संसदीय प्रणाली नेपालमा असफल साबित भैसकेको अवस्था छ । त्यसैले अब हामी सबैले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा आवाज उठाउनुपर्ने बेला आउको छ । देशका लागि केहि गरौ भन्ने मानिस नेपालमा टिक्नै सक्दैन , टिक्न नै दिदैनन ! नेपालमा सत्य बोल्दा ज्यान मार्ने धम्की आउछ , राम्रो काम गर्न खोज्दा खुट्टा तान्छन भने चोर , फटाहा , डाकाहरुको चाहि हाली मुहाली छ ! नेपाल बाट पढेलेखेका , डाक्टर , ईञ्जिनिएरहरु बिकसित मुलुक को पिआर लिएर हिड्ने क्रम बढ्दो छ भने सरकार लाई यस प्रति कुनै चासो छैन , यो हाम्रो दुर्भाग्यपूर्ण अवस्था हो ! बिकसित मुलुकमा जानु , पढ्नु , सिक्नु र पैसा कमाउनु चाहि नराम्रो होईन तर उमेर छदै आफ्नै देश फर्कनु पर्छ र आफुले देखेको , सिकेको र कमाएको कुरा देश मै खर्चिनु पर्छ भन्ने मेरो मान्यता हो ! म बेलायत त्यागेर नेपाल फर्किदै छु, नेपालको लागि म एउटा लक्ष्मण गौतम ठुलो कुरा होईन तर यदी म नेपालको वाताबरण मा भिजेर नेपालमै बस्न सके भने तेस्ले अवस्य पनि बिदेशमा बिदेशी नागरिकता लिएर बसेका लाखौ युवालाई नेपाल फर्किन उत्प्रेरित गर्ने छ तर यदी म नेपालमा टिक्न सकेन र फेरी विदेश नै हिड्न पर्यो भने मेरो कथा पढेका साथीहरु नेपाल फर्किने बारे १०० पटक सोच्न बाध्य हुने छन ! पहाडको मान्छे तराई वा तराईको मान्छे पहाड गएर त बस्न सक्दैन भने २० औ बर्ष बेलायत , अमेरिका जस्ता बिकसित देशमा बसेको मान्छे नेपालमा गएर बस्न तेती सजिलो छैन ।
नेपालमा शुसासन, सुबिधा, वातावरण , स्वास्थ्य जस्ता कुराहरुले दैनिकी सकसपूर्ण बनाउछ ! नेपालमा १ पाईला हिड्दा १० पाईला पछाडी तान्न खोज्नेहरु को जमान छ, राम्रो गर्न खोज्दा बिरोध गर्नेहरु को ताती नै छ । सबै सक्षम युवा बिकसित मुलुकको पिआर लिएर हिड्ने हो भने देश कसले बनाउने ? ठुलो आट गरेर नेपाल फर्कने युवाहरु लाई नेपालमा टिक्न नदिने , अवसर नदिने हो भने फेरी भोली बिदेशी पिआर त्यागेर नेपाल को फर्कने ? ईमान्दारिताका साथ भन्नु पर्दा मैले बेलायतमा १८ बर्ष बसेको, सेटल भैसकेको ३६ बर्षको युवा बेलायत छाडेर नेपाल फर्केको देखेको र सुनेको छैन । म यसै लेख मार्फत अमेरिका , अष्ट्रेलिया,क्यानडा वा अन्य मुलुकमा बस्ने सबै युवालाई नेपाल फर्कन आग्रह गर्न चाहन्छु । किनकि नेपाल हाम्रो हो, देश हामीले नबनाए कसले बनाउने ? अब पनि नबनाए कहिले बनाउने ?
लेखकको निजि विचार-स
फेसबुकबाट तपाईको प्रतिक्रिया